जग्गा माग्दै नगरविकास समितिको कार्यालयमा तालाबन्दि

Bookmark and Share 
प्रशासनलगाएर ताला फोडियो   
संघद्वारा थप आन्दोलन गर्ने तयारी 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १५ असार ।
    नमूना जडिवुटी संकलन तथा व्यवसाय केन्द्र सुर्खेतमा स्थापनाका लागि आवश्यक जग्गाको माग गर्दै सुर्खेत उद्योग वाणिज्य संघले उपत्यका नगरविकास समिति सुर्खेतको कार्यालयमा तालाबन्दि गरेको छ । समितिले जग्गा उपलब्ध गराउने सहमति गरेर सम्भौता गर्न नमानेपछि संघले शुक्रवार दिउँसो कार्यालयमा तालावन्दि गरको हो । समितिले वीरेन्द्रनगरस्थित प्लट नं. १३ को ९ कठ्ठा जग्गा मासिक दुई हजारका दरले उपलब्ध गराउने भनेपनि हाल सम्झौता गर्न नमानेका कारण तालाबन्दि गर्न बाध्य भएको संघका अध्यक्ष पदमबहादुर शाहिले बताए ।
    सुर्खेतमा जडिबुटी संकलन केन्द्र स्थापना गर्नका लागि वाणिज्य तथा आपूर्ती मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघवीच सम्झौता भइसकेको अवस्थामा उपत्यका नगरविकास समितिले जग्गा उपलब्ध नगराउँदा जडिबुटी केन्द्र स्थापना गर्ने विषय अन्यौलमा परेको छ । संघले आफ्ना मागहरुका बारेमा ३ दिन भित्रमा पनि कुनै निर्णय नभए थप आन्दोलनका कार्यक्रम तयगर्ने चेतावनी समेत दिएको छ । सुर्खेतको प्रतिष्ठासंग जोडिएको सवालमाथि तुसारापात गर्ने षड्यन्त्र भएको भन्दै यसका विरुद्ध जिल्लावासी, उद्योगी व्यापारी व्यवसायीहरु आन्दोलनमा उत्रन संघले अपिल समेत गरेको छ ।
    उपत्यका नगरविकास समितिले भने अनुसार मासिक दुई हजार दिने गरी सम्झौत गर्न नमानेपछि आन्दोलन गर्नु परेको संघका अध्यक्ष शाहीले बताए । समितिसंग सम्वन्धित पार्टी र व्यक्तिहरुसंग व्यापक छलफल गरेर निर्णयसमेत भइसकेको अवस्थामा सम्भौता गर्न नमानेको उनले बताए । यता उपत्यका नगरविकास समितिले कार्यालयमा लगाइएको ताला प्रहरी प्रशासनको रोहवरमा फोडिएको छ । एउटै भवनमा दुईवटा कार्यालय भएको भन्दै संघले समितिको कार्यालयमा नभई शहरी विकास तथा भवन डिभिजन कार्यलयमा तालाबन्दि गरेकले प्रहरी प्रशासनले ताला फोडेको जनाइएको छ । आन्दोलनका क्रममा लगाइएको ताला प्रहरी प्रशासन लगाएर खोलिएका कारण संघका पदाधिकारीको छलफलबाट शनिवार थप आन्दोलनका कार्यक्रम तय गरिने संघका अध्यक्ष शाहिले बताए ।
    उनका अनुसार समितिसंग भएको सहमतिलाई सम्भौता गर्दा अर्को निर्णय गरेर सुर्खेतमा स्थापन हुन लागेको केन्द्रलाई अवरोध गर्न खोजिएको छ । संघले माग गरेको जग्गा व्यवसायको प्रयोजनका लागि भएकाले मापदण्ड बनाएर उपलब्ध गराइने विषयमा छलफल भइरहेकावेला संघले कार्यालयमा तालाबन्दि गरेको उपत्यका नगरविकास समितिका अध्यक्ष इश्वरभक्त सुनारले बताए । व्यापारीक प्रयोजनका लागि भएकाले प्रति वर्ग फिट १ रुपैयाँ वा ५० पैसाका दरले केन्द्रलाई जग्गा उपलब्ध गराइने विषयमा समितिमा छलफल भइरहेको उनले बताए । प्रति वर्गा फिट एक रुपैयाँका दरले ९ कठ्ठा जग्गाको मासिक २९ हजार हुने र ५० पैसा प्रति वर्ग फिटका दरले १४ हजार हुने समितिले जनाएको छ । कुन दरमा जग्गा भाडामा दिने भन्ने विषयमा छलफल चलिरहेकाले दिने वा नदिने भन्ने निर्णयसमेत नभएको उनले बताए । संघले मासिक २ हजार भन्दा वढी शुल्क नतिर्ने भनेर कार्यालयमा तालाबन्दी गरेको उनले बताए ।

No comments:

Post a Comment