लोकतन्त्र दिवसमा न विदा, न उत्सव

Bookmark and Share 
समाचार एजेन्सी
काठमाडौं, ८ बैशाख ।
    तपाईं जागीरे र विद्यार्थी हुनुहुन्छ भने एकपटक नयाँ पात्रो र क्यालेन्डर पल्टाएर एकपल्ट खुइय सुस्केरा हाल्न ल्याइसक्नुभयो होला । किनकि तपाईंले पूर्वअनुमान गरे अनुसार यस वर्ष बैशाख ११ मा विदाको संकेत लगाइएको छैन । तपाईंलाई लागेको होला पात्रो र क्यालेण्डर छाप्नेले गल्ती गर्दा यस्तो भएको हो, सरकारले सार्वजनिक सूचना जारी गरेर विदाको जानकारी गराउँछ । तर तपाईंको यो अनुमान पनि फेल खान सक्छ । सरकारको अहिलेसम्मको मनस्थिति अनुसार बैशाख ११ गते लोकतन्त्र दिवस पनि मनाईंदैन र त्यस दिन बिदापनि हुँदैन ।

    यसअघि फागुन ७ गते प्रजातन्त्र दिवस नमनाएर सर्वत्र आलोचना खेपेको सरकारले फेरि लोकतन्त्र दिवसलाई त बिदाको सूचीबाटै हटाएको छ । फागुन ७ मा त दिवस नमनाएपनि सार्वजनिक विदा भएको थियो । यस वर्ष फागुन ७ को विदा कायमै छ । जेठ १५ को गणतन्त्र दिवस र माघ १६ को शहीद दिवस पनि चलाइएको छैन । दोस्रो जनआन्दोलन सफल भएर लोकतन्त्र स्थापना भएको दिन बैशाख ११ लाई चाहीं किन यसरी बेवास्ता गरिएको त ? ‘खै यो त थाहा भएन, लोकतन्त्र दिवस त मनाउनुपर्ने हो’ सरकारका एकजनामन्त्री हृदयश त्रिपाठीले भने ।
    गृहमन्त्रालय स्रोतका अनुसार बैशाख ११ मा लोकतन्त्र दिवस सहित सार्वजनिक विदाका सूची प्रधानमन्त्री कार्यालयमा पठाइएको थियो । तर प्रधानमन्त्री कार्यालयबाट बैशाख ११ को सूची हटाएर अरु मात्र कार्यान्वयन गर्ने निर्णय भयो ।
    प्रधानमन्त्री आफैंले बैशाख ११ गते लोकतन्त्र दिवस नमनाउने भनेर विदाको सूचीबाट त्यो दिनलाई हटाएको स्रोतको भनाइ छ । प्रधानमन्त्री कार्यालयबाट अन्तिम रुप पाएको विदाको सूची राजपत्रमा सार्वजनिक भएपछि पात्रो र क्यालेन्डरमा पनि बैशाख ११ मा बिदा राखिएन । ‘यो सरकारले आफूखुशी गरेको निर्णय हो’ पंचांग निर्णाक समितिका अध्यक्ष डा. माधवप्रसाद भट्टराईले भने, ‘पहिले हामीसित सल्लाह हुन्थ्यो, तर अहिले हचुवाको भरमा विदा कटौति भएको छ ।’
लोकतन्त्र दिवसको औचित्य कति ?
    मुलुकमा ठूलाठूला राजनीतिक परिवर्तन भएका महत्वपूर्ण दिनका आ–आफ्नै महत्व छ । २००७ सालको प्रजातन्त्र दिवस, २०४६ सालको जनआन्दोलन दिवस, २०६३ बैशाख ११ को लोकतन्त्र दिवस र २०६५ जेठ १५ को गणतन्त्र दिवस मुलुकमा ऐतिहासिक परिवर्तन भएका महत्वपूर्ण तिथि हुन् । ‘गणतन्त्रको आधार भनेकै लोकतन्त्र हो, फागुन ७ गते प्रजातन्त्र दिवसको जस्तै बैशाख ११ को लोकतन्त्र दिवसको पनि आफ्नै महत्व छ’ नागरिक समाजका अगुवा तथा विश्लेषक खगेन्द्र संग्रौलाले भने ।
    त्यसो त १९ दिनसम्म भएको जनआन्दोलन मा त्यतिबेला सात राजनीतिक दलको प्रत्यक्ष उपस्थिति भएपनि माओवादीले पनि सहयोग र समर्थन गरेको थियो । जनआन्दोलनमा दुई दर्जन शहीद भए । सयौं घाइते भए । ‘जनआन्दोलन सफल भएको दिन लोकतन्त्र दिवसलाई सरकारले कुनै न कुनै रुपमा सम्झन्छ’ मन्त्री हृदयेश त्रिपाठीले भने ‘यसबारे हामी दलहरुसित छलफल गर्छौं ।’
    लेखक तथा विश्लेषक संग्रौला सार्वजनिक विदा नभएपनि कुनै न कुनै रुपमा लोकतन्त्र दिवस मनाउनुपर्ने बताउँछन् । ‘हामीकहाँ बिदा धेरै छन्, विदा कटौती गर्नुपर्ने आवश्यकता छ’ संग्रौलाले भने ‘विदा नगरेपनि कुनै प्रतिकात्मक रुपमा लोकतन्त्र दिवस मनाउन सकिन्छ ।’
जेठ १५ मा राष्ट्रिय दिवस
    यसअघिसम्म फागुन ७ को प्रजातन्त्र दिवस, बैशाख ११ को लोकतन्त्र दिवस र जेठ १५ को गणतन्त्र दिवसमा सरकारले उस्तै र उही शैलीमा कार्यक्रम गर्नु गथ्र्यो । तीनवटै दिन राजधानीको टुंडिखेलमा सैनिक कवाज, प्रदर्शनी, पुष्पगुच्छा र भाषण गरेर दिवस मनाइन्थ्यो ।
    यी तीनवटा दिन बाहेक माघ १६ को शहिद दिवसको ढर्रा पनि उस्तै हुन्थ्यो । तर यतिका दिवस मनाउँदा समेत देशको राष्ट्रिय दिवस कुन हो भन्ने यकिन थिएन । अब भने सरकारले जेठ १५ मा राष्ट्रिय दिवस मनाउने भएको छ ।
    गत पुस पहिलो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले जेठ १५ मा गणतन्त्र दिवस मनाउने घोषणा गरेको हो । ‘सरकारको घोषणा अनुसार यही वर्षदेखि जेठ १५ लाई राष्ट्रिय दिवस मनाउने गरी तयारी भएको छ’ गृह मन्त्रालयका सहायक प्रवक्ता एकमणि नेपालले जानकारी दिए ।
मा

No comments:

Post a Comment