राहत माग्दै राउटे बालक जाजरकोटमा

राजेन्द्र कार्की
राउटे बालकहरुलाई लत्ताकपडा प्रदान गर्दै
नेपाल रेडक्रस सोसाइटी जाजरकोटका मन्त्री हरिबहादुर बस्नेत ।
जाजरकोट, ८ फागुन ।
    सल्यानको धारापानीबाट बस चढेर राउटे बालकहरु आर्थिक संकलन गर्न जाजरकोट सदरमुकाम खलंगा आइपुगेका छन् । तीन जना राउटे बालक यहाँका सरकारी तथा गैरसरकारी कार्यालयमा पुगेर आर्थिक सहयोग मागे ।
    आफूहरुलाई सरकारले बेवास्ता गरेको र जंगल विनास हुँदै गएपछि बाँच्न कठिन भएका कारण चन्दा माग्न बाध्य भएको एक राउटे बालक खगेन्द्र शाहीले बताए । उनीहरुले निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, प्रहरी प्रमुख रमेश थापा र स्थानीय विकास अधिकारी चक्रबहादुर बुढालाई भेटेर काठका कोसी उपहार दिए । कार्यालय प्रमुखहरुले पनि केही रकम दिएर उनीहरुलाई विदा गरे ।  
    उनीहरुले आफूहरुले अपेक्षा गरेजस्तो रकम नपाएकोमा खिन्नता प्रकट गरे । उनले सरकारले राउटेलाई दिने भनेको भत्तापनि हालसम्म उपलब्ध  नगराएकोमा रोष प्रकट गरे । घुमन्ते जातिको रुपमा रहेका अल्पसंख्यक राउटेहरु हाल सल्यानको धारापानीमा बसोवास गर्ने गरेका छन् । राउटे मुखिया मैनबहादुरका छोरा बताउने ति राउटे बालक खगेन्द्रले भने प्रधानन्यायधीशको नेतृत्वमा सरकार बने आफूहरुलाई न्याय हुने आशा प्रकट गरे । दलहरुले केही गर्न नसकेको बताउँदै न्यायधीश प्रधानमन्त्री बने आफूहरुलाई पक्कै हेर्ने छन् उनले भने । त्यस्तै उनीहरुलाई रेडक्रसले लत्ता कपडा, कम्मल र भाँडावर्तन दिएको नेपाल रेडक्रस सोसाइटी जाजरकोटका मन्त्री हरिबहादुर बस्नेतले बताए ।
राउटे बालकहरु रक्सीको लतमा    कुनै समय पैसा छुँदा पनि पापलाग्छ भन्ने राउटेहरु विस्तारै आधुनिकतातर्फ अग्रसर हुन थालेका छन् । भने आधुनिक खानपानमा समेत अभ्यस्त हुन थालेको पाइएको छ । खलंगा आएका १५/१६ बर्षका ति राउटे बालकहरुले रक्सी अत्यान्त मनपर्ने भन्दै उनीहरुलाई भेट्न गएकाहरुलाई रक्सी खुवाउन आग्रह गरे । अरुले किनिदिएको रक्सी अत्यान्तै मिठो मानेर खाए । रक्सी खाए न्यानो हुने र कसैको डर नहुने खगेन्द्रले प्रतिक्रिया दिए ।
 

No comments:

Post a Comment