कल्याण र दशरथपुरका १० घरमा आगजनी

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २९ जेठ ।
    वनमा अवैध घरटहरा बनाएको भन्दै बनका कर्मचारीले कल्याण र दशरथपुरका १० घरमा आगजनी गरेका छन् । सोमवार विहान जिल्ला बन कार्याल र सशस्त्र प्रहरीको टोलीले कल्याण गाविस वडा नं. ५ का सात घर र दशरथपुर गाविस वडा नं. ६ का तीन घरमा आगजनी गरेको हो ।
    सोही क्रममा कल्याणका मानबहादुर वलीलगायत तीनजनालाई गस्तीले नियन्त्रणमा लिएको बताइएको छ । कल्याणका अशोक वलीका अनुसार बन र सशस्त्र प्रहरीको एक टोलीले धमाधम घरहटरामा आगो लगाएको बताए । उनका अनुसार आगजनीबाट घर र घरमा रहेका सामानहरु पूर्णरुपमा जलेर नष्ट भएका छन् । सोही क्रममा देउती बज्यै सामुदायिक वनमा पनि आगो लागेको जानकारी वलीले दिएका छन् ।
    सो कार्यको विरोधमा त्यस क्षेत्रका बासिन्दाहरुले धुलियाविट—भेडावारी सडक खण्ड अवरुद्ध बनाएका छन् । उनीहरुले सडक अवरुद्ध बनाएपछि यात्रुहरु पैदल हिंडेर गएका छन् ।
    यता जिल्ला वन कार्यालयले भने बन अतिक्रमण गरेको हुनाले खाली घरमा आगो लगाइएको जनाएको छ । जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरसियाले कल्याणका सात र दशरथपुरका तीनवटा खाली घरमा आगो लगाइएको बताए । उनका अनुसार आगो लगाइएका घरहरु खाली रहेका थिए । साथै उनले मानबहादुर वलीलाई मात्रै निगरानीमा राखिएको दावी गरेका छन् ।

No comments:

Post a Comment