कहिले दौडेला नेपाली चलचित्र

    नेपाली भाषाको पहिलो चलचित्र भारतमा निर्माण भयो । डिबी परियारको निर्देशन तथा लगानीमा २००८ सालमा बनेको ‘सत्य हरिश्चन्द्र’ लाई नेपाली भाषाको पहिलो चलचित्र मानिन्छ । त्यसको आधारमा भन्ने होभने नेपाली चलचित्रको इतिहासले आधा शताब्दी पुरा गरिसकेको छ । तर, नेपालमै बनेको पहिलो चलचित्र भने ‘आमा’ लाई मानिन्छ । वि.सं. २०२२ मा तत्कालीन राजा महेन्द्रले आफ्नो भक्तिगाथालाई चलचित्रमा उतार्न भारतीय निर्देशक हिरासिंह खत्रीलाई नेपाल ल्याए । खत्रीले नै ‘आमा’ चलचित्र निर्माण गरेका थिए ।
त्यसभन्दा अगाडि २०१८ सालमै बनेको चलचित्र ‘माइतीघर’ भने ‘आमा’ पछि मात्रै प्रदर्शन भयो । यस हिसाबले पनि नेपाली चलचित्रको इतिहास साढे चार दशक लामो भइसकेको छ । तर, यति लामो अवधिमा पनि नेपाली चलचित्रले सोचेजति गति लिन नसकेको गुनासो चलचित्रकर्मी नै गर्छन् । नेपाली चलचित्रप्रति दर्शकको बेवास्ता नेपाली चलचित्रको अवस्था सन्तोषजनक नभएको संकेत हो ।
    समस्या धेरै छन् ‘नेपाली चलचित्रमा मौलिकता र नयाँपन फिटिक्कै छैन ।’ नेपाली चलचित्रको बारे यही वाक्यबाट सुरु हुन्छ दर्शकको गुनासो । चलचित्रका समीक्षक पनि यो कुरामा धेरै हदसम्म सहमत छन् ।’ अहिलेसम्म बनेका नेपाली चलचित्रको मूल्यांकन गर्ने होभने २/४ चलचित्रलाई छाडेर बाँकी चलचित्र मूल्यांकनको तराजुमा चढ्न पनि योग्य छैनन् भन्दा अत्युक्ति हुँदैन । ‘जो निर्देशक वा कलाकार भएपनि अथवा जो निर्माता देखिए पनि एउटा चलचित्रबाट अर्को चलचित्रमा खासै पृथकता छैन’, चलचित्र समीक्षक डा. टीकाराम पोखरेलको धारणा छ, ‘केटा–केटीबीचको प्रेम, प्रेमको विस्तार हुँदै जाँदा नाचगान र त्यसपछि प्रेममा बाधा अड्चन, नायक–नायिकको नक्कली आँसु, दुष्टको गर्जन, त्यसमा नायकको उडन्ते बहादुरी, नायक र खलनायकबीच तिलस्मी खालका लडाइँ, नायकको अस्वाभाविक बहादुरी र अन्त्यमा खलनायकको प्रायश्चित वा मृत्यु र नायक नायिकाको मिलन वा बिछोड । यति नै हो नेपाली चलचित्र । यिनै घटनालाई यताउता तन्काएर वा खुम्च्याएर नेपाली चलचित्र सकिन्छ । तीन घन्टाको सम्पूर्ण समय यिनै घटनाभित्रै घुमिरहन्छ ।’
    विशेषगरी हिन्दी, अंग्रेजी र कोरियन चलचित्रको कथा र विषयवस्तु हुबहु उतारिनु नेपाली चलचित्रको विशेषता जस्तै बन्न गएको छ । राम्रा प्रविधिमा बनेका चलचित्र ‘कपी’ गर्दैमा कसरी राम्रो चलचित्र बन्नसक्छ ? यो प्रश्नको उत्तर नेपाली चलचित्र उद्योगले दिन सकेको छैन । अत्यन्तै कम चलचित्र मौलिक र नवीन कथावस्तुमा निर्माण हुनु नेपाली चलचित्रको विडम्बना नै हो । यसका पछाडि नेपाली चलचित्रमा अध्ययन गरेका र चलचित्रका महत्व बुझेको जनशक्ति अत्यन्तै कम रहेको भनेर आलोचना गरिन्छ । नेपाली चलचित्र हेर्दा यो आलोचनाको पुष्टि पनि हुन्छ ।
    दुई दशकभन्दा लामो समय चलचित्र तथा टेलिचलचित्रको पटकथा लेखनको अनुभव बटुलेका साहित्यकार नयनराज पाण्डे पनि चलचित्र क्षेत्र दुई दशकअघि जस्तो थियो, अहिले पनि त्यस्तै रहेको बताउँछन् । उनले पटकथा लेखनकै क्रममा मौलिक कथामा चलचित्र बनाउनेभन्दा पनि अरु भाषाको चलचित्रको नक्कल गर्ने प्रवृत्ति निकै रहेको पाए । त्यसैले उनी भन्छन्, ‘अहिले नेपाली भाषाको चलचित्र मात्र बनिरहेका छन्, नेपाली चलचित्र बन्न सकेका छैनन् । नेपाली चलचित्र अहिले पनि बामे सरिरहेको छ ।’ नायक भुवन केसीको विचारमा बजेट थोरै हुनु र प्रविधि राम्रो नहुनु पनि नेपाली चलचित्रको समस्या हो ।
    चलचित्रकर्मीको गुनासो पनि कम सुनिंदैन नेपाली चलचित्र क्षेत्रमा । उनीहरु भन्छन्, ‘नेपालीले नेपाली चलचित्र नै हेरिदिंदैनन् । सरकारले पनि नेपाली चलचित्र उद्योगलाई माथि उकास्न कुनैपनि काम गरेन ।’ त्यस्तै हलवालाको निर्मातासंग, निर्माताको हलवालासंग आ–आफ्नै गुनासा छन् । गुनासोको खात त एक ठाउँमा छँदैछ । यी गुनासा समस्यामा परिणत भएका छन् र चलचित्र क्षेत्र समस्याको पहाडले किचिएको छ । निर्माता तथा निर्देशक युवराज लामाको भनाइलाई आधार मान्ने होभने सिनेमा हलले कमाएकोमध्ये आधा रकम हलले नै लैजान्छ । आधाबाट १५ प्रतिशत वितरकलाई दिनुपर्‍यो । आयकर, स्थानीय कर, भ्याट, स्थानीय प्रचारप्रसार, प्रिन्ट, ब्यारिङ, अन्य खर्च जस्ता थुप्रै खर्च काट्दा निर्माताको हातमा व्यापारको २५ प्रतिशत रकम पनि प्राप्त हुँदैन । निर्माताहरु भन्छन्, ‘आफ्नै चलचित्रको ब्यापार कति भयो हलवालाहरुलाई सोध्नुपर्छ ।’ चलचित्रले गरेको कूल ब्यापारको २५ प्रतिशत पनि निर्माताको हातमा नपर्ने अवस्था देखिन्छ । अर्को समस्या हो, व्यवस्थित प्रदर्शन प्रणालीको अभाव । ‘सिनेमाले राम्रो ब्यापार गरिरहेको वेला हलबाट सिनेमाको एक्कासी पाइरेसी भएपछि हामीले लगानी उठाउन सकेनौं,’ निकै चर्चामा आएको मानिएको ‘बाटोमुनिका फूल’का निर्माता राजेश घतानी भन्छन् । उनीजस्तै पाइरेसीपीडित पनि थुपै्र छन् । पछिल्लो समयमा बनेका ‘लुट’लगायत चलचित्रहरु पनि यसको मारमा परे ।
    उता हलको पनि आफ्नै समस्या छ । ‘चलचित्र चल्न छाडेर हल बन्द छन्, बन्द भएकाहरु भत्किंदै छन् र धमाधम सपिङ मल बन्दै छन् । यस्तो वेला नयाँ प्रविधिको त के कुरा ?’ हलवालाहरुको गुनासो छ, ‘हलमा नेपाली चलचित्र लगायो, झिंगा मारेर बस्नुपर्छ हिन्दी चलचित्र तीन दिनका लागि एकैदिन ‘बुक’ हुन्छ ।’ त्यस्तो भएपछि नेपाली चलचित्र सकेसम्म चलाउन नपरे हुन्थ्यो भन्ने हलवालालाई लाग्नु स्वाभाविक पनि हो । यसै कारणले होला, केही समयअगाडि मोफसलका केही हलले हिन्दी चलचित्र चलाउन नेपाली चलचित्र उतारे ।
    अर्को समस्या, कलाकारको । चलचित्र क्षेत्र रमझमको क्षेत्र मानिन्छ । तर, रमझमले मात्रै जिन्दगी चल्दैन । जिन्दगी चल्ने पैसा चलचित्रले दिन सक्दैन । २/४ वर्ष चलचित्रमा काम गरेर कलाकार भनेर चिनिने र त्यसपछि सहज रुपमा विदेश जाने कलाकार निकै छन् । चलचित्र उद्योगमा आफ्नो भविष्य सुनिश्चित नहुने देखिएपछि यस क्षेत्रबाट बाहिरिनेको संख्या लगातार बढिरहेको छ ।

No comments:

Post a Comment