नुन कम खानेलाई क्यान्सरको सम्भावना कम

    खानामा नुन कम राखेर खाने मानिसलाई उच्च रक्तचाप तथा मुटु सम्बन्धि रोगको खतरा केही कम हुने कुरा त धेरै जनालाई थाहा होला । तर नुन कम भएको खाना खाने मानिसमा क्यान्सर जस्तो असाध्य रोग लाग्ने सम्भावना समेत कम हुन्छ भन्ने कुरा भने थाहा नहुन सक्छ । थाहा होस् पनि कसरी हालैमात्र एक अनुसन्धानले यस्तो कुरा पत्ता लगाएको हो । विश्व क्यान्सर अनुसन्धान कोषले गरेको अनुसन्धानले भोजनमा नुन लगायतका लवणको मात्रा कम गर्ने मानिसमा पेटको क्यान्सर हुने सम्भावना कम हुन्छ । जो मानिसले बढी नुन हुने ब्रेड जस्ता तयारी खाद्य पदार्थ कम खान्छ र तरकारीमा समेत नुनको मात्रा नियन्त्रण गर्छ उसमा पेटको क्यान्सर हुने सम्भावना घटेर जाने शोधको निष्कर्ष छ ।
    कति नुन खानु उपयुक्त ? भोजनमा धेरै नुन हुनु रक्तचापका लागि समेत हानिकारक हुन्छ र यसले अन्य मुटुरोग तथा हृदयाघात जस्ता समस्याको समेत खतरा बढाउँछ । यतिमात्र होइन बढी नुनले क्यान्सर समेत गराउँछ । त्यसैले हामीले भोजनमा नुनको मात्रा नियन्त्रणमा अति सावधानी अपनाउनुपर्ने भएको छ । भोजनमा प्रत्येक दिन ६ ग्रामसम्म मात्र नुन खानु स्वास्थ्यको लागि लाभदायक मानिन्छ । यो भनेको लगभग एक चिया चम्चा जत्ति हो । तरकारी, अचार तथा अरु खानामा गरी हामीले अवश्य पनि यो भन्दा बढी नुन खाइरहेका हुन्छौं । यसले अवश्य पनि हामीलाई पेटको क्यान्सरतर्फ अग्रसर गराइरहेको कुरा थाहा पाउनैपर्ने हुन्छ । हामीले मात्र कहाँ हो र विश्वमा हरेक व्यक्तिले प्रत्येक दिन औषतमा ८.६ ग्राम नुन खाने गरेको क्यान्सर अनुसन्धान कोषको तथ्यांकले देखाउँछ । यदि नुनको यो मात्रालाई ६ ग्राममा झार्न सकेमा पेटको क्यान्सरमा १४ प्रतिशतले कमी हुने कोषको भनाइ छ । खानलाई स्वादिलो बनाउन मात्र होइन नुन लगायतका लवण शरीरका लागि अत्यावश्यक पनि हुन्छन् । तर यस्ता लवणको मात्रा आवश्यकता भन्दा बढी भयो भने त्यो हानिकारक हुन्छ । त्यसैले आफैले तयार पार्ने तरकारी तथा अचार लगायतका खाद्य पदार्थमा नुन कम राख्ने गर्नु उपयुक्त हुन्छ । साथै नुनको मात्रा बढी हुने विभिन्न फास्टफुड पनि कम मात्र खानु हितकर हुन्छ ।

No comments:

Post a Comment