नेपालगन्जबाट दैनिक लाखौंको सुपारी तस्करी

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, २९ साउन ।
    नेपालगन्जका ब्यापारीहरुले अवैधरुपले भारतमा सुपारी, ल्वाङ र अलैची तस्करी गर्दै आएका छन् । दैनिक लाखौं मूल्यको सुपारी नेपालगन्ज नाका हुँदै भारततर्फ जाने गरेको छ । बाँकेका प्रहरी प्रमुखमा फेरिए लगत्तै सुपारी, ल्वाङ र अलैचीको अवैध निकासीमा कडाइ भइरहेको छ । केही महिना यता सीमाका गाउँमा राखिएका गोदामबाट भारतमा निकासी हुँदै गर्दा २० क्वीन्टल सुपारी, २ बोरा अलैंची र २० किलो ल्वाङ बरामद गरेको बाँकेका डिएसपी उदय तामाङले जानकारी दिए । उनले तस्कर भने फेला पर्न नसकेको बताए ।
    तेस्रो मुलुकबाट आयात गरिएको सुपारी जस्ता सामानहरु भारतमा निकासी गर्न नपाइने दुई देशबीच सम्झौता भएकाले त्यसै अनुसार कडाइ गरिरहेको बाँकेका एसपी बिक्रमसिंह थापाले बताए । उनले नेपालगन्जलाई छाडेर सीमामा गोदाम राख्नुले व्यापारीको नियत प्रष्ट भएको बताए । ‘सीमामा ट्रकका ट्रक सुपारी लगेर कहाँ बिक्री हुन्छ ?’ सुपारीको ब्यापक तस्करी भइरहेको बताउँदै एसपी थापाले भने, ‘त्यो राख्न उनीहरुले नेपालगन्जमा गोदाम पाएनन्, अब तपाई आफै बुझ्नुहोस् त्यो कहाँ बिक्री हुन्छ ।’
    गैरकानुनी भएकाले कुनैपनि हातलमा सुपारी भारत निकासी गर्न नदिने प्रहरी उपरीक्षक थापाले चेतावनी दिए । नेपालगन्जमा पूर्वी नेपाल र तेश्रो मुलक इण्डोनेशियाबाट काठमाडौं हुँदै सुपारी, ल्वाङ र अलैंची ल्याइन्छ । भारतमा महंगोमा बिक्री हुने भएकाले यहाँका ब्यापारीहरुले त्यहाँ पठाउने
गरेका छन् ।
    नेपालगन्ज उद्योग वाणिज्य संघले भने सीमामा गोदाम राखेको भएपनि भारत निकासी नगरेको दावी गरेको छ । संघका अध्यक्ष सुनिलकुमार शर्माले नेपालभित्र इजाजत लिएर कर तिरेको कारोबार भएकाले सुपारी ओसार पसारमा अनावश्यक दु:ख दिइरहेको दावी गरे । ‘ देशभित्र पनि कारोवार गर्न  नपाउने ?’ अध्यक्ष शर्माले भने, ‘प्रहरीले दु:ख दिइरहेपछि हामीले तस्करलाई संरक्षण गरेका होइनौं, ब्यापारीहरुको पीरमर्का बुझेका हौं ।’
    संघका अध्यक्ष शर्माले सुपारीलगायतका बस्तुहरु भारतमा निकासी नगरेको दावी गरेपनि नेपालगन्ज भन्सारका प्रमुख पुष्पराज श्रेष्ठले त्यस्ता बस्तुको अवैध निकासी भइरहेको बताए । ‘भारत निकासी भइरहेका त्यस्ता बस्तुहरु बरामद गरेका छौं’ उनले भने । बाँकेका प्रहरी प्रमुख थापाले अवैध कारोबार रोक्न खोज्दा सहयोग गर्नुका साटो संघले उल्टो प्रहरीबिरुद्ध लागिपरेको बताए ।

No comments:

Post a Comment