मकैबाली बोटमै सुक्न थाले

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
रोल्पा, ३१ जेठ ।
    लामो खडेरीका कारण बारीमा लगाएको मकै बोटमै सुक्न थालेपछि रोल्पाका किसान चिन्तित बनेका छन् । वैशाखको अन्तिम सातातिर लगाएको मकैबाली लामो खडेरीका कारण बोटमै सुक्न थालेपछि भोक मरी पर्नसक्ने भन्दै किसानहरू चिन्तित बनेका हुन् । रोल्पाका अधिकांश भू–भाग पहाडीक्षेत्र भएकै कारण सिंचाइ नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । जेठको पहिलो सातातिर लगाई सक्नुपर्ने वर्षे खेती असार लाग्न लाग्दासमेत लगाउन नपाउँदा भोक मरी पर्ने संभावना रहेको किसानहरू बताउँछन् ।
पानी पर्दैन, लगाको बाली पनि बारीमै सुक्न थालिसक्यो यो वर्ष के खाएर बाच्ने हो खै भन्दै चिन्ता व्यक्त गर्छन् रोल्पा पाङ निवासी सन्देश केसी । उनी जस्तै रोल्पाका अधिकांश किसानलाई भोकमरीमा पर्ने चिन्ताले निकै सताउन थालेको छ । लामो समयसम्म वर्षा नभएपछि खेतबारीमा राखेको मलसमेत सुक्न थालेको स्थानीय भिष्मा बर्माले बताए । जलवायु परिवर्तसंगै लामो खडेरीका कारण रोल्पाका अधिकांश भागका किसानले खेती गरेका छैनन् भने लगाएको बाली पनि सुक्नथालेकाले थप चिन्ता थपिदिएको छ ।

No comments:

Post a Comment