‘इज्जत र गर्वका साथ घर फर्कदैछौं’

दुर्गाप्रसाद चौधरी ‘सन्तोष’
(छैठौं डिभिजन सहायक कमाण्डर)
    सुर्खेतस्थित दशरथपुरमा रहेको माओवादी जनसेनाको छैठौं डिभिजनका सहायक कमाण्डर दुर्गाप्रसाद चौधरी ‘सन्तोष’ अहिले घर फर्कदैं हुनुहुन्छ । लडाकु पुनर्वर्गीकरणमा स्वैच्छिक अवकाश रोज्नुभएका चौधरीले सात लाखको पहिलो किस्तावापत साढे ३ लाखको चेक लिएर घर बाँके जिल्लाको बैजापुर गाविस वडा नं. १ मा फर्कदैं हुनुहुन्छ । आफू १४ बर्षको उमेरदेखि २०५४ सालमा माओवादीको सैन्य क्षेत्रमा भूमिगत भएको बताउनुहुने चौधरीले मध्यपश्चिम र सुदूरपश्चिममा भएका ठूला आक्रमणहरुमा सहभागी भएको दावी गर्नुभयो । स्वैच्छिक अवकाश रोजेपछि बैद्य पक्षका लडाकुका कमााण्डरसमेतको संज्ञा पाएका चौधरी घर फर्कने क्रममा वीरेन्द्रनगरमा भेट हुँदा सुर्खेतपत्र दैनिकले गरेको कुराकानी ।


चेक लिएर घर जाँदै हुनुहुन्छ, कस्तो महसुस गर्नुभएको छ ? 
हामी जुन लक्ष्य लिएर जनयुद्ध लडेका थियौं, त्यो १२ बुँदे सम्झौतापछि क्रमैसंग अन्त्य हुदैं गयो । हाम्रा लक्ष्य र उद्देश्यहरु प्रक्रियागतरुपमा विस्तारै अन्त्य हुदैं गयो, ढिलो चाँडो हुनु थियो, स्वैच्छिक अवकाश रोजेका लडाकुहरुले चेक लिएर गएपछि जनसेनापनि विघटनको अवस्थामा पुग्यो । शान्ति प्रक्रियाका लागि यस्तो भएको हो ।
जनमुक्ति सेनालाई विघटन गरिएकै हो त ?
हो नि । संगै युद्धमैदानमा लडेका साथीहरु कोही स्वैच्छिक अवकाश रोजे, कोहीले समायोजन रोजे । समायोजनमा जानु भनेको जनमुक्ति सेना विघटन गरिएको हो । हामीले समायोजन रोज्नुभन्दा बाहिर बसेर फेरि जनतासंग प्रत्यक्ष घुलमिल हुनेभएकोले स्वैच्छिक अवकाश रोजेका हौं । समायोजनमा जाने साथीहरुलाई धोका हुदैंछ ।
१४ बर्षको माओवादीको सैन्य क्षेत्रमा बसेर काम गर्नुभयो, शिविरमा पनि बस्नुभयो ? अवको लक्ष्य के छ ?
व्यक्तिगतरुपमा भन्दा त्यो अवधिमा मेरो धेरै कुराहरु क्षतविक्षत भएका छन् । त्यो पूरा गर्नेछु । अनि क्षतविक्षत र भताभुंग भएकालाई जोड्नु छ । अहिले राजनीतिक नेतृत्वले गर्दा राजनीति विकृत भएको
छ । शीर्ष नेतृत्व त्यागी र पारदर्शी हुन जरुरी छ । म बाहिर गएर व्यक्तिगतरुपमा त्यो विकृति हटाउनतिर पहल कदमी गर्नेछु ।
स्वच्छिक अवकाशमा निस्केका जतिहरु फेरि बाहिर गए विध्वसंतिर लाग्ने हुन् कि भन्ने आशंका व्याप्त छ नि ।
हो, त्यो आशंका छ । तर डराइहाल्नुपर्ने अवस्था छैन । कसैले जनविद्रोह भन्दैमा आँखा चिम्लेर लागिदैन । हामी देशलाई शान्ति र अग्रगमनतिर लैजान चाहन्छौं । पार्टीका शीर्ष नेतृत्वले सवैलाई बराबर न्याय दिनुपर्‍यो । हतियार चलाएर आएको ठूलो समूह बाहिर आएको छ । त्यसलाई सही न्याय दिन सकियो भने बल्ल आशंकाहरु हट्छन् । हैन भने नहोला पनि भन्न सकिन्न ।
जनसेनालाई विघटन गर्न शीर्ष नेताहरु नै दोषी हुन् भन्न खोज्नुभएको हो ?
जिम्मा त शीर्ष नेताहरुले नै लिनुपर्दछ । सुरुको १२ बुँदे सम्झौतादेखि नै एक प्रकारले यसको सुरुवात भएको हो । सम्झौता नै बैठीक ठाउँमा भएको हो । आन्दोलन निर्णायक तहमा पुगेको बेला विदेशीको इसारामा जनतालाई झुक्याउने काम हुदैं आएको इतिहास हामीमाझ छ । हामीलाई विघटन गर्नपनि यस्तै सुरुवात भएकै हो । अव शीर्ष नेताहरुले चुनौती र साहस मोल्नुपर्दछ । माझिएर आउनुपर्दछ ।
आफ्नै साथीहरुको चेक कमाण्डरहरुले लुटेको आरोप छ नि, के भन्नुहुन्छ ?
यस प्रकरणलाई म व्यक्तिगत रुपमा खेद प्रकट गर्न चाहन्छु । तर सवैलाई बराबर सम्मान गर्न सक्नु पर्‍यो नि । चेक र सम्पत्ति हेर्ने काम तलबाट होइन, अव माथिबाटै गर्न आवश्यक छ । माथिबाटै यस कार्यको सुरुवात भए सवै कुरा पारदर्शी हुन्छ । त्यसैले सवैलाई समानता हुनुपर्छ ।
तपाईंको १४ बर्षको पार्टीमा लगानी ७ लाखमा टुंगियो है ?
यसलाई त्यसरी नबझुौं । जुन उद्देश्यका साथ हामी लाग्यौं त्यसमा केही सफल पनि भयौं । शीर्ष नेताहरु विदेशीको इसारा र चुंगुलमा फस्न पुगे । हाम्रै बलले नेताहरु बास्तविक नेता भएका हुन् । हाम्रै कारणले मुलुकमा गणतन्त्र स्थापना भएको हो । हामी नहुँदा हौं त नेताहरु कस्ता हुने थियो भन्ने सवैले अड्कल गर्न सक्छन् ।
बाहिर गएपछि के गर्नुहुन्छ त ?
बाहिर गएपछि गर्ने राजनीति नै हो । सुरुदेखि नै त्यही गर्दै आइयो । हामी भागेर, कमजोर भएर फर्केका हैनौं । इज्जत र गर्वका साथ घर फर्कदैंछौं । 
घर फर्कने साथीहरुको अवस्था कस्तो छ ?
घर फर्कने साथीहरुको मनमा पीडा छ । तर पनि त्यो पीडा हामीले बुझेका छौं । आपसी तिक्तता हटाएका छौं । 

No comments:

Post a Comment