सुर्खेतका पर्यटकीय स्थलहरुको सरसफाई

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ६ बैशाख ।
    यही बैशाख ८ गतेदेखि १० गतेसम्म सुर्खेतमा हुन लागेको राष्ट्रिय चलचित्र महोत्सव अगाडि वीरेन्द्रनगर क्षेत्रमा जताततै सरसफाई अभियान थालिएको छ । सरसफाई अभियानमा नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, स्थानीय संघसंस्थाहरु सक्रिय भएका छन् ।
    बुधवार मात्रै नेपाली सेनाले बुलबुले उद्यानको सरसफाई गरेको छ । यस्तै जनपद र सशस्त्र प्रहरीले खुल्ला मञ्च, देउती बज्यैलगायतका स्थान सरसफाई गरेको छ । बुलबुलेमा कपासेस्थित भीमदल गणबाट साढे २ सय नेपाली सेनाको टोलीले सरसफाई गर्‍यो । गणका प्रमुख सेनानी भरत कार्कीको नेतृत्वमा आएको टोलीले विहान झण्डै २ घन्टा बुलबुले ताललगायत उद्यानको सरसफाई गरेको थियो ।

    धार्मिक, पर्यटकीय महत्व बोकेको स्थानहरुको सरसफाई गर्ने सेनाको नियमित कार्यक्रम अनुसार बुलबुलेमा सरसफाई गरिएको उनले जनाए । साथै राष्ट्रिय चलचित्र महोत्सवपनि सुर्खेतमा हुनेभएकोले चर्चित कलाकारहरु आउने हुँदा सरसफाईका लागि बुलबुलेलाई नै रोजेको उनले बताए । सो गणले केही समय अघि देउती बज्यै मन्दिरपनि सरसफाई गरेको थियो ।
    यता वीरेन्द्रनगर नगरपालिकाले पनि झण्डै एक सातादेखि बजार क्षेत्रको सरसफाई थालेको छ । ढल तथा नालीमा थुप्रिएको फोहर हटाउन सुरु गरेको छभने फोहर फाल्नेलाई जरिवानासमेत लगाउने गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत ललितकुमार बस्नेतले स्वच्छ र सफा नगर बनाउनका लागि सवैको सहयोगमा सरसफाई अभियान थालिएको बताए ।

एक हजार जरिवाना
    सफा गरेको नालीमा फोहर गरेको भन्दै वीरेन्द्रनगर नगरपालिकाले बुधवार हटियालाइन स्थित होटल छाप्रेलाई एक हजार जरिवाना गरेको छ । उक्त होटलले शौचालयको फोहर नालीमा फालेको
थियो ।
    होटल संचालक जगत बैजाली मगरलाई एक हजार नगद जरिवानासहित नालीको सरसफाई गर्न लगाइएको नगरपालिकाका प्रशासन तथा अनुगमन अधिकृत प्रकाश पौडेलले बताए । बुधवार पनि नालीमा फोहर नगर्न र गरे जरिवाना गरिने मौखिक सचेत गराइएको जानकारी पनि उनले दिए ।

No comments:

Post a Comment