प्रधानमन्त्रीका कुरा, बगलीमा छुरा

Bookmark and Share 
विष्णु पन्त
    २०६८ साल भदौ १२ गते नेपालको ३६ औं प्रधानमन्त्री पदमा डा. बाबुराम भट्टराई पदासिन हुँदाको बखत आम सर्वसाधारणले राम राज्य जस्तै  परिकल्पना गरेर विभिन्न स्थानमा दीपावली, नाचगान गर्दै कार्यकाल सफलताको कामना गरेका थिए । नयाँ नेपालको मुहार फेरिने भयो भन्नेमा लगभग प्राय: ढुक्क देखिन्थे । आफ्नो दलबाहेक अन्य दलसमेतले समेत प्रत्यक्ष–अप्रत्यक्ष रूपमा समर्थन जनाएको अवस्था थियो । विगतमा अर्थमन्त्री छँदा कमाएको लोकप्रियता, सरल जीवन बौद्धिक स्तरमा आफ्नो हैसियत राख्नु हुने, गरीब दीन दु:खी सर्वहारा वर्गको उत्थान गर्नका निम्ति राजनीतिक आधारमार्फत नेपाली जनतामाझ उदाउनुभएका, समाजका हरेक तह तप्का वर्गविशेषबाट बढी रुचिमा पर्न सफल सरल, इमानदार प्रखर व्यक्तित्वका धनी मुलुकको कार्यकारी प्रमुख बन्दा जोकोही खुशी नहुने कुरै भएन तर त्यो खुशी धेरै समय टिक्न भने सकेन क्षण भरमै निमेष हुन पुग्यो । झुल्के घाम जस्तै बिहान उदायो साँझ अस्ताए जस्तै भयो । हिजो खुशीले गद्गद् भएका अनुहारमा आज कालो बादलको छायाँ मडारिरहेको छ, मुलुक अझै अनिश्चित भविष्यको बाटोतर्फ लम्की रहेको छ । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ’ भन्ने उखान सरकारको गतिविधिले चरितार्थ गरिदिएको छ ।

    जनता सरकारको क्रियाकलापप्रति झस्कन थालेका छन्, ‘जुन जोगी आए पनी कानै चिरेको’ । विशेषणले यो सरकारलाई पनि निरन्तरता दिएको छ, आमजनताले गरेको आशा र भरोषामाथि तुषारापात भएको छभने नेपालको छवि अन्तर्राष्ट्रियस्तरमा दिनप्रतिदिन गिर्दै गइरहेको छ । नेपालको कमजोर कुटनीतिक कार्यदक्षताले गर्दा आज नेपाल र नेपाली जनताको शिर निहुरिन पुगेको छ । गत पुस ३० गते तदनुसार १४ जनवरी २०१२ मा छिमेकी मुलुक चीनका प्रधानमन्त्री वेनजिया बाओको करिब ५ घण्टाको नेपाल भ्रमणले नै हाम्रो कुटनीतिक दक्षतामाथि प्रश्न उठाउने मार्ग प्रशस्त गरिदिएको छ ।
चिनियाा प्रधानमन्त्रीको उक्त भ्रमणलाई कतिपय विश्लेशकहरूले ट्रान्जिट भ्रमणको रूपमा विश्लेषण गरेको पाइयो किनकि उहाँ नेपाल हुँदं खाडि मुलुकतर्फ लाग्नुभएको थियो । एक दशक पछाडि बल्लबल्ल हुन गएको भ्रमण नेपालको इतिहासमा सायद यो नै पहिलो औपचारिक छोटो समयको भ्रमण हुन पुगेको छ । जेहोस् लामो समय हुन नसके पनि कम्तीमा एक रात बसाइको भ्रमण हुन सकेको थियो भने सामान्यत: चित्त बझाई गर्ने ठाउँ हुन्थ्यो, जसले नेपालको गिर्दो छविलाई केही हदसम्म टेवा दिन सक्दथ्यो । पछिल्लो समय राष्ट्रसंघीय महासचिव वान कि मुनको आगामी वैशाख १६ गते हुने भनिएको नेपाल भ्रमणबारे निक्कै चर्चा चलेतापनि अन्तत: निर्धारित समयमा भ्रमण स्थगनको खबरले पुन: स्तब्ध बनाएको छ किन सरकारको एकपछि अर्को कमजोरीपन देखिंदैछ ? दिनप्रतिदिन नेपालको छवि कमजोर बन्दै गएको प्रमाणित हुँदैछ, घटनाले अन्तर्राष्ट्रियस्तरमा सकारात्मकभन्दा नकारात्मक नै सन्देश जाने देखिन्छ ।
    यो कुनै राजनीतिक दल, वर्गविशेष नभई नेपालको छवि र प्रतिष्ठासंग जोडिएको विषय हो, नेपालको छवि बिग्रनु, कमजोर हुनु भनेको हामी सबै नेपालीको साख गिर्नु हो, यस्तो संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्ने कि नपर्ने ? अझै कति लाचार प्रकट गर्दै नेपालको गिर्दो छविलाई अन्तर्राष्ट्रिय जगतमा विश्वासयोग्य वातावरण सिर्जना गरेर अस्तित्व बचाऊ नगर्ने हो ? यो काम कुनै सर्वसाधारणले गरेर हुने त पक्कै होइन न कि सार्वजनिकस्थलमा विरोध, जुलुस, मोटरका पांग्रा जलाएर, सार्वजनिक सम्पत्ति तोडफोड गरेर हुने हो, केवल सरकारको कुटनीतिक कार्य दक्षताभित्र पर्ने विषय हो । नेपालको कुटनीतिक कार्य दक्षतालाई समयसापेक्ष विकसित गर्दै लानुपर्ने देखिन्छ । कुटनीतिक क्षेत्रमा कुटनीतिक दक्षता हासिल गरेका योग्य पात्रलाई मात्र छनोट गरी राजनीतिक भागवण्डामा रूपान्तरण नगरी स्वतन्त्रढंगले कुटनीतिक तहलाई बलियो बनाउनु आजको आवश्यकता देखिन्छ ।
    हामीले अन्तर्राष्ट्रिय जगतमा विश्वासयोग्य वातावरण कायम गर्न सकेनौं भने भोलिका दिनमा यस्ता घटना नदोहोरिएला भन्ने छैन देश र जनताको छविलाई माटोमा मिलाउने काम नहोस् । समयमै सद्बुद्धि आओस् । २०६२/६३ को आन्दोलनमार्फत् मुलुक गणतन्त्रमा प्रवेश गरेपश्चात वर्तमानसम्म आइपुग्दा संयोग नै पर्न गएको हो कि  के हो ? राष्ट्रपतिको नाममा राम झुण्डेको, प्रधानमन्त्रीको नाममा पनि राम झुण्डेको, धेरैपटक प्रधानमन्त्री पदको दौडमा रहनु भएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नाममा पनि राम झुण्डिन पुगेको छ । यी तीनवटै नामले मुलुकमा महत्वपूर्ण अस्तित्व राख्दछ । राम नाम पवित्र रूपमा समस्त हिन्दुहरूले आजका दिनसम्म उच्चारण गर्ने गरेका छन् । रामलाई भगवान्को रूपमा पूजा गर्ने परम्परादेखि चली आएको धार्मिक रीति हो । त्यसकारण पनि राम नामको महत्व अपरम्पार छ । मनोवैज्ञानिक रूपमा नेपाली जनताले काल्पनिक रामराज्यको परिकल्पना गरेको अवस्था थियो । नभन्दै पद बहाली भएको छोटो समयमा केही सुधारका संकेत देखा नपरेका होइनन्, प्रधानमन्त्रीले सरकारी सेवा सुविधाबापत मुस्ता· गाडी प्रयोगदेखि सरकारी तहबाट बजार अनुगमन गर्दै वषौंदेखि सडेगलेका सामग्रीबाट निर्मित खाद्य वस्तु बेच्नेलगायत अन्य कालाबजारी गर्नेउपर कारबाही गरेर केही मात्रामा भने पनि उपभोक्ता वर्गलाई राहत दिन सफल हुनुभएका प्रधानमन्त्री विस्तारै–विस्तारै विभिन्न स्वार्थतत्वहरूको घेरामा घेरिएर ग्लन सुरु हुनु भएको घटना विषयले पुष्टि गर्दैछ । विस्तारै–विस्तारै हिजो व्यक्त गरिएका अभिव्यक्ति विपरीतका कामहरू सुरु हुन थालेका छन् ।
    आमसर्वसाधारण चकित पर्न थालेका छन्, होइन के हुन लाग्या ? यो त अचम्म भयो भन्दै एकआपसमा मुखामुख गर्दै जिब्रो टोक्न थालेका छन् । दिन हो कि रात सपनामा हो कि बिपनामा हो भन्ने छुट्याउन हम्मे–हम्मे पर्न थालेको छ । के अर्को अचम्म हुन थाल्यो कस्तो काल, समय आएछ लौन हे राम हाम्रो रक्षा गर्नुहोस् । हाम्रो भगवान् भनेकै तिमी हौ लौन प्रभु बचाउनुस् हामी तपाईंको शरणमा परेका छौं भन्दै कोलाहल गर्नुपर्ने अवस्थामा देश र जनताले धोखा खाएका छन्, मुखले एक थाके भन्ने कामले अर्कै हुनगएको छ । नेपाली जनताले यति मात्र भन्न बाँकी छ कि राम...राम...राम... भीरबाट लड्ने गोरुलाई राम राम सिवाय अरु के नै गर्न सक्छन् र ? सरकारको कार्यकाल मूल्यांकन गर्ने होभने जनअपेक्षाबमोजिम काम हुन नसकेको तीतो यथार्थ हो । शान्ति सुरक्षा, महँगी नियन्त्रण, रोजगार वृद्धि, स्वास्थ्य, शिक्षाजस्ता जनताको दैनिक जीवनसंग जोडिएका अति संवेदनशील विषयलाई केलाएर हेर्ने होभने सरकारले माखो मार्न सकेको देखिंदैन । निजामती क्षेत्रमा हेर्ने हो भने कहीं नभएको जात्रा हाँडि गाउँमा भनेजस्तो कर्मचारीहरूलाई मनोमानी ढ·ले सरुवा–बढुवाको नाममा आतंक झंै मच्चाएको देखिन्छ । आफ्ना आसेपासे आज्ञाकारी घरमा पालेको पाल्तु कुकुर बराबर ठानेर बफादारमार्फत आफ्नोसमेत दुनो सोझ्याउने खेलमा कोभन्दा को कम भन्दै कम्मर कसेर लागिपरेका छन् ।
    बहालवाला मन्त्रीले आफ्नै मन्त्रालय भ्रष्टाचारीहरूको अखडा रहेछ भनेर सार्वजनिक रूपमा बोल्दासमेत कुनै अर्थ र महत्व राख्दैन भने नेपालको राज्य व्यवस्था कति निरीह र कमजोर भइसकेछ माथिको घटनाले पुष्टि गरेको छ । होइन भने प्रधानमन्त्रीले किन टुलुटुलु हेरी बस्नु भएको छ ? तुरुन्त कारबाही गर्ने हिम्मत किन गर्नु हुन्न ? देश संक्रमणकालमा गुज्रेको हो भन्दैमा आफ्नो काम र कर्तव्यप्रतिको बोध कहिले हुने हो ? संक्रमणकाल टु·िने कुनै छाँटकाँट छैन । संक्रमणकाललाई जति लम्ब्याउन सक्यो त्यति नै फाइदा देखिरहने, आफू आफूमा झगडा गर्ने, एकआपसमा दोषारोपण गरेर नेपाली जनतालाई रैतीभन्दा तल्लो स्तरको घटिया व्यवहार आज कसले देखाइरहेको छ ? नेपाली जनताले तिरेको करबाट लामो समयसम्म लादेर भुँडी कसले भरिराखेको छ ? नेपाली जनताले दिएको जनमतलाई लात्ताले हानेर लड्याउने काम कसले गरिराखेको छ ?

No comments:

Post a Comment