सडक बिस्तारका लागि दुई सय बढी ठूला घर भत्काउने तयारी

नेपालगन्ज, १० बैशाख ।
    नेपालगन्जको मुख्य सडक विस्तार गर्ने क्रममा करिव दुई सय बढी ठूला घरहरु भत्काइने भएको छ । जमुनाहा–कोहलपुर सडकलाई नगरपालिकाले ४२ मिटरसम्म चौडाई बिस्तार गर्न थालेपछि कारौडौं मूल्यका पुरानो संरचना भत्किन लागेको हो । नगरपालिकाले मुख्य सडक अतिक्रमण गरी निमार्ण गरिएका घर टहरा हटाउन ७ दिनको सूचना जारी गरेको छ । अटेर गरे नगरपालिका आफैंले हटाउने र लाग्ने क्षतिपूर्ति सम्बन्धित घरधनिसंग असुल उपर गर्ने चेतावनी दिएको छ ।

    ति अतिक्रमित घरहरु नहटाइएपछि नगरपालिका आफैंले हटाउने तयारीमा जुटेको जनाएको छ । बैशाख महिनाभित्रै नहटाए नगरपालिकाले आफैं भत्काउने योजना बनाएको नेपालगन्ज नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर सुनारले जनाए । एशियाली विकास बैंक (एडीबी) को डेढ अर्बको परियोजना कार्यान्वनका लागि नेपालगन्ज नगरपालिकाले सडक बिस्तार गर्न थालेको हो । परियोजना कार्यान्वयनमा ढिलाई भए फर्किने चेतावनी दिएपछि नगरपालिकाले अतिक्रमित घर हटाउने अन्तिम तयारीमा जुटेको छ ।
    धम्बोझी चोकको पश्चिम लाइनदेखि तरकारी बजारसम्मका अधिकांश घर भत्किने सूचीमा परेका छन् । त्यसबीचमा रहेका सानिमा र सिद्धार्थ विकास बैंकको बाहेकका भवनहरु सडक अतिक्रमणको सूचीमा परेका छन् । तर ती घरहरु भने नगरपालिकासंग अनुमति लिएर निमार्ण भएका हुन् । नगरपालिकाले त्यस क्षेत्रमा घर निमार्णका लागि सुरुमा सडकको बीचबाट १८ मिटरको नक्सा पास गरेको थियो । हाल ४२ मिटरको सडक बिस्तार हुन थालेपछि घर सडक क्षेत्रमा परेको हो ।
    नगरपालिकाले घर भत्काउने तयारी गरेपछि स्थानीयले संघर्ष समिति गठन गरेका छन् । संघर्ष समितिका अध्यक्ष बिष्णु मैनालीले त्यस क्षेत्रका सबैजसो घरको अगाडि भाग सडकमा पर्न थालेको बताए । उनले २०४० साल पहिले नै बनाइएका घर भएकाले अहिले सडक बिस्तार गर्दा भत्काइने सूचीमा परेको बताए । त्यसैगरी चोकदेखिको पूर्वलाईनका अधिकांश घरको अगाडि भाग सडक क्षेत्रभित्र परेको नगरपालिकाका अधिकारीले बताए । बिपीचोक आसपास पनि उस्तै समस्या देखिएको छ । त्यहाँदेखि जयसपुर सडकखण्डको दायाँ बायाँ निमार्ण भएका घरहरु पनि सडक क्षेत्रभित्र परेका छन् । सबैभन्दा बढी धम्बोझी र बीपीचोक आसपासका घरहरु भत्किने अध्यक्ष मैनालीले बताए ।
    नेपालगन्ज नगरपालिकाले कार्यालय अगाडि आफैं निमार्ण भएको व्यवसायीक भवनपनि सडक बिस्तारका क्रममा भत्किने भएको छ । उक्त भवनको तीन मिटर सडक क्षेत्रमा परेको छ । संघर्ष समितिले २१ मिटर चौडाईको सडक निमार्णका लागि स्थानीयहरुले  हस्ताक्षर गरी मन्जुरी जनाएको संघर्ष समितिले जनाएको छ ।

No comments:

Post a Comment