नेपाली कलाकारहरुको चर्तिकला

    केही कलाकारहरुले आफ्नो छवि धमिलो बनाउँदै जाँदा नेपाली सिनेमा तथा संगीत क्षेत्र नै फोहोरी देखिन थालेको छ । ढुकुटी खेलाएर भाग्ने, फस्ने तथा वेपत्ता हुनेदेखि रोजगारी लगाइदिन्छु भन्दै विदेशमा युवती लैजाने गिरोहमा नेपाली कलाकारको संलग्नता बढ्दै गएको छ । ढुकुटी काण्डमा चर्चित लोकगायिका सिर्जना ‘विरही’ थापा पक्राउ परेको घटना खासै पुरानो भएको छैन । अहिले ढुकुटीले धेरै कलाकारलाई सडकमा समेत ल्याइदिएको छ । ढुकुटीमा लोकगायक यम क्षेत्री आफू मात्र डुबेका छैनन्, आफ्ना अन्य सहकर्मीलाई पनि डुबाएको बताइन्छ । उनीसंग लेनदेनको कारोबारमा गायिका निशा सुनुवार, चर्चित गीतकार शिव हमाल, बसन्त थापा, दोहोरी गायक रामजी खाँड सम्म छन् । शिवले २२ लाख यस्तै कारोबारमा डुबाएका छन् ।
    रामजी पनि १५ लाख डुबाएर बसेका छन् । केही समय अघि मात्र चलचित्रको पर्दामा जादुगर बनेका महादेव त्रिपाठीले कलाकार संघको नक्कली परिचयपत्र बनाएर युवतीलाई अफ्रिकाका डान्स बारमा पुर्‍याएको खबर बाहिरिएको थियो । राम्रो रोजगार लगाइदिन्छु भन्दै श्रीमती बनाएर त्रिपाठीले यस्तो क्रियाकलाप गरेको समाचार प्रकाशित भएको थियो । हालै मात्र कलाकार दिनेश शर्माले नक्कली कलाकार बनाएर बेल्जियम लैजाने भन्दै ४ करोड ठगेको खबर बाहिरिएको छ । दिनेश शर्मासहित ३ जनाले ४० जनाभन्दा बढीसंग ४ करोड उठाएपछि यसले हंगामा मच्चाएको छ ।
    पीडितहरुले शर्मा सहित मिठु श्रेष्ठ र प्रकाश अर्यालविरुद्ध नक्कली कलाकार संघको परिचयपत्र बनाइ बेल्जियम पुर्‍याइदिने भन्दै ठगेको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ । पीडितका अनुसार शर्मा सम्पर्क बाहिर छन् भने अर्याल वेल्जियमा नै छन् । इलामकी ४२ बर्षकी कृष्णकुमारी कँडेलले कलाकार दिनेश शर्मालाई २ लाख ३० हजार रुपैयाँ दिएको बताएकी छिन् । उनले कलाकार संघको कार्ड बनाउन मात्र ५० हजार रुपैयाँ दिएको बताइन्छ । कसैलाई रोजगारी दिलाइदिने त कसैलाई कल्चरल प्रोग्रामका लागि भिजा लगाइदिने भन्दै कलाकारहरुले मानव तस्करी गरिरहेका छन् । यता नायिका ऋचा घिमिरे र उनका पति शंकर घिमिरेले पनि ढुकुटीबाट ठगेको पैसा तिर्न नसकेपछि अमेरिका पलायन भएको बताइन्छ ।
    ऋचाबाट ढुकुटीमा दुई दर्जनभन्दा धेरै मानिस पीडित छन् । घिमिरे दम्पत्तीबाट ठगिनेमा कलाकार रमिला अधिकारीकी आमा र चाबहिलस्थित केएल टावर नजिकै ब्युटी पार्लर गरेर बस्ने चुनु थापा लगायत छन् । रमिलाकी आमाको ९ लाख ४२ हजार ऋचाले झ्वाम पारेको बताइएको छ । कलाकार धु्रव न्यौपानेको ढुकुटी फन्दामा निर्मात्री कविता श्रेष्ठ, नायिका रेखा थापा, दिपाश्री निरौला लगायत फसेका
छन् । ध्रुवले तिर्छ भनेको दीपाश्री निरौलाको भनाइ छ । यसरी ढुकुटी काण्डदेखि मानव तस्करीसम्म कलाकारहरुको नाम जोडिदा सिंगो कला क्षेत्रको नै धज्जी उडेको छ ।
 

No comments:

Post a Comment