बालबालिका एचआइभी संक्रमणमा

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
धनगढी, २२ चैत ।
बुबाले भारतमा काम गर्दाका बखत गरेको गलत व्यवहारको फलस्वरूप सरेको रोगका कारण कैलालीको गोदावरी गाविस क्षेत्रमा २२ बालबालिका एचआइभी सङ्क्रमणको समस्यामा बाँचिरहेका छन् । सङ्क्रमितमध्ये तीन बालबालिकाका बुबाआमाको केही वर्षअघि भएको मृत्युपछि उनीहरू टुहुरा बनेका छन् । अन्य बालबालिकाका बुबाको यसै रोगका कारण मृत्यु भएपछि उनीहरूलाई सङ्क्रमित आमाहरूले लालनपालन गरिरहेका छन् ।

    एचआइभीको रोकथामका लगि विभिन्न गतिविधि गर्दै आएको गोदावरी प्लसका अनुसार गोदावरी क्षेत्रमा मात्रै अहिले १३३ महिला, पुरुष र बालबालिका एचआइभी सङ्क्रमित छन् । टुहुरामध्ये एकजनाको स्थानीय एक संस्थाले रेखदेख गरिरहेको छ । दुई बालक आफन्तकहाँ आश्रय लिइरहेका छन् । चार वर्षको उमेरमा सङ्क्रमित भई टुहुरा भएका मनोज नेपालीको केही दिनअघि धनगढीको पर्यटकीय क्षेत्र जाखोर ताल क्षेत्रमा सङ्क्रमितको उपस्थितिमा ११ औँ जन्मोत्सव समेत मनाइएको छ । ‘नोकरीका लागि भारत पुगेकाहरूले लहैलहमा लागेर असुरक्षित यौनसम्पर्क गरे, घरमा फर्किंदा श्रीमतीलाई सारे ।’ रोगको सङ्क्रमणबारे बताउँदै एचआइभी सङ्क्रमित दिलबहादुर ओडले बताउनुभयो ।
    गोदावरी प्लसका संयोजकसमेत रहेका ओड आफ्नो क्षेत्रमा एचआइभी समस्या बढ्दै गएपछि रोग रोकथामका लागि अहिले अभियानमा जुटेका छन् । दलितको बाहुल्य रहेको यो गाविसमा अधिकांश व्यक्ति रोजगारीका लागि भारतमा रहेका छन् । सङ्क्रमितहरूले नियमितरूपमा सेती अञ्चल अस्पताल धनगढीबाट एआरटी औषधि खाइरहेका छन् । धनगढी पुगेर औषधि खानुपर्ने हुँदा बिरामीलाई आवतजावत खर्चको समस्या हुनेमात्र नभई कहिले त औषधि पाउनसमेत कठिनाइ हुने गरेको गुनासो बिरामीको छ ।
    विभिन संस्थासँग समन्वय गरी रोगीको उपचार व्यवस्था र विभिन्न आयमूलक गतिविधि सञ्चालन गरिरहेका छौँ, तर सहयोगीे संस्थाले उचित सहयोग नगरेका कारण रोकथाममा कठिनाइ भइरहेको ओडले बताउनुभयो । कुनैबेला समाजमा खुलेर नआउने सङ्क्रमितहरू अभियान सञ्चालनसँगै खुलेर समेत आउन थालेका छन् । क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायलका एचआइभी÷एड्स कार्यक्रम अधिकृत दयाकृष्ण पन्त गएको वर्ष सुदूरपश्चिममा करिब चार हजार ६०० एचआइभी सङ्क्रमित सम्पर्कमा आएकामा यस वर्ष करिब पाँच हजार ५०० सङ्क्रमित उपचारका लागि सम्पर्कमा आएको बताउनुहुन्छ । ‘सुदूरपश्चिमको यो तथ्याङ्क नेपालमा हाल रहेका सङ्क्रमितको ३० प्रतिशत रहेकाले समस्या विकराल बन्दै गएको छ’– अधिकृत पन्तले भन्नुभयो ।

No comments:

Post a Comment