गैरसुकुम्बासीलाई कारबाहीको माग

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १९ असार ।
    अखिल नेपाल सुकुम्बासी संघ सुर्खेतले गैरसुकुम्बासीहरुलाई कारबाही गर्न माग गरेको छ । संघले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी गैरसुकुम्बासीहरुलाई कारबाही गरी बास्तविक सुकुम्बासीहरुलाई बैकल्पिक बसोबासको व्यवस्था मिलाउन माग गरिएको हो ।
    लाटिकोइली गाविस–८ स्याउलीबजारमा २०४० सालदेखि ऐलानी जग्गामा बस्दै आए रामबहादुर बादी र विष्णु पाण्डेको घरमा असार १५ गते डोजर लगाएर भत्काउने काम गरिएको बताउँदै विज्ञप्तिमा त्यहींकै रुक्मीदेवी विक, तीर्थादेवी थापा, चनाके गाइने गैरसुकुम्बासी भएको दावी गरिएको छ । बादी र पाण्डेले भोगचलन गर्दै आएको जग्गाको अस्थायी पूर्जासमेत उनीहरुले नक्कली बनाएको आरोप लगाउँदै उक्त जग्गामा बसोबास गर्दै आएकालाई अर्को बैकल्पिक व्यवस्था नगरिकनै घरटहरा भत्काउने कार्यप्रति संघले खेद प्रकट गरेको छ ।
    बलजफ्ती डोजर लगाएर धनमाल तथा सरसमानमा क्षति पुर्‍याउने काम भएकोमा आपत्ति प्रकट गर्दै घटनाको सत्यतथ्य छानविन गरी पीडितहरुलाई उचित न्याय दिलाउन माग संघका सचिव भक्त केएसद्वारा जारी विज्ञप्तिमा गरिएको छ ।
    यसैगरी उक्त घटनाप्रति एनेकपा माओवादी लाटिकोइली गाउाकमिटीले पनि विरोध जनाएको छ । कमिटीका सहइन्चार्ज ताराप्रसाद आचार्यले विज्ञप्ति प्रकाशित गरी सुकुम्बासी भए नभएको छानविन गर्न जोड दिएका छन् । 

No comments:

Post a Comment