दोस्रो विहेको संस्कृति

Bookmark and Share 
यशोदा अधिकारी
    हास्यकलाकार हरिवंश आकचार्यले दोस्रो विवाह गरेको एक हप्तापछि साहित्यकार कृष्ण धरावासीले पनि दोस्रो विवाह गरेको खबर आयो । आफ्ना श्रीमती गुमाएको एक वर्षपछि उनीहरुले दोस्रो विवाह गरेका यी दुई उस्तै खाले घटनाले सांस्कृतिक क्षेत्रमा केही बहस सिर्जना भएको छ । यी घटनाबारे लेखिरहँदा तीन वर्षअघि दशैंको बेला जन्मस्थल काभ्रेको मच्छे पुगेको क्षण सम्झिएँ । प्राथमिक तहमा गणित पढाउने शिक्षक केशव मैनाली भेटिनुभयो । उहाँले मेरो वर्तमानलाई लक्षित गर्दै भन्नुभएको थियो ‘राँडी आमाले दु:ख गरेर पढाएकी थिइन्, आकाशको तारा भएर चम्कियौं ।’ सरले भन्नुभएको यो वाक्य मेरो दिमागभरि आज पनि छचल्किरहेको छ । हो मैले सम्झिने गरी बुबाको अनुहारसमेत हेर्न पाइन । ३४ वर्षकी मेरी आमासाग सन्तान को मुख हेरेर बस्नुको विकल्प थिएन ।
    किनकि कथित समाजको अगाडि उहाँ ‘राँडी’ हुनुभयो । लोग्नेलाई अघि लागाइस् ठीक्क पर्‍यो भन्नेहरु पनि थुप्रै थिए । २१ औं शताब्दीको यो समाज, जहाँ श्रीमान्को मृत्युपछि महिलाहरु ‘राँडी’ हुनुपर्छ बोक्सीको आरोप सहनुपर्छ तर श्रीमतीको मृत्यु भएमा श्रीमान्लाई ‘राँडो’ पनि भनिंदैन र बोक्सोको आरोप पनि लगाइंदैन । विधवा श्रीमतीले भने वर्षदिनसम्म पनि सेतो लुगा लगाएर बस्नुपर्छ त्यति मात्र कहाँ हो र वर्षेनी श्रीमान्को मृत्युको तिथिमा श्राद्ध गर्नुपर्छ तर हाम्रो समाजमा श्रीमती गुमाएका श्रीमानहरु भने नयाँ श्रीमतीका साथ रमझम पूर्ण जीवनको सुरुवात गर्न थाल्छन् । यो कस्तो परम्परा ? यो कस्तो संस्कार अनि संस्कृति ? यसरी हाम्रो पुरातनवादी समाज, त्यो समाजको सामन्ती सोच र संस्कृतिले यतिसम्म जरो गाडेको छ कि, बाल बालिकालाई शिक्षा दिने गुरुमा समेत यसको जड छ । त्यसो भन्नुमा मैनाली सरको कुनै दोष छैन, सायद उहाँले नकारात्मक रुपमा त्यसो भन्नुभएको होइन । दोष त केवल कथित परम्परावादी सोच, पुरुषवादी मानसिकताबाट ग्रसित संस्कारलाई दिनुपर्छ मैनाली सरको प्रस्तुति समाजको एक द्योतक हो । विधवाहरु कतिपयका आँखामा त ‘लोग्ने टोकाइ’, ‘बोक्सी’ या यस्तै अनेक आरोपका पात्र हुन् ।
    हामीकहाँ श्रीमान्को मृत्युपछि महिला निकै कमजोर हुन्छन् । शोकाकूल हुन्छन् र समाजका अगाडि निकै दयनीय भावमा प्रस्तुत हुन्छन् । त्यसबेला उनीहरुलाई समाजका उपल्ला मानिसहरुले बोक्सीको आरोप लगाउने, सासुससुरा र छिमेकीहरुले लोग्ने टोकेको भन्दै यातना दिने गरेका उदाहरण प्रशस्तै छन् । त्यसो त लोग्ने मरेपछि परपुरुषसंग आँखा जुधाएर सिधा हेर्न नहुने, बोल्न नहुने, वर्षदिनसम्म सेतो पहिरनमा बस्नुपर्ने, हरेक तिथिमा श्राद्ध गर्नुपर्ने, रातो पहिरन जीवनभरि नै लगाउन नहुने, सिन्दुर पोते, चुरा लगाउन नहुने सामन्ती संस्कृतिका कारण धेरै महिला कर्मलाई दोष दिन्छन् र भाग्यलाई सरापेर कष्टकर जीवन काट्न बाध्य हुन्छन् भने श्रीमतीको मृत्यु भएपछि श्रीमानले केही पनि गर्नु नपर्ने ? यो कस्तो परम्परा ? यस्तो परम्परामा रहेका दुई पुरुष धरावासी र आचार्यले आ–आफ्ना श्रीमतीसंग बिछोड हुँदा अविरल आँसु बगाएका र शोक स्मरण लेखेको पनि देखिएको हो । धरावासीले शोकका नाममा कृति नै प्रकाशन गरे । हरिवंश पनि झण्डै एकवर्षसम्म शोकमा छु भनेर धेरै निस्किएनन् ।
    एक वर्षछि दोस्रो श्रीमतीका साथ देख्दा दर्शकहरुले के सोचे होलान् ? साधारण नागरिकको जीवनमा यस्ता घटना भएका भए शायद यति धेरै चासो पनि हुन्नथ्यो । कलाकारितामा त्यति धेरै राष्ट्रिय तथा अन्तरौष्ट्रिय ख्याती कमाएका आचार्यले दोस्रो विवाह गर्दा उनका दर्शक घटे वा घटेनन् ? त्यो पछि थाहा हुँदै जाला । जे होस् उनले दोस्रो विवाह नगरेका भए हुन्थ्यो भन्ने कतिपय दर्शकका चाहना सामाजिक संजाल फेसबुकमार्फत पनि व्यक्त भइरहेकै छ । मीरा त तारा भइन् भनेर गीत लेखेर गाउने हरिवंशले किन रमिलालाई अर्को उज्यालो तारा देखे ? श्रीमती नभए जीवन लथालि· हुँदोरहेछ, उनी आफैंले स्वीकार गरेका छन् रमिलासंग दोस्रो विवाह गरे भनेर । हुनत उनलाई विवाह गर्न दबाब दिनेपनि त्यही मानसिकताबाट प्रेरित भएकाहरु नै हुनुपर्छ फेरि पनि दोष हरिवंशलाई होइन, समाज र संस्कारलाई जान्छ । के मीरा बाँचेर हरिवंश नभइदिएका भए मीरा दिदीले दोस्रो विवाह गर्थिन् ?
    असम्भव, समाजबाट शायद उनी बहिस्कारमा पर्थिन् होला, कतिको नजरमा उनी बोक्सी कहलिन्थिन् कि ! उनले ठाँटिएर हिंड्न पाउन्नथिन् । उनले भाग्यलाई दोष दिएरै बाँकी जीवन काट्नुपथ्र्यो तर हरिवशंले त्यसो गर्नुपरेन । उनले नयाँ जीवन पाएका छन् । कुरा रह्यो धरावासीको । उनी त सीता जीवित छँदै दास्रो बिहे गर्छन् जस्तै देखिन्थे । साहित्यिक वृत्तमा उनका व्यवहार र हाउभाउले त्यस्तै जनाउँथ्यो भनेर चर्चा चलेकै हो । त्यसो त उनले सीताजी भनेर श्रीमतीलाई आफ्ना रचनाहरुमा सम्मानका साथ पनि उभ्याएका थिए । उनको उपचारमा पनि निकै दु:ख गरेकै हुन् । अन्तिम अवस्थामा सीताले जीवन कहानी कृति नै प्रकाशित गरिन् । उमेरले निकै बुढाजस्ता देखिने उनले पनि दोस्रो विवाह गर्छन् भन्ने उनका पाठकहरुलाई पनि लागेको थिएन होला । हरिवंशले विहे गरेको सातापछि उनलाई अलि सजिलो भएछ क्यारे बिहे गरेको सार्वजनिक गरे ।
    हुनत उनीहरुजस्ता प्रतिष्ठित व्यक्तिहरुले चाहेका भए अविवाहित महिलाहरुसंग पनि विवाह गर्नसक्ने कुरा स्पष्ट छ । त्यसो गर्ने पुरुषहरु पनि धेरै छन् समाजमा । दुवैले जो–जोसंग दोस्रो विवाह गरे उनीहरु उनका प्रतिष्ठाका कारण पनि त जोडिन चाहन्थे होलान् । तर दोस्रो विवाहको नाममा दुई लब्ध प्रतिष्ठित पुरुषहरुले आ–आफ्नो प्रतिष्ठा नघटाएका भएहुन्थ्यो भन्ने लाग्छ । (गोरखापत्रबाट)

No comments:

Post a Comment