कठै हुम्लाको अवस्था !

Bookmark and Share 
नवराज महतारा
    हरेक वर्ष पाँचदेखि १० को हाराहारीमा नयाँ झोलुंगे पुल निर्माणका लागि सर्भे गरिएको भएपनि जिल्लाका विभिन्न क्षेत्रमा धेरै पहिले निर्माण गरिएका झन्डै एक दर्जन पुल मर्मतसम्भारबिना जोखिम अवस्थामा प्रयोग भइरहेका छन् । जिल्लामा आवतजावत गर्ने महत्वपूर्ण स्थानमा भएका झोलुंगे पुल दिनप्रतिदिन जीर्ण हुँदै गएपनि कुनै निकायबाट मर्मतसम्भारका लागि पहल नभएपछि आवतजावत गर्ने स्थानीय बासिन्दा लामा–लामा ढुंगा, काठ राखेर आवतजावत गरिरहेका छन् ।  जिविसको तथ्यांकअनुसार २७ झोलुंगे पुल र  चार ट्रस्ट ब्रिज भएको यस जिल्लाका सात झोलुंगे पुल र चार ट्रस्ट ब्रिज पछिल्लो समय जोखिमपूर्ण अवस्थामा प्रयोग भइरहेका छन् ।

    सदरमुकाम सिमकोट आवतजावत गर्नका लागि हुम्ला कर्णालीमा निर्माण गरिएका सरिसल्ला, छारे, ग्युसी, यालवाङ, लिङ खोला, र हुम्ला–मुगु जोड्ने भिइघाटलगायत पुल अत्यन्तै जीर्ण र जोखिम अवस्थामा रहेका छन् । अधिकांश जीर्ण अवस्थामा रहेका पुलमा दुर्गम क्षेत्र विकास समिति मार्फत बनेका पुल छन् । अन्य निकायबाट बनेका पुल समेत मर्मतको अभावले अति नै जीर्ण अवस्थामा छन् ।
    दुर्गम क्षेत्र विकास कार्यक्रम र कर्णाली स्थानीय विकास कार्यक्रम (केएलडिपी) ले संयुक्त रूपमा सन् १९८५ मा निर्माण गरेको सरिसल्लाको पुलमा अहिले ८९ वटा ढुंगा बिच्छ्याएर मानिस तथा स्थानीय पशुवस्तुलाई आवतजावत गर्ने गरिएको छ । सो पुल निर्माण भएदेखि आजसम्म एकपटक जिविसले रु. एक लाख रकम विनियोजन गरेको भएपनि त्यसको प्रभावकारी रेखदेख नहुँदा र पुलमा केही फ्ल्याक राखिएपनि खासै काम नभएको सरिसल्लाका होटल व्यवसायी रंगमान सिहंले बताए ।
    जिविसबाट खटिएका प्राविधिकको मिलोमतोमा कारण पनि पुल प्रभावकारी रूपमा मर्मत नभएको बताइएको छ । जिल्लाको मुख्य मार्गमा पर्ने सो पुलका जाली र डेक समेत धेरै कम हुँदै गएका छन् । जिल्लाको तल्लो भेग र माथिल्लो भेगको एकमात्र मार्गका रूपमा रहेको सो पुल कमजोर अवस्थाका कारण सर्केघाड इडिपीका लागि चामल ढुवानी गरिरहेका खसी समेत आवतजावत गर्न अत्यन्तै गाह्रो भएको श्रीनगरबाट खसीमा चामल ढुवानी गरिरहेका रूपचन्द्र थापाले बताए । उनले पुलमा एक–एक खसी गरेर पुलमा आवतजावत गरिरहेको जानकारी दिए ।
    यसैगरी सदरमुकाम सिमकोट जाने मुख्य मार्गमै पर्ने ग्युसी झोलुंगे पुलको अवस्था पनि पृथक छैन । पुलमा ५६ वटा ढुंगा राखी आवतजावतका लागि काम चलाइएको छभने छेउछेउमा तार नभएका ठाउँमा काठका फ्ल्याक राखिएका छन् ।  सर्किदेउ गाविसमा पर्ने सो पुल निर्माण भएदेखि एकपटक २०६५ सालमा जिविस मार्फत मर्मतका लागि रु. एक लाख रकम खर्चिएको भएपनि सामान्य काठका डेक फेर्नेबाहेक कुनै काम नभएको ग्युसीका स्थानीय बासिन्दा रामे टमटाको गुनासो छ । उनका अनुसार जिविसले दिएको रु. एक लाखमा पनि अनियमितता भएका कारण सबै रकमको काम हुन नसक्दा प्रभावकारी मर्मतको काम भएको थिएन ।
    सिमकोट जाने मार्गमै पर्ने छारे पुलमा ढुंगा नराखिएका भएपनि पुलको बीचका अधिकांश काठका डेक झरेबाट पुलमा आवतजावत गर्नेको सातो जाने गरेको अनुभव हिमज्योति उच्च माध्यमिक विद्यालयका शिक्षक बत्त थापाको छ । उनका अनुसार पुलको बीच भागमा भएका खाली ठाउँले तलको निलो कर्णाली देख्दा रिंगटा लाग्छ । पुलको मर्मतमा सम्बन्धित निकायले समयमा ध्यान नदिने होभने कुनैपनि बेला अप्रिय घटना हुन सक्छ । यो पुल जिल्लाका आधाभन्दा बढी गाविसको सदरमुकाम जाने मुख्य बाटो हो ।
    यसैगरी श्रीनगर गाविस.अन्तर्गत पर्ने मच्छेघार्ड अर्थात भिई घार्ड पुलको अवस्था यसभन्दा झन् जटिल छ । सन १९८५ मा बनेको सो पुलमा अहिले आवतजावतमा सहजता ल्याउनका लागि काठका डेक गएको ठाउँमा झन्डै एक सय दुईभन्दा बढी ढुंगा राखिएको छ । हुम्ला र मुगु जिल्ला जोड्ने सो पुलका आधा जति फलामे डेक र जाली छैनन् ।
    निर्माण भएदेखि मुगुको भिई र हुम्लाको श्रीनगरका स्थानीय बासिन्दाबाट द्वन्द्वकालमा एकपटक स्थानीय पहलमा र एकपटक जिविस हुम्लाको सहयोगमा सामान्य काठका डेक फेरिएको भएपनि मर्मतका लागि कुनैपनि स्थानबाट खासै पहल नभएको गुनासो श्रीनगरका कृष्ण भण्डारीको छ । सो पुलको मर्मतसम्भारका लागि कसैले पहल नगर्ने होभने कुनैपनि बेला अप्रिय घटना हुन सक्ने अनुमान मुगु भिई गाविस. ठूला गाउँका कृष्ण बुढाको छ । मुगु  भिई गाविसका बासिन्दाको घट्ट पिस्न जाने र अन्य कामको मुख्य मार्ग भएकाले पनि सो पुलको महत्व बढी भएको भिईका महादत्त बुमी बताउँछन् । झोलुंगे पुलको जस्तै ट्रस्ट ब्रिजको अवस्था पनि नाजुक छ । जिल्लाको माथिल्लो क्षेत्र वा चीनसंगको सिमाना नजिकका क्षेत्रमा भएका खगालगाउँ, धारापोरी, लिङ खोला, ताकु खोला ट्रस्ट ब्रिजमा झोपा, घोडा, खसी बाख्राको आवतजावत बढी हुन्छ ।  छेउछेउका बार, तार र डेक कतै भाँच्चिएका छन्भने कतै बाँ·िएर खाली छन् ।
    सामान्यतया झोलुंगे पुलको आयु एक सय वर्ष हुने प्राविधिक अनुमान भएपनि हुम्लाका ती पुल तीसदेखि चालीस वर्षकै अल्पायुमै जीर्ण अवस्थामा पुगेका छन् । अधिकांश अनामत प्रक्रिया (कर्मचारी आफैंले निर्माणको जिम्मा लिने) बाट निर्माण भएका ती पुल अल्पायुमै यसरी जीर्ण हुनाले पुलको प्राविधिक पक्षमा समेत त्रुटि भएको दोष स्थानीय बासिन्दाले लगाउँदै आएका छन् ।
    पुलका लागि समय–समयमा मर्मत तथा हेरचाह गर्नुपर्ने भएपनि हेरचाह नभएको र मर्मतका लागि कुनै समयमा सानो रकम छुट्याए पनि राजनीतिक पूर्वाग्रहमा कार्यकर्ता पाल्ने बाटो गर्न टालटुले काम भएकाले पनि  अवस्था झन् जटिल बन्दै गएको दुर्गम क्षेत्र विकास कार्यक्रम हुम्लाका प्राविधिक गोर विष्टले बताए । उनका अनुसार यति छोटो समयमा पुलको अवस्था बिग्रनाका पहिलो कारणमा तत्कालीन प्राविधिकको इस्टमेटअनुसारको काममा गुणस्तरीयता नहुनु होभने दोस्रोमा पुल निर्माण भएपछि त्यसको हेरचाह र मर्मतसम्भारमा कसैको ध्यान नदिनु हो ।
    पुल निर्माण गरिएपछि जीर्ण अवस्थामा भएका पुलको मर्मतसम्भार गर्ने काम दुर्गम क्षेत्र विकास समितिकै भएपनि राजनीतिक नियुक्तिका कारण आआफ्नो क्षेत्रमा नयाँ पुल निर्माणतर्फ उद्यत देखिने र पुरानामा मर्मततर्फ ध्यान नदिनाले पनि यस्तो भएको ठहर प्राविधिक विष्टको छ ।


मा

No comments:

Post a Comment