गरिबी अनुगमन तथा विश्लेषण प्रणालीमा हुम्ला ७३ औं जिल्ला

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
हुम्ला, ५ बैशाख ।
    नेपाल सरकार तथा अन्य विभिन्न निकायले सञ्चालन गर्ने विकास निर्माणका कार्यक्रमहरूलाई लक्षित समुदायसमक्ष पुर्‍याउन र नयाँ कार्यक्रमको योजनामा वास्तविक लक्षित समुदाय पहिचान गर्नका लागि नेपाल सरकारले अख्तियार गरेको जिल्ला गरिबी अनुगमन तथा विष्लेषण प्रणाली लागू गर्ने हुम्ला ७३ औं जिल्ला भएको छ ।

    जिल्ला विकास समितिको कार्यालयले जिल्लास्थित सरोकारवाला निकायसंगको छलफल तथा जिल्लास्तरीय अनुगमन समितिसमेत गठन गरेपछि हुम्ला ७३ औं जिल्लामा परेको स्थानीय विकास अधिकारी यमलाल अधिकारीले जानकारी दिए । दुई वर्षअघिदेखि नै जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालयमा उक्त प्रर्णाली लागू गर्ने सैद्धान्तिक निर्णय गरेको भएपनि स्थानीय विकास मन्त्रालयको ताकेतामा अनुगमन समिति गठन भएपछि हुम्ला ७३ औं जिल्लामा परेको हो ।
    उनका अनुसार जिल्लावासीको गरिबीको अवस्था तथा अन्य विकास निर्माणका पूर्वाधारहरूको मापन गर्नका लागि एलजी सिडिपी र युनिसेफको सहयोगमा नेपाल सरकारले तयार गरेको उक्त प्रणालीलाई ढिलै भएपनि हुम्ला जिल्ला विकास समितिले आत्मसात गरेको छ । यस प्रणालीले जिल्लाको वास्तविक वस्तुस्थितिलाई बाहिर ल्याउनुका साथै आगामी दिनमा हुम्ला जिल्लाका लागि आवश्यक कार्यक्रम तय गर्नमा समेत सघाउने भएकाले पनि यसलाई आत्मसात गरिएको जिल्ला विकास कार्यालयले जिल्लामा आयोजना गरेको एक कार्यक्रममा जानकारी गराएको हो ।
    जिल्लामा सबै कार्यालयबाट प्रदान गरिने तत्थ्यांकलाई वास्तविक बनाउनका लागि स्थानीय विकास अधिकारीको संयोजकत्वमा एक जिल्लास्तरीय अनुगमन समितिसमेत गठन गरिएको छ । समितिमा जिल्लाका सरकारी कार्यालयबाट पाँचजना प्रतिनिधि, स्थानीय गैरसरकारी संघसंस्था र अन्तर्राष्ट्रियस्तरका संस्थाबाट एक/एक जना गरी ११ जनाको समिति गठन गरिएको र त्यसको सचिवालय जिल्ला विकास समितिको सूचना केन्द्रमा स्थापना गरिएको छ ।

No comments:

Post a Comment