काठमाडौंऽ ३१ जेठ ।
केही दिन पहिलेदेखि नै एसएलसीको नतिजा सार्वजनिक भयो रे भनेर ठूलै हल्लीखल्ली भयो । सञ्चारमाध्यमका प्रतिनिधिले परीक्षा नियन्त्रणमा कार्यालयमा फोन गरेर सोधखोज गरे । कार्यालयले अझै बेला नभएको, असारको पहिलो हप्तासम्म लाग्ने बतायो । जताततै चासो र सरोकार हुने भएकाले पत्रकारले फेरि पनि सोधीखोजी गर्नुपर्यो । परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीमध्ये कोहीले एक हप्ताभित्र हुन्छ भने, कोहीले यही महिनाभित्र हुन्छ भने । यो महिना भनेको बिहीबारसम्म मात्र हो । त्यसैले बुधबार या बिहीबारसम्म नतिजा आउँछ भनेर मंगलबार धेरैले लख काटिसकेका थिए । बुधबार त परीक्षा नियन्त्रण कार्यालयले आजै नतिजा आउँछ, तयारी भैरहेको छ भन्यो ।
लौ नतिजा आउँदैछ भन्ने खबर थाहा भएपछि विद्यार्थी, अभिभावक र शिक्षक सबैलाई छटपटी बनाएको छ । राजधानीमै भएका कतिपय परीक्षा नियन्त्रण कार्यालयमा पुगेर धर्ना कसेका छन् । कति रेडियो, टेलिभिजन, अनलाइन र वेवसाइटमा आँखा र कान लगाउन व्यस्त छन् । जे होस् यतिबेला धेरैजना एसएलसी नतिजाको व्यग्र प्रतीक्षामा छन् । परीक्षा नियन्त्रण कार्यालयले बेलुकी ५ बजेपछि परीक्षाफल प्रकाशित गर्ने बताइसकेको छ । आखिर नतिजा नआउँदै यति ठूलो खैलाबैला र छटपटी गर्नुपर्छ त ? ‘स्वभाविक नै हो, विद्यालय शिक्षाको अन्तिम खुड्किलो १२ कक्षा नहुँदासम्म यस्तो हुन्छ’ शिक्षाविद् डा. विद्यानाथ कोइरालाले भन्नुभयो ।
विद्यालय शिक्षाको अन्तिम खुड्किलो भएको र यसपछिको शिक्षाले जीवन डोहोर्याउने बाटो पक्डिने भएकाले पहिलेदेखि नै एसएलसी परीक्षाको महत्व हुँदै आएको छ । यो महत्व, चासो र सरोकार अझै कम भएको छैन ।
कता ऊबेलाको हैरानी, कता अहिलेको सजिलो
५/७ वर्षअघिसम्मको अनुभव तपाईंमध्ये धेरैलाई राम्रोसित थाहा छ । त्यतिबेला गोरखापत्रमा मात्र एसएलएसीको नतिजा आउँथ्यो । राति नतिजा प्रकाशित भएको कुरा भोलिपल्ट बिहान रेडियो नेपालको समाचार सुनेर थाहा हुन्थ्यो । त्यसपछि गोरखापत्र खोज्न बजार जानुपथ्र्यो । त्यही दिन भने गोरखापत्र पनि ढिलो मात्र निस्कन्थ्यो । गोरखापत्र कार्यालय अगाडि पत्रिका किन्नेको भीडले लाठीचार्ज नै गर्नुपर्ने अवस्था आउँथ्यो । राजधानीका मान्छेले त समयमा पत्रिका पाउँदैनथिए, राजधानी बाहिरकालाई त परको कुरा । ‘मैले पनि चार दिनपछि मात्र थाहा पाएको’ सिन्धुली घर भएका शिक्षाविद् कोइरालाले भन्नुभयो ।
गोरखापत्र खोज्न निकै भौंतारिनुपर्ने र बल्लतल्ल धेरैपछि मात्र नतिजा थाहा पाउने यो अनुभव धेरैको छ । तर पछिल्ला केही वर्षहरुमा यो झमेला र हैरानीबाट सबै मुक्त भएका छन् । नतिजा वेवसाइट, एसएमएस र टेलिफोनबाट समेत होइन, स्थानीय रेडियोबाट समेत उतिखेरै थाहा पाउन सकिन्छ । भोलिपल्ट निस्कने पत्रिका कुर्नै पर्दैन । त्यसमाथि पोहोर सालदेखि त परीक्षा नियन्त्रण कार्यालयले पोहोरदेखि त दिउँसै परीक्षाफल प्रकाशित गर्न थालेको छ ।
No comments:
Post a Comment