महिलाको मात्रै छुट्टै सहर

    छात्राहरुले मात्र पढ्ने कन्या स्कुल त हाम्रैमा छन् । तर साउदी अरेबियामा भने महिलाहरु का लागि छुट्टै सहर नै बन्ने भएको छ । महिला अधिकारमा निकै कमजोर मानिएको मुस्लिम मुलुक साउदी अरेबियाले महिलाका लागि भन्दै निकै ठूलो कदम उठाउँदैछ । साउदी सरकारले एउटा यस्तो सहरको निर्माण गर्दैछ जसमा केवल महिलाहरुको मात्र बसोबास रहनेछ । उक्त औद्योगिक सहरमा महिलाहरुले शहरिया कानुन मुताविक आफूलाई मन लागेको जागीर गर्न पाउनेछन् । सहरमा केही कम्पनीहरु हुनेछन् जसमा केवल महिलाले मात्र काम गर्नेछन् ।
    साउदी इन्डस्ट्रियल प्रपर्टीले उक्त औद्योगिक सहरको नक्सा तयार पारिसकेको छ । नगर तथा ग्रामीण मन्त्री मन्सुर बिन मितेबले उक्त प्रस्तावित सहरका लागि हाफूफ विमानस्थल नजिकैको जमीन प्रयोग गर्ने मन्जुरी दिइसकेका छन् । आउँदो वर्षबाट महिला सहर निर्माणको काम सुरु हुने बताइएको छ । हुनत साउदी अरेबियाको सहरिया कानुनले महिलाहरुलाई पुरुषसंग काम गर्न रोक लगाएको छैन । तरपनि परम्परावादी समाजका कारण साउदीका केवल १५ प्रतिशत महिला मात्र कामकाजी छन् । त्यसैले देशको विकासमा महिलाको सहभागिता बढाउनका लागि यो महिला सहरको कल्पना गरिएको सरकारको भनाइ छ । जहाँ महिलाले आफ्नो इच्छा तथा योग्यताको भरपुर उपयोग गर्न सक्नेछन् । यो पहिलो महिला सहरको निर्माणपछि अर्को महिला सहर पनि बनाउने सोच साउदी अधिकारीहरुको छ ।

No comments:

Post a Comment