अस्पतालमा महिला संकट व्यवस्थापन केन्द्र स्थापना

सुर्खेतपत्र संवाददाता 
दाङ, १९ फागुन ।
    राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले हिंसा पीडित महिलाको कानुनी उपचारको लागि अस्पतालमा नै एकद्वार सकट व्यवस्थापन केन्द्र स्थापना गरेको छ । सो केन्द्र स्थापना गरेपछि अब हिंसा पीडित महिलाले कानुनी सेवा अस्पतालबाटै  पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले तयार गरेर लागू गरेको अस्पतालमा एकद्वार संकट  व्यवस्थापन केन्द्र निर्देशिका जारी गरेपछि अस्पतालले यहाँ पनि संकट व्यवस्थापन केन्द्र स्थापना गरी अस्पतालबाटै  कानुनी उपचारको व्यवस्था मिलाएको हो ।
    त्यसका लागि स्रोत व्यक्तिसमेत तोकेर हिंसा पीडित महिलाको कानुनी उपचारको व्यवस्था अस्पतालबाटै सुरु गरेको जनाइएको छ । निर्देशिकाले महिलाको कानुनी उपचार को लागि उजुरी लेख्न र बहस गर्न  जिल्ला सरकारी वकिललाई तोकेको छ । यसको व्यवस्थासंगै कानुनी उपचारका लागि अब महिलाले कुनै मुद्दा लेखाउन कानुन व्यवसायीको ढोका धाउन पर्ने छैन । यो व्यवस्थासंगै हिंसा पीडित महिलाले कानुनी उपचारको लागि आफ्नो रकम खर्च गर्नु नपर्ने संकट व्यवस्थापन केन्द्रका दाङका फोकल पसन राधा पौडेलले बताइन् ।
    यसअघि महिलाले आफ्नो रकम खर्चगरी न्याय खोज्ने गरेका थिए । अब केन्द्रले महिलाको कानुनी उपचारलाई छिटो र छरितो बनाउने पौडेलको भनाइ छ ।  कानुनी उपचारको अभावमा अधिकांश महिला घर वा समाजमा हिंसा सहेर बस्ने गरेका छन् । ‘स्वास्थ्य उपचारका लागि यहाँ आउने महिलाको अवस्था हेरेर सम्बन्धित निकायमा खबर गछौं, प्रहरीमा उजुरी दिने, मुद्दा दर्ता प्रक्रियाका लागि पनि केन्द्रले नै पहल गर्छ । हिंसाकै कारण विस्थापित महिलालाई यो केन्द्रले पुनस्र्थापना गर्नपनि भूमिका खेल्नेछ ।’ उनले जानकारी दिइन् ।
    स्वास्थ्य मन्त्रालयको लैंगिक हिंसा अन्त्यका लागि ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’ स्थापना गर्ने नीतिअनुसार राप्ती उपक्षेत्रीय अस्पतालमा पनि यो केन्द्र स्थापना गरिएको हो । देशभरका १५ जिल्लामा यो केन्द्र स्थापना गर्ने मन्त्रालयको लक्ष्यअनुरुप १० औं जिल्लाका रूपमा दाङमा यो केन्द्र स्थापना भएको हो । उपचारका लागि केन्द्रमा छुट्टै दुईवटा शैया, कोठा र तीन जना स्वास्थ्यकर्मी र मनोपरामर्शदाता छन् ।
 

No comments:

Post a Comment