एउटा अपार्टमेन्टको मूल्य ८ अर्ब ९० करोड

    सामान्यतया एउटा अपार्टमेन्टको मूल्य कति होला ? धेरैले सोक्लान् दशौं हजार, केही लाख अथवा केही करोड । तर, अमेरिकाकै व्यस्त मानिने न्यूयोर्क सहरस्थित एउटा अपार्टमेन्टको मूल्य ८ अर्बभन्दा बढी छ । अमेरिकाको न्यूयोर्कमा आठ हजार वर्गमटिरमा फैलिएको ७३ तले भवनको माथिल्लो भागमा रहेको तीन तलाको अपार्टमेन्टको मूल्य १० करोड डलर (८ अर्ब ९० करोड नेपाली रुपैयाँ) तोकिएको छ ।
    यो मूल्य न्यूयोर्कमा गगनचुम्बी भवनका माथिल्लो तलामा बनेका अपार्टमेन्टमध्ये हालसम्मकै सबैभन्दा महँगो भएको बताइएको छ । तोकिएको मूल्यमा सो अपार्टमेन्ट बिक्री भए त्यसले न्यूयोर्क सहरमा हालसम्म बिक्री भएका अपाटमेन्टको मूल्यमा रेकर्ड कायम गर्ने बताइएको छ । रियल स्टेट कम्पनी प्रुडेन्सियल एलिमेनका एक निर्देशक एसले मुर्फीले गत शुक्रबार उक्त अपार्टमेन्टको बिक्री मूल्य सार्वजनिक गरेका हुन् । ७३ तले सिटी स्क्वायर नामक गगनचुम्बी भवनको सबैभन्दा माथिल्लो भागमा सो अपार्टमेन्ट रहेको छ । सिटी स्क्वायर न्युयोर्कको सेन्ट्रल पार्क कारनेगी हल तथा फिफ्थ एभेन्युजस्ता चर्चित ठाउँबाट एकदमै नजिक पर्ने बताइएको छ । तीन तले अपार्टमेन्ट सानदार कलाकृतिबाट बनाइएको छ । यस अपार्टमेन्टमा एक ग्यालरी, एक बैठक कोठा, ६ वटा बेडरुम, सातवटा बाथरुम तथा स्टाफका लागि छुट्टै कोठा रहेको बताइएको छ ।
    सो अपार्टमेन्टमा पुग्नका लागि छुट्टै लिफ्टको समेत व्यवस्था छ । यस अपार्टमेन्टको मुख्य विशेषता भनेको माथिल्लो तल्लाबाट न्यूयोर्क सहर पूरै देख्न सकिन्छ । यस आलिसान अपार्टमेन्टका मालिक न्यूयोर्कका रियल स्टेट कारोबारी स्टेफेन क्लार हुन् । क्लारले करिब २० वर्षअघि सो अपार्टमेन्ट ४५ लाख डलरमा किनेका थिए । त्यसपछि उनले भवनको मर्मत सम्भारका लागि करिब ४५ लाख डलर नै खर्चको बताइएको छ । गत मेमा एक व्यक्तिले सिटी स्क्वायरनजिकैको एक अपार्टमेन्ट ९ करोड अमेरिकी डलरमा खरिद गरेपछि सोही मूल्यमा आधारित रही सो अपार्टमेन्टको मूल्य तय गरिएको हो । यसअघि गत फेब्रुअरीमा रुसी अरबपति दिमित्री रिबोलोबलेबले न्यूयोर्ककै सेन्ट्रल पार्कवेस्टमा ८.८ करोड डलरमा एक अपार्टमेन्ट खरिद गरेका थिए ।

No comments:

Post a Comment