सुर्खेतका होटलहरुलाई बालश्रम मुक्त बनाउने तयारी

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २७ भदौ ।
    सुर्खेतका होटलहरुलाई बालश्रम मुक्त बनाउने तयारी थालिएको छ । होटल अर्गनाइजेशन सुर्खेतले जिल्ला वाल कल्याण समितिसंग समन्वय गरी बालश्रम मुक्त बनाउने तयारी गरेको हो ।
    यहाँका होटलहरुमा १४ बर्ष मुनिका बालबालिकाहरुलाई काममा लगाउन नपाइने भन्दै पहिलो चरणमा राष्ट्रिय बाल दिवसको अवसरमा यही भदौ २९ गते सार्वजनिक गरिनेछ । होटल अर्गनाइजेशन सुर्खेतका प्रथम उपाध्यक्ष तर्कबहादुर शाहीका अनुसार बालश्रममुक्त होटल बनाउन संघले पहल गरिरहेको बताए । उनले बालबालिकाहरु प्रयोग नगर्ने होटलहरुको नामलिष्ट अर्गनाइजेशनमा राख्ने भन्दै सूचना जारी गरिएको जनाए । यहाँका होटललाई क्रमैसंग बालश्रम मुक्त बनाइने उनले बताए ।
    वीरेन्द्रनगरस्थित होटल भ्याली भ्यूका संचालक समेत रहेका शाहीले आफ्नो होटललाई बालश्रम मुक्त होटल बनाइसकेका छन् । होटल व्यवसायीहरुसंग विभिन्न चरणमा छलफल गरेर जिल्लाका सवै होटलहरुलाई बालश्रममुक्त बनाइने योजना शाहीले सुनाए ।
    होटल अर्गनाइजेशनले थालेको कामलाई जिल्ला बालकल्याण समितिले पनि सह्राना गरेको छ । जिल्ला बाल अधिकार अधिकृत रमादेवी भण्डारीले समितिको समन्वयमा जिल्लाका होटलहरुलाई बालश्रम मुक्त बनाउने अर्गनाइजेशनको पहल सह्रानीय भएको बताउँदै बालअधिकारको क्षेत्रमा नयाँ आयाम हुने जनाइन् ।
    अर्गनाइजेशनले बालश्रम बनाउने होटलहरुको नामलिस्ट राख्न सूचना जारी गरिसकेकोले पहिलो चरणमा जति लिष्ट आउँछ त्यही अनुसार घोषणा गरिनेछ । समितिले पछि सुर्खेतका होटलहरुको पनि अनुगमन गर्ने जानकारी दिदैं उनले बालअधिकारको क्षेत्रमा होटल अर्गनाइजेशन सुर्खेतले थालेको कदमले सकारात्मक परिवर्तन ल्याउने उल्लेख गरिन् ।
    सुर्खेत जिल्लाभर करिव १५ सय होटल रहेको अनुमान अर्गनाइजेशनले गरेको छ । यद्यपि अर्गनाइजेशनमा दर्ता भने करिव ४ सय मात्रै छन् । करिव एक चौथाई होटलहरु दर्ता भएको र धेरै पसल दर्ता नभएकोले बालश्रम मुक्त बनाउन निकै चुनौती आउने देखिएको छ । तर दर्ता नभएका पसलहरुलाई भने अर्गनाइजेशनले दर्ता प्रक्रियामा ल्याउने जानकारी प्रथम उपाध्यक्ष शाहीले दिए ।

No comments:

Post a Comment