जिल्लाको अभिभावकीय संस्था बन्न सुझाव

Bookmark and Share 
स्याकको १८ औं बार्षिकोत्सव 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २९ साउन ।
    सुर्खेतको सामाजिक क्षेत्रमा काम गर्दै आएको समाज जागरण केन्द्र (स्याक) नेपाललाई जिल्लाको सामाजिक संघसंस्थाहरुको अभिभावकीय संस्था बन्न सुझाव दिइएको छ । विगत १८ बर्षदेखि सुर्खेतमा स्याकले शिक्षा, एचआईभी एड्सलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा यहाँका धेरै संघसंस्थाहरुको अभिभावकीय संस्था बन्नुपर्ने सुझाव दिइएको हो ।
    स्याकको १८ औं बार्षिकोत्सव एवं १७ औं साधारणसभाको अवसरमा सोमवार आयोजित कार्यक्रमका सहभागीहरुले स्थानीय गैरसरकारी संघसंस्थाहरुको तुलनामा स्याकको स्थान सवैभन्दा अग्रणी भएकोले अभिभावकीय संस्थाको भूमिका खेल्न सुझाव दिएका छन् । उनीहरुले संस्थाको कार्यक्षेत्र सुर्खेत, दैलेख र कालिकोटमात्रै भएकोले अव अन्य क्षेत्रमा पनि विस्तार गर्न आग्रह गरेका छन् । जिल्लाको शिक्षा, समाज, एचआईभी रोकथाम नियन्त्रण, आयआर्जन तथा जीविकोपार्जनलगायत विभिन्न क्षेत्रमा संस्थाले गरेको कार्यको सहभागीहरुले उच्च मूल्यांकन गरेका छन् ।
    कार्यक्रममा स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले स्याकले समाज विकासमा पुर्‍याएको कामको सह्राना गर्दै लक्ष्य अनुसारको काम गर्न सुझाव दिए । उनले संघसंस्थाहरु पारदर्शी हुनुपर्ने, लक्षित बर्गसम्म पुग्न सफल भए
मात्रै संस्थाहरु पनि सफल हुने बताए । सो अवसरमा नेपाली कांग्रेसका कोषाध्यक्ष गोविन्द कोइराला, एमालेका उपाध्यक्ष शिवप्रसाद उपाध्याय, स्याकका संस्थापक अध्यक्ष डा. सुरेश तिवारी, स्थानीय शान्ति समितिका संयोजक मोहन थापा, हेल्भेटासका निलकण्ठ पाण्डे, पैरवी मञ्चका धना जिसीलगायतले स्याकले समाज परिवर्तनका लागि गरेको कामको सह्राना गरे ।
    संस्थाले गतबर्ष गरेको १४ वटा कार्यक्रमबाट ३३ हजार ५२ जना लाभान्वित भएको दावी गर्दै आगामी बर्ष त्यो संख्या अझ बढ्ने जनाएको छ । संस्थाले गतबर्ष बालमौलिक परियोजना, खाद्य सुरक्षाका लागि स्थानीय उत्पादकत्व बृद्धि, मातृ तथा शिशु स्वास्थ्य परियोजना, जल उपयोग गुरुयोजना निर्माण, जलस्रोत व्यवस्थापन कार्यक्रम, समुदाय तथा घरमा आधारित हेरचाह कार्यक्रम, साथसाथ परियोजना, एकीकृत एचआईभी रोकथाम तथा हेरचाह, राजनीतिमा महिला सहभागिता, महिला समूहको सशक्तिकरणमार्फत सामुदायिक शान्ति प्रद्धर्वनलगायतका कार्यक्रमहरु संचालन गरेको थियो ।
    संस्थाको प्रगति वितरण प्रस्तुत गर्दै महासचिव खगेन्द्रप्रसाद सापकोटाले गत आर्थिक बर्षमा संस्थाले विभिन्न दातृ निकायसंगको साझेदारीमा १४ वटा कार्यक्रम गरेको र त्यसबाट ३३ हजार जना लाभान्वित भएको बताए । संस्थाले आगामी बर्ष पनि शिक्षा, स्वास्थ्य, आयआर्जन तथा जीविकोपार्जन, शान्ति प्रवद्र्धन र संस्थागत विकासलाई जोड दिएको छ । उनले आगामी बर्ष अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा अभियान कार्यक्रमलाई निरन्तरता दिने, विद्युतीय पुस्तकालयको विकास गर्ने, शैक्षिक स्रोत संस्थाको रुपमा संस्थालाई विकास गरिने, एचआईभी न्यूनीकरणका लागि पहल गर्ने, प्रकोप व्यवस्थापनका लागि जनचेतना जगाउने कार्यक्रम गर्ने, कृषि पशुपालनमा जोड दिने क्षमता, सीप र प्रविधिमा सहयोग गर्ने, पूर्वाधार विकासका कार्यत्रमहरु संचालन गरिने योजना रहेको जानकारी दिए ।
    यस्तै संस्थाका कोषाध्यक्ष गंगा गुरुङले गत आर्थिक बर्षको २ करोड ९५ लाख ५१ हजारको र आगामी बर्षको ३ करोड २८ लाख ४३ हजारको प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् । कार्यक्रम स्याकका अध्यक्ष गोपिकृष्ण ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment