प्रेम, प्रेमदिवस र परिभाषा

Bookmark and Share 
    ‘प्रेमको स्पर्शले हरेक व्यक्ति कवि बन्छ’ प्लेटो । ‘हरेक कुरा म बुझ्छु किनकि ती सबैलाई म माया गर्छ’ लियो टल्सटाय । माया, प्रेम, लभ नसोचौं भन्दा पनि भ्यालेन्टाइन्स डे को निकटताले यस्तो नसोची धरै दिएको छैन । वर्षभरीको प्रेम, वर्षभरीको अभिव्यक्ति सबै एकैपटक वषिर्ने यो प्रेममय मौसमले जबर्जस्ती सबैको मन, वचन र कर्मभित्र प्रेम घोल्ने प्रयास गरेको छ । हिमाल ओर्लेर आएजस्तो हिउँ घर आागनभरी ओछिएको भएपनि, वसन्त बाटैमा आउँदै भएपनि, सूर्यका किरणहरुले जमिनमा धेरैबेर बस्न रहर गर्न नथालेको भएपनि मान्छेको हृदयमा प्रेमको फूल फुल्न खाँचो भएको छैन । वर्षभरीका सम्झिएर बिर्सिएका या बिर्सिएर सम्झिएका अभिव्यक्तिहरुले निकास पाउने या निकास पाउनुपर्ने भ्यालेन्टाइन्स डे आफैं व्यस्त देखिन्छ । दोकानका महत्वपूर्ण कुनाहरु चकलेट, मीठाई र राता अनि गुलावी रंगका कार्डहरुले सिंगारिंदा, फूल बेच्ने पसलहरु रंगरंगका गुलावले बैंश जस्तै फर्किदा, गहना पसलहरु बिहेको दुलही जस्तै भित्रको खुशीलाई शरममा अनुवाद गरेर गहनाको बोझले नुहेजस्तै नुहुँदा, होटेलका कोठाहरु हप्तौं अघिदेखि नै ओगटिंदा प्रेमको नशाले नछोइएका भेट्नु र शिशिरका रुखमा पात भेट्नु झण्डै झण्डै उस्तै समेत लाग्न सक्छ । अर्को तरिकाले भन्नुपर्दा प्रेमको मातले सबैलाई मताउन थालेको छ ।

    अर्काको हृदयबाट अर्काकै लागि निस्किएका अभिव्यक्तिहरु किनेर आफ्नो भावनामा अनुवाद गरेर हामी आफ्ना प्रियलाई दिन्छौं । अर्काले अर्कैलाई सम्झिएर बनाएका फूलका गुच्छाहरु आफ्नो बनाएर आफ्नो माया व्यक्त गछौं । अर्काले तोकिदिएको मितिमा अर्काले गर्दै आएको रीतमा, अर्काले नै कोरिदिएको गीतमा हामी आफ्नालाई मायाका गीत गाउँछौ र आफैंले यो सबै गरेको भन्छौं । बेलुन, रेस्टुरेन्ट, गहना, चकलेट, भेकेसन, कार्डको माध्यम बाट विनिमय हुनु नै माया हो । अर्थात यसरी विनिमय हुनु मात्र माया हो भन्ने भ्रम पर्ने अगासड प्रेम या माया या आशक्ति यी सबैसंग सानो परिचय गर्नुपर्ने हुन्छ ।
    गोठबारीको बगैंचाभरी गुलावलगायत अरु बिभिन्न फूल बाह्रै महिना जस्तो फुल्दा पनि मेरी आमाले कहिल्यै फूलको गुच्छा पाउनु भएन । काव्य र साहित्य आफ्नो पेशा भित्रै परेपनि प्रेमका अभिव्यक्तिका कार्डहरु मेरा बुबाले कहिल्यै आमाको सिरानमा राखिदिनु भएन । रेस्टुरेन्टमा खाने भनेको लखनऊ र वनारसको गल्लीका कुनामा रहेका पानीपुरी, जिलेवीपुरी अनि घर बाहिर रहेको बेला आवश्यक परे बाहेक कहिल्यै अनुभव गराउनु भएन । यसो सम्झिंदा अहिलेको अतिशयोक्तिले प्रयोग हुने ‘आई लभ यु’ या अनुवादमा ‘म तिमीलाई माया गर्छु’ पनि शायदै भन्नुभयो होला । बुबाप्रति आमाले त झन् यस्ता प्रेम प्रदर्शनको व्यवहार गर्नु भएको कल्पना पनि गर्न सक्तिन । ‘तिमीहरुका बा’ या ‘आफू’ भनेर संवोधन गरिने बुबाको नामको उच्चारण त परै जाओस् बाको नामको चार अक्षरमा तीन अक्षर उस्तै भएका छिमेकीको समेत नाम उच्चारण गर्नु भएन । यस अर्थमा मेरा बुबा र आमाले एक अर्कालाई माया गर्नु भएन ।
    म शायद १० वर्षकी थिए होला मेरा वुवा लामो विरामी पर्नु भयो, उहाँलाई अस्पतालमा राखियो । आमाले एकहप्ता भन्दा पनि वढी समयसम्म भोकै रहेर अस्पतालमा वुवाको साथ दिइरहनुभयो । वेलुकी अस्पतालको ढोका बन्द भएपछि देखि विहान ढोका खुल्नु अगाडिसम्म आमा अस्पतालको वन्द ढोका अगाडि आफ्नो भोक प्यास निद्रा जाडो गर्मी बिर्सिएर ग्रिक देवीको मूर्ति जस्तै उभिइरहनु भयो । मृत्युको मुख छेउ पुग्दै फर्किदै गरेजस्तो अनुभव गरिरहनु भएका बुबाको अनुहार आमाको आहटको आवाजैले बादल उघ्रिएको घाम जस्तो उज्यालिन्थ्यो । थाहा छैन बजारमा पाइने कुन कार्डले प्रेमको यो गहिराइ नापेको हुन्छ । कोठेवारीमा लटरम्म पाकेका एकएक फलहरु, बगैचामा फक्रिएका जातजातका फूलहरु, घरका सवै तलाहरु, कोठाहरु कोठाका कुना कुनाहरु, गोठका गाई बाच्छा हरु, घरभित्रका सरसामानहरु एक एकप्रति आशक्त र निकट रहनु भएका मेरा बुबाले बगैचाको कुन फूल पहिले टिप्ने या सुन्तला या अम्वाको रुखबाट कुन फल पहिले टिप्ने समेतको हेक्का राख्नु हुन्थ्यो । घर र यसको वरिपरि मात्र हैन तर बारीका काल्ला, आँगनका ढुंगा, काल्लाका घाँस सबैप्रति अगाध माया भएका मेरा बुबाले आफू स्वर्ग हुनु अघिका तीनवर्ष आफूलाई सर्वपरी लागेको त्यो जमिनमा फेरि पाईला राख्नु भएन । ‘आमा थिइ र पो सबै थियो त, अब त्यो घर मेरा लागि मसानघाट समान हो’ आफू काठमाडौंमा भएको बेला आमा अकस्मात स्वर्ग भएपछि मेरा बुबा आफ्नो अभिन्न अंग ठानेको, जीवनको महत्वपूर्ण हिस्सा मानेको परिवेशसंग नै टाढिनु भयो ।
    बिहानको उज्यालो भूईंमा झर्नुअघि दस मिनेट हिंडेर माथि डाँडाको वरपिपलमा पानी हाल्न कहिल्यै नचुक्ने मेरी साथीकी आमा तीनदशक पहिले दिवंगत पतिको सम्झना गर्ने गर्नुहुन्थ्यो । स्वर्ग हुनु अगाडि उहाँका पतिले रोपेको वरपिपल उहाँको घरै अगाडि भएको वरपिपल भन्दा केही फरक नदेखिए पनि उहाँ सधैं दस मिनेट उकालो चढेर त्यही वरपिपलमा जानु हुन्थ्यो । मायामा यति बल भरिदिने कुन चाहिँ तिथि कसले तोकिदिएको थियो होला र ? शायद माया प्रेम भन्ने कुरा कुनै प्रतिबिम्ब होला । सानो वस्तुको छायाँ सानो, ठूलो वस्तुको छायाँ ठूलो, मोटो दुब्लो, होचो अग्लो सबैको छायाँ त्यही अनुरुप भए जस्तै माया या प्रेम हामी भित्र जति छ, जसरी छ, जसप्रति छ, त्यो प्रतिबिम्बित भएर व्यक्तिले नै होला । कम्प्यूटरको प्रोग्रामका बटन थिचे जस्तो, या रोवटलाई इशारा गरे जस्तो यो घडी यो पलामा प्रेमको बटन थिच्ने बित्तिकै क्रिसमस ट्रिको बत्ती जस्तै सबैको हृदय अनायास प्रेम र मायाको बत्तीले झलमल्ल हुने भ्रमबाट जति चाँडो टाढियो, प्रेमको उज्यालाले त्यसै समयमा त्यसैगरी हृदय उज्यालिन नसक्दा हुने निराशाबाट त्यति नै चाँडो आफूलाई जोगाउन सकिने हुन्छ । आफूभित्र रहेको अथाह माया या प्रेम सही समयमा सही व्यक्तिप्रति व्यक्त गर्नका लागि बाहिरी बहानाहरुले प्रेरणा मात्र गर्ने हुन् । आफ्नो ह्दयमा प्रेम छैनभने प्रेमै प्रेमको नदीमा चुर्लम्म डुबेपनि, प्रेम दिवसका समारोहको मातले एक छिनको लागि बेहोसै भएपनि ओभानाको ओभानै अनि रित्ताको रित्तै भइन्छ । आफ्नो हृदयमा भरिने अलौकिक प्रेम आफैंबाट आरम्भ गर्नपर्न हुन्छ ।
        – भारती गौतम 

No comments:

Post a Comment