फिरौतीको लोभमा निमोठियो सपना

    बलिउडमा भर्खरै पाइला टेकेकी भारतीय राज्य उत्तराखण्डकी मीनाक्षी थापाले आफ्नो छोटो करिअरमा टेलिभिजिन विज्ञापन तथा फिल्ममा विभिन्न भूमिका निर्वाह गरेकी थिइन् । तर वास्तविक जिन्दगीमा मीनाक्षीले आफूलाई धनाढ्य नेपाली परिवारको भन्नु उनको हत्या पछाडिको कारण बन्न पुग्यो । एउटा हिन्दी फिल्मको सेटमा भेट भएका उत्तर प्रदेशको इलाहावादका दुई साथीले ठूलो फिरौती रकमका लागि उनको अपहरण गरे । वास्तवमा उनी देहरादूनको एउटा मध्यमवर्गीय परिवारकी थिइन् । आशा गरेको फिरौती रकम नपाएपछि इलाहावादका अमितकुमार जयसवाल र उनकी प्रेमीका प्रीति अल्भिरा सुरिनले मीनाक्षीको गत महिना निर्ममता पूर्वक हत्या गरेको मुम्बई क्राइम ब्रान्चका इन्स्पेक्टर सञ्जय सातरदेकरले बताए ।

कसरी भयो हत्या ?
    भोजपुरी फिल्ममा खेलाउने लोभ अमित र प्रीतिले मीनाक्षीलाई गोरखपुरसम्म ल्याए । त्यहींबाट उनीहरुले मिनाक्षीकी आमालाई फोन गरी १५ लाख रुपैयाँ फिरौती मागे । मिनाक्षीको एटिएम र सिम कार्डपनि उनीहरुले लिए । फिरौती रकम नपाए ती दुईले मिनाक्षीको अश्लील फिल्म बनाउने र मार्नेसम्मको धम्कीदिए । मिनाक्षीकी आमाले लगत्तै ६० हजार रुपैयाँ उनीहरुको खातामा जम्मा गरिदिएकी थिइन् । तर  मध्यम परिवारको भएको पत्ता लागेपछि पूरै फिरौती नपाइने रिसमा ती दुईले २६ वर्षीया मिनाक्षीको निर्मम हत्या गरे । घाँटीमा सलले बेरेर हत्या गरेपछि टाउको छुट्याई झोलामा हाले र शरीरको बाँकी भाग प्रितिको इलाहावादस्थित घरको सेफ्टी टयांकीमा फालिदिए । लगत्तै इलाहावादबाट मुम्बई फर्किएका उनीहरुले टाउको बाटोमै फालिदिए । छोरी अपहरणमा परेको खबर आएलगत्तै मिनाक्षीकी आमाले उत्तराखण्ड प्रहरीमा उजुरी दायर गरेकी थिइन् । मीनाक्षीका दाजु पनि मुम्बई आई प्रहरीमा उजुरी गरेका थिए । लगत्तै प्रहरीले खोजविन सुरु गरेपनि मीनाक्षीलाई बचाउन असफलता हात लाग्यो । यो साताको पूर्वाद्र्धमा आएर मात्रै प्रहरीले हत्यामा संलग्न अमित र प्रितिलाई पक्राउ गर्नसक्यो । यसमा उनीहरुको साथमा रहेको मिनाक्षीको सीमाकार्ड सहायक भयो । प्रहरीसंगको बयानमा ती दुईले मिनाक्षी धनाढ्य परिवारको भएकाले फिरौती रकम धेरै आउने लोभमा अपहरण गरेको र सोचे अनुसार नभएपछि हत्या गरेको बताए ।
    फिल्मी सपना पूरा गर्न मुम्बई पुगेकी मिनाक्षी देहरादुनकी चर्चित नृत्यांगना थिइन् । ‘शहर’ र ‘४०४’ जस्ता हिन्दी फिल्ममा सानो भूमिकाबाट करिअर सुरु गरेकी उनले मधुर भण्डारकरको बहुप्रतीक्षित फिल्म ‘हिरोइन’ मा पनि छोटो भूमिका निर्वाह गरेकी थिइन् ।

No comments:

Post a Comment