खल्तीमा ३ लाख बोकेर मगन्ते परमधाम

    भारतमा एक लखपति मगन्तेको मृत्यु भएको छ । अजमर सहरमा मागेर जीविका चलाउँदै आएका ती मगन्तेको हालै निधन भएको हो । प्रहरीले उनले लगाएको लुगाको गोजीबाट २ लाख भारु अर्थात ३ लाख २० हजार रुपैयाँ भेट्टाएका छ । अजमर सहरको दर्गाह–ए मस्जिद अगाडिको क्षेत्रमा बसेर माग्ने पेशा गर्दै आएका ती मगन्ते भारतमा घरवारविहीनहरु पनि कतिसम्म धनी हुन सक्दा रहेछन् भन्ने कुराको उदाहरण बनेका छन् । मागेरै धेरै पैसा जम्मा गरेका ती मगन्तेको धनराशी देखेर उनीसंगै मागेर बस्ने अरु मगन्तेहरुले जिब्रो टोके ।
    रोचक कुरा त केभने उक्त पैसा पाइने आशामा ती धनी मगन्ते मरिसकेपछि उनलाई आफ्नो आफन्त भन्ने कुराको होडबाजी नै चल्यो त्यहाँका अरु मगन्तेहरुबीच । तर प्रहरीले ती मगन्तेहरुको दाबी अस्वीकार गर्दै उक्त पैसा जफत गरेको छ । अनुसन्धानबाट ती मगन्ते ३ वर्षपहिले उक्त सहरमा आएर माग्ने पेशा सुरु गरेको र उनका कोही पनि आफन्त र साथी नरहेको पत्तो लागेको प्रहरीको भनाइ छ । झण्डै ६० वर्षका ती मगन्तेको नाम के हो भन्नेबारेमा पनि केही थाहा भएको छैन ।
    ती मगन्तेले मागेरै त्यतिधेरै पैसा जम्मा गरेका रहेछन् । जुन पैसा खर्च गरेरै उनले बुढेशकालमा शानसंग बाँच्न सक्थे । तर सुँगुरलाई रछ्यान नै प्यारो भनेझैं उनले मागेर खाने पेशा छाड्न सकेनन् । अझ अर्को रोचक कुरा त केभने उनी त्यस्तो सामान्य रोगबाट मरे जसको उपचार उनीसंग भएको पैसाबाटै सम्भव थियो । (एजेन्सीबाट)

No comments:

Post a Comment