चोरीका दाउरा रोक्न रात्री गस्ती

Bookmark and Share 
सुर्खेत, २२ फागुन ।
    वीरेन्द्रनगर नगरपालिका वडा नं. २ स्थित त्रिपुरेश्वर सामुदायिक वन उपभोक्ता समूहले चोरीका दाउरा नियन्त्रण गर्न रात्री गस्ती थालेको छ । घाँस दाउरासमेत काट्न रोक लगाएको अवस्थामा दाउरा चोरी गरेर विक्री गर्ने क्रम बढ्न थालेपछि समूहले रात्री गस्ती थालेको हो ।
    रात्री गस्ती गर्ने क्रममा सोमवार विहान समूहले २५ भारी दाउरा नियन्त्रणमा लिएको छ । राती ३ बजेदेखि रेडियो नेपाल चोकलगायतमा गरिएको रात्री गस्तीका क्रममा विक्रीका लागि बजारतर्फ ल्याउँदै गरेका २५ भारी दाउरा नियन्त्रणमा लिएको समूहका अध्यक्ष खड््गबहादुर थापाले बताए । घाँस दाउरासमेत काट्न रोक लगाएको अवस्थामा दाउरा चोरी गरेर विक्री गर्दा वन मासिने क्रम बढेकोले बाध्य भएर दाउरा नियन्त्रणमा लिनुपरेको उनले जनाए ।

    विशेषगरी वडा नं. १ का बासिन्दाले चोरीका दाउरा विक्री गर्ने गरेको समूहले जनाएको छ । विगत ४/५ बर्षदेखि बन नियन्त्रण गर्ने कार्य थालिएपनि झन्झन् विनाश हुँदै गएपछि दाउरा नियन्त्रण नै गर्नुपरेको जानकारी उनले दिए । बन मासिने क्रम बढेपछि अव बाटोमा समेत गस्ती गर्ने कार्य सुरु गरिएको छ । अव दैनिक गस्ती गरेर दाउरा नियन्त्रण गरिने उनले बताए ।
    तर वीरेन्द्रनगर–१ का तुलसा नेपालीले आफूहरुले वनमा सडेका सोतर ल्याएको दावी गर्छिन् । उनले दार काटेर फ्ँयाकेको अवस्थामा आफूहरुले दाउरा ल्याएको बताइन् । ठूला काठ चोरी गर्नेलाई समात्न नसक्ने तर आफूहरुजस्ता दाउरा विक्री गरेर खानाको जोहो गर्नेलाई समितिले किन समात्ने भन्ने प्रश्न उनले गरिन् । उनले अर्काको वनबाट ल्याएको दाउरालाई नियन्त्रण गर्ने अधिकार त्रिपुरेश्वर वन समूहलाई नभएको पनि जनाइन् । यता त्रिपुरेश्वर सामुदायिक वनले भने वीरेन्द्रनगर–१ को क्षेत्रपनि आफ्नो क्षेत्राधिकारभित्र पर्ने भएकोले नियन्त्रण गरिएको जनाएको छ । नियन्त्रणमा लिएका दाउरालाई लिलामी गरिने अध्यक्ष थापाले बताए । दाउरा नियन्त्रण अभियान थालिएपछि वन मासिने क्रममा कमी आउने विश्वास समूहले लिएको छ ।  

No comments:

Post a Comment