हामीले तरकारी पकाउँदा हलेदो वा बेसार मिसाउने गर्छौं । बेसार नराखेको तरकारी देख्दैमा खल्लो हुन्छ र खान पनि उतिसारो मन लाग्दैन । हामी धेरैले तरकारीलाई देख्दैमा राम्रो र खाउँखाउँ लाग्ने बनाउनका लागि बेसार हाल्छौं तर बेसारको खास फाइदाका बारेमा थाहा नहुन पनि सक्छ । बेसारमा औषधिय गुण हुन्छ भन्ने कुरा त हामीलाई मोटामोटी थाहा हुन्छ तर यसले खास के कुरामा फाइदा गर्छ भन्ने कुरा भने थाहा नहुन सक्छ ।
हालै गरिएको एक अध्ययनले हलेदो वा बेसारको नियमित सेवन गर्ने मानिसको मुटु स्वस्थ हुने र हृदयाघातको खतरा कम हुने तथ्य पत्ता लगाएको छ । अझ मुटुको शल्यक्रिया गराएका वा रक्तचाप वा मुटुसम्बन्धी विभिन्न समस्या भएका मानिसहरुमा त हलेदोको सेवन निकै लाभदायक हुने बताइएको छ । खासगरी बाइपास सर्जरी गराएका मानिसमा रक्त प्रवाहमा हुने कमीका कारण मुटुका मांशपेशीमा बढी असर पुग्ने हुनाले त्यस्ता मानिसमा हृदयाघात हुने सम्भावना हुन्छ । तर हलेदोमा त्यस्तो तत्व पाइन्छ जसले मुटुका मांसपेशीलाई स्वस्थ बनाउने मात्र होइन रक्तप्रवाह पनि सन्तुलित पार्दछ र हृदयाघातको खतरा कम गर्दछ । थाइल्याण्डको चियाङमाई विश्वविद्यालयमा भएको यो अध्ययन टोलीका प्रमुख वारवारंग वांगचेरोनले हलेदोको नियमित सेवन गर्ने मानिसमा हृदयाघातको खतरा सेवन नगर्ने मानिसमा भन्दा ६५ प्रतिशत कम हुन्छ ।

No comments:
Post a Comment