दशरथपुर गोलीकाण्डमा मृत्यु भएकालाई अझै शहीद घोषणा गरिएन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १७ चैत । 
२०३६ सालमा पञ्चायती शासनका विरुद्ध लड्दा प्रहरीको गोली लागि मृत्यु भएकाहरुलाई अझैपनि शहीद घोषणा गरिएको छैन । हुलदंगामा परेका, मुठभेडमा परेकाहरुलाई धमाधम शहीद घोषणा गरिएका बेला ३२ बर्ष अघि राज्य व्यवस्था परिवर्तनका लागि जीवनको आहुति दिएका दशरथपुरका ६ जनालाई अझैसम्म पनि शहीद घोषणा नगरिएकोमा सुर्खेतस्थित सरोकारवालाहरुले दु:ख व्यक्त गरेका छन् ।

२०३६ साल जेठ १५ गते पूर्वी सुर्खेतको दशरथपुर गाविसमा पञ्चायती शासनका विरुद्ध किसान जुलुसमा लागेको बेला प्रहरीले गोली हानी ७ जनालाई मारेको थियो । सो घटनामा लेखफर्सा, दशरथपुर र रामघाटका इन्द्रबहादुर विसी, न्याउले कामी, लालवीर टमट्टा, हस्तबहादुर सार्की, कर्णबहादुर खत्री, ब्रहमदत्त तिवारी र बहादुरे लापने कामीको मृत्यु भएको थियो । 
सात जनामध्ये इन्द्रबहादुर विसीलाई मात्र शहीदको दर्जा दिइएको तर अन्यलाई भने शहीदको दर्जा नदिइएकोमा परिवारजनले  आक्रोश पोखेका छन् । उनीहरुले एउटै घटनामा परेकाहरु एउटा शहीद हुने, अरु नहुने किन भनी प्रश्नसमेत गरे । 
लालवीर टमटाका छोरा हेमबहादुर टमटाले अहिले जस्तो पायो उस्तैलाई शहीद घोषणा गरिएको अवस्थामा पंचायती शासनविरुद्ध लड्दा ज्यान आहुति दिनेहरुलाई किन शहीद घोषणा नगरिएको भनी प्रश्न गरे । ‘अहिले दुर्घटनामा मरेकालाई, मुठभेडमा मरेकालाई शहीद बनाइदैंछ, आन्दोलन गरेर पनि शहीद बनाइएका छन् तर राज्यव्यवस्था विरुद्ध लडेकालाई शहीद घोषणा गर्न किन कठिन ?’ उनले भने । कस्तालाई शहीद भन्ने वारेमा स्पष्ट परिभाषा र मापदण्ड बनाउनुपर्ने माग राख्दै उनले शहीदहरुलाई पैसासंग तौलन नहुनेमा जोड दिए ।
हस्तबहादुर सार्कीका छोरा जे.वी धौलाकोटीले सम्पन्न र राजनीतिक पहुँचका आधारमा कसैलाई शहीद घोषणा गर्ने र कसैलाई नगर्नुले राज्यले भेदभाव गरेको आरोप लगाए । पंचायती शासनका विरुद्ध लडेर शहीद भएका परिवारहरुको विचल्ली भएकोले राज्यले उनीहरुलाई तत्काल शहीद घोषणा गरी राहत उपलव्ध गराउनुपर्ने माग उनले गरे ।
शहीद घोषणा गराउनका लागि जिल्ला तहदेखि राजधानी केन्द्रीत आन्दोलनहरु गर्नुपरेको स्मरण गर्दै उनले अंग्रेजकालदेखि हालसम्म ओझेलमा परेका शहीदहरुको खोजी गर्ने कार्य जारी रहेको बताए ।
शहीदको परिभाषा तथा मापदण्ड निर्धारण सम्वन्धी उच्चस्तरीय कार्यदलका सदस्य समेत रहेका धौलाकोटीले नखोजिएका शहीदहरु धेरै भएकोले अहिले त्यसको सोधखोज गर्ने कार्य भइरहेको बताए । उनले गृहमन्त्रालयमा शहीद सिफारिसका लागि ३ सय ९५ जनाका नाम सिफारिस गरिएको जानकारी दिदैं बास्तविक शहीदहरुको अवमूल्यन भइरहेको जनाए ।

उच्चस्तरीय कार्यदल सुर्खेतमा


शहीदको परिभाषा तथा मापदण्ड निर्धारण सम्वन्धी उच्चस्तरीय कार्यदलले शुक्रवार सुर्खेतमा सर्वपक्षीय छलफल गरेको छ । नवराज सुवेदीको संयोजकत्वमा आएको टोलीले यहाँका शहीद परिवार, राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुसंग शहीदको परिभाषा, मापदण्ड र वर्गीकरणका वारेमा राय बुझेको छ । 
कार्यक्रममा एकीकृत नकेपा माओवादी सुर्खेतका इन्चार्ज कृष्णप्रसाद धमलाले सुर्खेतकै दशरथपुर गोलीकाण्डमा मृत्यु भएकाहरुलाई अहिलेसम्म शहीद घोषणा नगरिएकोमा आपत्ति प्रकट गरे । उनले बास्तविक शहीदहरु अझै ओझेलमा परेकोले अहिले जसलाई पनि शहीद घोषणा गर्नुले सच्चा शहीदहरुको अवमूल्यन भएको उल्लेख गरे । नेपाली कांग्रेसका क्षेत्रीय  सभापति कमलराज रेग्मीले दशरथपुर घटनामा मृत्यु भएकाहरुलाई शहीद बनाउन दवाव दिनुपर्ने बताए । नेकपा एमालेका सचिव गगनसिंह सुनारले शहीदहरुलाई पैसामा तुलना गर्न नहुनेमा जोड  दिए । शहीदको परिभाषालाई आफू अनुकूल व्याख्या गर्दा बास्तविक शहीदहरु ओझेलमा परेको बताए । स्थानीय शान्ति समितिका संयोजक मोहन थापाले हतारमा शहीद घोषणा गर्ने परिपाटीले अहिले समस्या थपिएको टिप्पणी गरे । शहीद परिवार हरिमाया शर्माले जनयुद्धमा मारिएकाहरुलाई पनि शहीदको परिभाषाभित्र समेट्नुपर्ने बताइन्भने सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दशरथपुर घटनामा मारिएकाहरुलाई शहीद घोषणा गर्नेतर्फ सवैपक्ष गम्भीर हुनुपर्ने सुझाव दिए । कार्यदलका संयोजक नवराज सुवेदीले सुर्खेतको दशरथपुर घटनामा मारिएका ७ जनामध्ये एकजनालाई शहीद घोषणा गर्नु तर अन्य ६ जनालाई नगरिनु रहस्यमय भएको बताए । उनले विभिन्न जिल्ला पुगी शहीदको परिभाषा, मापदण्ड, वर्गीकरणका वारेमा रायसुझाव लिने कार्य भइरहेको जानकारी दिए । कार्यदलमा सुवेदीका साथ सदस्यहरु जे.वी. धौलाकोटी, रविन्द्र ठाकुर र सुर्यबहादुर सार्की रहेका छन् ।

No comments:

Post a Comment