दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा नेपाल सर्वोच्च स्थानमा छ । भ्रष्टाचारको उचाइ सगरमाथाभन्दा पनि माथि छ नेपालमा । माओवादी नेतृत्वको सरकारले पनि भ्रष्टाचारलाई नियन्त्रण गर्न सकेन । माओवादी हुँदैमा कम्युनिष्ट हुनैपर्छ भन्ने छैन । यसको उदाहरण जिल्लादेखि केन्द्रसम्म नवमाओवादीहरुको बाहुल्यता र नेतृत्वपंक्ति संगको साइनोको प्रगाढताले जनाउँछ । आज उनीहरुको नै निर्णायक ठाउँमा हालीमुहाली भएकाले प्रमाणित गर्छ । हिजो जनयुद्धकालमा माओवादीको एउटा पक्षलाई कहिल्यै आर्थिक संकटको सामना गर्नु परेन । हिजोको पैसाले आज तिनीहरु करोडपतिसम्म भएका छन् । आज पैसा कमाउने माध्यम फेरिएको छ । अर्को नेपालका कम्युनिष्टहरुमा सामन्ती चरित्र अझै पनि विद्यमान छ । ठूलो नेता भएपछि उनीहरुमा सामन्ती चरित्र सल्बलाउन थाल्छ । सामन्ती चरित्रले भ्रष्टाचारलाई मलजल गर्नुगर्दछ । आफ्नो त्यागसम्म बोक्न नसक्ने कम्युनिष्टहरुको कमी नेपालमा छैन ।
एउटा पुँजीवादी नेतासरहको चरित्र पनि तिनीहरुमा छैन । अब्राहम लिंकन अमेरिकाको राष्ट्रपति थिए । अमेरिकामा गृहयुद्धको बेला थियो । विदेशमन्त्री सल्लाहको लागि ह्वाइट हाउस पुग्दा लिंकनले आफ्नो जुत्तामा आफैं पालिस लगाइरहेका थिए । यो देखेर विदेशमन्त्रीले राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेको मानिसले आफ्नो जुत्तामा आफैं पालिस लगाउँदैनन्, ह्वाइटहाउसमा जुत्तामा पालिस लगाउने मानिसको कमी छैन तर तपाईंले आफ्नो जुत्तामा आफैं पालिस लगाइरहनुभएको छ, अमेरिकामा सम्भ्रान्त मानिसहरुले आफ्नो जुत्तामा आफैं पालिस लगाउँदैनन् भनेर भने । यो कुरा सुनेर अब्राहम लिंकनले जवाफ दिएका थिए, ‘त्यसो भए तिनीहरुले कसको जुत्तामा पालिस लगाउँछन् ?’ महात्मा गान्धीले आफ्नो काम जति आफैं गर्ने गर्थें । यहाँसम्म कि आफ्नो चर्पीको सफाइ पनि आफैं गर्दथे ।
ती नेताहरु कहिल्यै भ्रष्ट भएनन् । तर नेपालका कम्युनिष्टहरु यी नेताहरुको पाउको धुलोसम्म हुन सकेनन् । नेपाल कम्युनिष्ट आन्दोलनको यो एउटा ठूलो त्रासदी हो । लुम्बिनीको विकासका लागि प्रचण्ड प्रयासरत छन् । लुम्बिनीलाई जेरु सलम र मक्का झंै विश्वप्रसिद्ध तीर्थस्थल बनाउने ध्याउन्नमा छन् । यसो हेर्दा उनी बुद्धको जीवनशैलीबाट प्रभावित भएको देखिन्छन् । तर के उनले बुद्धको जीवनशैली अपनाउन सकेका छन् ? प्रचण्डनिकटका नेताहरुको गोजीका नवमाओवादी, हिजोका खाओवादीहरु भएका छन्, जनयुद्धका विरोधीहरु आज नेताहरुको आफन्त बनेको देख्दा एउटा सच्चा कम्युनिष्टको मन अमिलो हुने गरेको छ । माओवादीहरु सरकारमा आएपछि हिजोका भ्रष्टहरुको सातोपुत्लो उड्ने छ भन्ने जनताले ठानेकोमा आज झन् त्यसको विपरित हुँदा कुन मुखले माओवादीलाई एउटा क्रान्तिकारी पार्टी भन्ने ? नेता मात्र भ्रष्टाचारको दोषी हुन् र ? कर्मचारी जसलाई राष्ट्रसेवक भनिन्छ, जसको पार्टीपिच्छेकै युनियनहरु छन् र जसको नेतृत्व टाँठाबाठा र चतुर युनियन लिडरहरुले गरिरहेका छन्, जसले आफूहरुलाई सच्चा राष्ट्रसेवक र इमानदार कर्मचारी भनेर हल्ला मच्चाउँछन्, तिनीहरु नै आफैं कमाउ मन्त्रालय, विभाग र कार्यालयहरुमा छन् र आफ्ना युनियनका नजिकका कर्मचारीहरुबाट पैसा खाएर कमाउ ठाउँमा सरुवा गर्न सचिव, मन्त्रीहरुलाई घेर्न, धम्की दिने र दादागिरी देखाउने गर्छन् । कर्मचारी युनियनहरुका यी महाडनहरुलाई राष्ट्रसेवक भन्न सुहाउँछ ? पार्टी नेताहरुको आशीर्वाद यिनीहरुमाथि सदासर्वदा रहेकाले यिनीहरुको साहस बढेको हो । युनियनहरु यिनीहरुकै स्वार्थका लागि गठन भएका हुन् र विपक्षमा बसेका राजनीतिक दलहरुको स्वार्थसिद्धिका लागि गठन भएका हुन् । कर्मचारीहरुको हकहितको लागि एउटा मात्र युनियन भए प्रशस्त पुग्छ । यसतर्फ कुनै पनि सरकार सचेत छैन र सचेत रहन पनि चाहन्न ।
भ्रष्टाचारको नियन्त्रणका लागि अख्तियार बलियो हुनुपर्छ । तर, राजनीतिक भागवण्डाका कारण र नेताहरु आफूहरुले गर्ने गरेको भ्रष्टाचारबाट जोगिन अख्तियारलाई निस्क्रिय पारेर राखेका छन् । अख्तियारले पनि ठूला कर्मचारीहरु र नेताहरुको मात्र भ्रष्टाचारको मुद्दा हेर्ने गरेको छ । भ्रष्टाचार साना कर्मचारीहरुबाट पनि करोडौंमा गर्ने गरेका छन् । त्यसतर्फ अख्तियार खामोस छ । सुब्बा र खरिदारहरुले पनि लाखांै, करोडौं कमाएका छन् यहाँ तर अख्तियारका आँखा त्यतातिर किन जान्न ? माल, भन्सार, राजस्व कार्यालय, वैदेशिक रोजगार र परियोजनाहरुमा सरुवा गर्न लाखौं खर्च गर्ने गरेका छन् । त्यसतर्फ अख्तियारको आँखा किन जाँदैन ? सबै राजनीतिक दलहरुका नेताहरु पनि अहिले बाठा भएका छन् । बाठा नेताहरु आफैं भ्रष्टाचारमा प्रत्यक्षरुपमा संलग्न हुन्नन् । आफ्ना मान्छेहरुलाई कमाउ अड्डामा सरुवा, बढुवा गरेर उनीहरुबाट लाखौं बुझ्ने गर्छन्, करोडौंको सामान खरिदमा आफू नमुच्छिइकन कर्मचारीहरुबाट भ्रष्टाचार गर्न लगाएर करोडौं आफैं कुम्ल्याउँछन्, फसे कर्मचारी फस्ने, उनीहरु चोखाको चोखै । सुडान घोटाला काण्डमा त्यही देखियो । बाठा नेताहरु आफ्नो अचल सम्पत्ति अरुकै नाममा देखाएर आफू पवित्रताको च्यादर ओड्ने गरेको हामी सबैले देखिरहेका छौं । जनयुद्धकालको एउटा घटना ।
मसंगै काम गर्ने एकजना कर्मचारीले नेपालगञ्जको न्यूरोडमा करीब ४४ लाखको घडेरी किनेर घर बनाएका थिए । उनको हैसियत त्यति थिएन, म अचम्म परें तर केही भन्न मिलेन । करीब एक महिनाअगाडि एकजना पुराना साथी भेटिए । मैले ती न्यूरोडमा घर भएका साथीको बारेमा सोधें । जनयुद्ध कालमा एकजना माओवादीले उसलाई पैसा राख्न दिएको थियो रे, त्यही पैसामा उसले थपथाप पारेर घर बनाएको रहेछ । अहिले आएर ती माओवादीले उसंग आफूले राख्न दिएको पैसा मागेछ, उसले आलटाल गर्दै गएपछि ती माओवादीले घर आफ्नो नाममा पास गरिदिन भनेछ । अन्तत: धम्कीको अगाडि ऊ झुकेर जागीरबाट अवकाश लिई पाएको पैसाले ती माओवादीको पैसा तिर्यो भनेर साथीले सुनायो । यस्तो भ्रष्टाचार माओवादीभित्रका खाओवादीहरुले गरेको हामी धेरै ठाउँमा हेर्न सक्छौं ।
जनयुद्ध कालमा बिग्रेको बानी भएकाहरुकै कारण माओवादीभित्र पनि अरु दलहरुझैं भ्रष्टाचारले जरा गाड्न थालेको छ । पार्टीमा मूल्यांकनको आधार पैसा, नातावाद र कृपावाद बन्दै गइरहेको छ । एउटा कम्युनिष्ट पार्टीको लागि यो खतराको सूचक हो । खैर, कुरा भ्रष्टाचारकै भइरहेको थियो । म सिंहदरबार पसेको थिएँ । साथीहरु भेट भए । अहिले कर्मचारीहरुको सरुवाको मौसम रहेछ । सायद त्यसैले होला युनियन लिडरहरुको डनगिरीले चुचुरो छोएको हो । सरुवामा कति ठूलो सौदाबाजी हुनेरहेछ, नेताहरुको मुखबाट सुनियो । एउटा एलडिओलाई भनेको ठाउँमा सरुवा गर्दा एलडिओले १५ लाख दिन तयार रहेछन् । पुलिस इन्सपेक्टरले तराई र सीमाक्षेत्रमा सरुवा गरिदिएमा ५ लाख दिन तयार रहेछन्, यस्तै वैदेशिक रोजगार, माल, भन्सार, राजस्व कार्यालयहरुको पनि सरुवाको मूल्य रहेछ । वैदेशिक रोजगारमा आकर्षण पैसा देखेरै होला श्रममन्त्री सरिता गिरीले सचिवलाई सरुवा गर्नुपरेको, सरिताको मुख थुनिदिने काम ती सचिवले गर्न थालेपछि साक्षात सरिता सुनामी बन्न बाध्य भइन् । सिंहदरबार लुटकै दरबार रहेछ, इमानदार मन्त्रीहरुका लागि त्यहाँ कुनै ठाउँ नै देखिँन मैले । यी भए ठूला भ्रष्टाचारका कुरा ।
साना भ्रष्टाचारलाई हामी आँखा चिम्लिदिन्छौं । हामी विद्युत् महशुल तिर्न जान्छौं वा टेलिफोनको, चार रुपैयाँसम्मको फिर्ता गर्नुपर्ने पैसा त्यहाँका कर्मचारीले फिर्ता गर्दैनन्, हामी त्यसलाई सानो पैसा भनेर आँखा चिम्लिदिन्छौं तर हामीसंग एक रुपैयाँ कम परे तिनीहरुले छोड्दैनन् । हाम्रो स–साना पैसाले तिनीहरुले एकदिनको तलबभन्दा बढी कमाउने गर्छन् । यसतर्फ कोही बोल्दैनौं । सम्बन्धित निकाय पनि सबै थाहा पाएर चुप लागेर बस्छ । सायद उसले कर्मचारीहरुले कमाएर खाउन् भन्ने सोचेको होला । पैसालाई हटाएर रुपैयाँमा मात्र राजस्व लिने चलन भइदिए यसकिसिमको भ्रष्टाचारबाट उपभोक्ताहरुले निजात पाउने थिए ।
No comments:
Post a Comment