सुर्खेत, १६ चैत ।
नयाँ संविधान बनाउनका लागि बाँकी रहेको अवको २ महिना दलहरुलाई दवाव दिनुपर्ने यहाँ आयोजित एक कार्यक्रममा बताइएको छ । नेपाल पत्रकार महासंघको ५७ औं स्थापना दिवसको अवसरमा सुर्खेत शाखाले आयोजना गरेको अन्तरक्रियाका सहभागीहरुले अवको दुई महिना शान्ति र संविधान बनाउनका लागि दलहरुलाई दवाव दिनुपर्ने बताइएको हो ।
दुई बर्षमा बनाउने संविधान ४ बर्ष वित्न लाग्दापनि नबनाएको र सर्वोच्च अदालतले पनि आगामी जेठ १४ पछि म्याद थप्न नमिल्ने फैसला गरेकोले अवको दुई महिनाभित्र दलहरुलाई व्यापक दवाव दिएर संविधान बनाउन लगाउनुपर्ने धारणा सहभागीहरुले राखे । उनीहरुले यो दुई महिना अरुभन्दा पनि शान्ति र संविधानलाई संचारमाध्यमहरुले प्राथमिकता दिनुपर्ने सुझाव दिए । दलहरु राष्ट्रिय स्वार्थभन्दा व्यक्तिगत स्वार्थमा रुमल्लिएकोले सर्वोच्च अदालतले पनि दलहरुको मुखमा नत्थी लगाइदिएको बताए ।
संविधान बनाउने थलो संसद सरकार परिवर्तन गर्ने थलोमा परिणत भएकोले अव भने संविधान नबनाए नेपाली जनताले असुल उपर गर्ने उनीहरुको भनाइ छ । अदालतको फैसलाले शान्ति र संविधान बनाउन दवाव दिएको बताउँदै उनीहरुले सवै दलहरुलाई यसका लागि एकै थलोमा ल्याउनपनि आवश्यक रहेको जनाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिम संंयोजक सूर्यमणि गौतम, सुर्खेत शाखाका पूर्व सभापति कमलेश डीसी, श्रीधर पौड्याल, वीरेन्द्रनगर जेसीजका अध्यक्ष भद्र भण्डारी, पुनरावेदन वारका सचिव दुर्गा सापकोटा, अग्रज पत्रकार जीवनकुमार शाक्य, सुर्खेत शाखा अध्यक्ष दुर्गा थापालगायतले शान्ति र संविधानका वारेमा बोलेका थिए । त्यसअघि स्थापना दिवसकै अवसरमा महासंघले विहान मंगलगढी चोकबाट प्रभातफेरी निकालेको थियो ।
No comments:
Post a Comment