११ कार्यालयद्वारा प्रगति विवरण पेश

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३० साउन ।
    सुर्खेतका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले गतबर्ष जिल्लामा गरिएको कामको बार्षिक प्रगति विवरण पेश गरेका छन् । जिविस सुर्खेतले आयोजना गरेको बार्षिक समीक्षा कार्यक्रममा उनीहरुले सो विवरण पेश गरेका हुन् । आर्थिक वर्ष २०६८/०६९ मा जिल्लास्थित सरकारी कार्यालयहरुले प्रगति विवरण पेश गर्दै ९० प्रतिशतभन्दा बढी काम सफल भएको दावी गरे । जिल्ला शिक्षा कार्यालयले ९८ प्रतिशत काम गर्न सफल भएको जानकारी दिएको छ । कार्यालयले ७७ करोड ५२ लाख बजेटमा ७७ करोड ४२ लाख खर्च भएको जनाएको छ ।
    कार्यक्रममा डिभिजन सिंचाई कार्यालय, कृषि विकास कार्यालय, डिभिजन सडक कार्यालय, भू–संरक्षण कार्यालय, क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला पशु सेवा कार्यालय, युएसएआइडी, नेवा, एकल महिला संस्थालगायत ११ वटा कार्यालयहरुले बार्षिक प्रगति विवरण पेश गरेका थिए । ती कार्यालयहरुले लक्ष्य अनुसार काम गर्न सफल भएको दावी गरेका थिए ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले कार्यलयमा बजेट आउने तर काम नभएर फ्रिज हुने जस्ता कार्यलाई घटाउनुपर्ने बताए । उनले जिम्मेवारी पूर्वक बजेटको सदुपयोग गर्नुपर्नेमा पनि जोड दिए । कार्यक्रम स्थानीय विकास अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा भएको हो ।

No comments:

Post a Comment