कामै नगरी १६ लाख भ्रष्टाचार

Bookmark and Share 
कमल डाँगी
नेपालगन्ज, ३० साउन ।
    कागजी काम देखाएर जिल्ला विकास समिति बाँकेमा १६ लाख रकम भ्रष्टाचार भएको छ । गत आर्थिक बर्षको मसान्तमा ह्युम पाइप खरिद गरेको देखाएर जिविसका कर्मचारीले १५ लाख ९२ हजार ४ सय ५२ रुपैयाँ भ्रष्टाचार गरेका हुन् ।   बाँकेका स्थानीय विकास अधिकारी विश्वराज डोटेल, डिभिजन इन्जिनियर सानु काजी कार्की, इन्जिनियर रामबहादुर थापा, लेखा अधिकृत प्रकाश आचार्य, स्टोर किपर पुष्प श्रेष्ठको मिलेमतोमा उक्त रकम रकम भ्रष्टाचार भएको हो । जिविस कर्मचारीले उप्रेती पोल एण्ड पाइप इन्डस्ट्रिजबाट असार महिनामा ९ लाख ९५ हजार ४ सय ७३ रुपैयाँको ह्युम पाइप खरिद गरेको कागजातमा देखाएका छन् । त्यस्तै बागेश्वरी पोल एण्ड पाइपबाट सोही महिना ५ लाख ९६ हजार ९ सय ६९ रुपैयाँको ह्युम पाइप खरिद गरेको देखाएको छ ।

    यसरी खरिद गरिएको ह्युम पाइप कहिं पनि प्रयोग गरिएको छैन । तर उनीहरुले करिब १६ लाख रकम उप्रेती पोल एण्ड पाइप इन्डस्ट्रिज र बागेश्वरी पोल एण्ड पाइप भुक्तानी गरेको देखाएर भ्रष्टाचार गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग एकाई नेपालगन्जले जिल्ला विकास समितिबाट विभिन्न कागजातहरु नियन्त्रणमा लिएको छ । अख्तियारले जिविसका इन्जिनियरसहित केही कर्मचारीलाई पत्र पनि काटेको छ । अख्तियार एकाई नेपालगन्ज प्रमुख देवराज भारतीले ह्युम पाइप खरिद गरेको देखाएर रकम निकासा गरेको देखिएको जानकारी दिए । बाँकेका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोख्रेलले जिविसको ह्युम पाइप खरिदको बिषयमा अनुसन्धान भइरहेको बताए ।
    जिल्ला विकास समिति बाँकेका स्थानीय विकास अधिकारी विश्वराज डोटेलले ह्युम पाइप खरिद गरेर भुक्तानी पनि गरिसकेको तर ह्युम पाइप उद्योगमै राखिएको दावी गरेका छन् । रकम हिनामिना नगरेको दावी गर्दै आवश्यकता अनुसार ल्याउँला भनेर त्यहीं उद्योगमै छाडेको बताए ।

No comments:

Post a Comment