सुदूरपश्चिमको लोकप्रिय हुड्केली नृत्य लोप हुँदै

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
    सुदूरपश्चिम क्षेत्रमा परम्पराकालदेखि प्रचलनमा रहेको हुड्केली नृत्य लोप हुँदै गएकामा कञ्चनपुर, सिसैयाका शंकर दमाईंलाई चिन्ता लागेको छ । हुड्केली नर्तकका रूपमा परिचित शंकरलाई हुड्केली नाच्ने रहर अझै भएपनि एकदशक यतादेखि त्यसको माग नआएपछि उनले नाच्न पाएका छैनन् । आधुनिक बैन्डबाजा र अन्य मनोरञ्जनका साधनले यहाँको समाजमा गहिरो जरा गाडेपछि हुड्केली नृत्य ओझेलमा परेको हो । उमेरले ६० काटिसकेका उनी भन्छन्, ‘हुड्केली नृत्यको माग नआएका कारण नृत्य देखाउने मौका पाइएको छैन, नृत्यका लागि सेतो गाउन, सेतो पगडी, चौारीगाईको चमर, घन्टा, घुाघरु पहिरनका रूपमा लगाउने गरिन्छ ।’
    ‘हुड्का ठूलो प्रकारको डमरुजस्तै बाजा हो । सो बाजासहित न्वारन, छैटी, अन्नप्राशन, विवाह र अन्य शुभकार्यमा वीरवीरंगनाको गीतिकथा पृथक ढंगले गाउँदै नाच्ने कार्य हुड्केलीमा गरिन्छ’ उनले थपे । एकजनाले नाच्दै हुड्केली नृत्यमा हुड्का बजाउँदै गीतिकथा भट्याउने, दुईजनाले परापूर्वकालको लडाइँको झल्को दिने गरी तरबार र ढालको करतब देखाउने, पाँचजनाले दमाहा बजाउने र गायनमा साथ दिने गर्छन् । हुड्केली नृत्य आफौमा रोमाञ्चक मात्र नभएर डोटेली इतिहासका पात्रबारे जान्ने अवसर जुराउने नृत्य पनि हो । पहिले पहिले हुड्केली गाउँका समृद्ध व्यक्तिले लगाउने गरेको उल्लेख गर्दै शंकर भन्छन्, गाउँका सबैजना एकै ठाउँमा जम्मा भएर हुड्केली नृत्य हेर्ने र सुन्ने प्रचलन रहेको र यसबाट गाउावासीमा एकता र सद्भाव दर्सिन्थ्यो । हुड्केली लगाएबापत दलित समुदायका व्यक्तिलाई जग्गा दिएर एक वर्षका लागि अन्न कमाएर खान दिने चलन थियो । हुड्केली नृत्य सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बाजुरा, बझाङ, अछाम, कैलाली र कञ्चनपुरमा मात्र नभइ भारतको उत्तराञ्चल प्रदेशको कुमाउँ गढवाल क्षेत्रमा समेत शुभकार्यमा प्राथमिकताका साथ नचाइने गरेको डोटेली संस्कृतिका जानकार मानसिंह भण्डारीले बताए । वीरवीरंगनाको गाथा गीतमार्फत व्यक्त गर्ने, लडाइँको कलाकौशल दर्साउने, वंशावली वर्णन गर्ने र नाचबाट भरपुर मनोरञ्जन लिने हुड्के नाचको प्रमुख विशेषता भएको उनी बताउँछन् ।
    कुमाउँ गढवाल क्षेत्रबाट सुदूरपश्चिम क्षेत्रमा भित्रिएको अनुमान गरिएको हुड्केली नृत्य विसं १८०१ भन्दा अगाडिदेखि नै अस्तित्वमा रहेको स्थानीय बुढापाका बताउँछन् । बाइस पाट कुमाउँ अमरगढीका राजा त्रिपाल चन्दको जीवनीमा आधारित भई हुड्केली नृत्यको प्रारम्भ गरिने भएकाले यो नृत्य परापूर्वकालदेखि नै भारतको कुमाउँ क्षेत्रबाट भित्रिएको प्रमाण भएको हुड्केली नृत्यका जानकार बहादुर नेपालीले बताए । परापूर्वकालका डोटेली राज्यका वीरवीरांगनाका रूपमा परिचित सोभी रावत, बिगा पनेरु, काला भण्डारी, हिया कठायत, रती रावल, सुजुबुजू रौतेला, पिरी बोहरा, संग्राम कार्की, दीपा ऐर, लाली साउनलगायतले गीतिकथा हुड्केलीमा लय हालेर तरवार बाजीसंगै हातमा थाली नचाएर गाउने गरेको डोटेली संस्कृतिका जानकार भण्डारीले बताए ।
    नयाँ पुस्ताका युवा सहजै उपलब्ध हुने मनोरञ्जनका साधनप्रति बढी आकर्षित हुन थालेपछि हुड्केली नृत्य संकटमा परेको शिक्षक शेरसिंह भण्डारीले बताए । उनका अनुसार हुड्केली नृत्य लोप हुनाका प्रमुख कारणमा धार्मिक रीतिरिवाज एवम सांस्कृतिक धरोहरको जगेर्ना गर्ने व्यक्तिको कमी हुनु र पुरातात्विक सम्पदाहको संरक्षण र सम्बद्र्धन नहुनु हो । बूढापाकाले युवापुस्तालाई सो नृत्यका बारेमा जानकारी नदिंदा र सिकाउनेबारे चासो नदिंदा हुड्केली नृत्यको अस्तित्व लोप हुँदै गएको पनि उनले बताए । हुड्केली नृत्य लोप भएपछि डोटेली समाजको नैतिक बल गुमेको तथा मौलिक संस्कृतिप्रति चासो जगाउने र परम्परालाई चिनाउने अवसर गुमेको स्थानीय बुद्धिजीवी धर्मानन्द जोशी बताउँछन् । उनले सुदूरपश्चिमका पहाडी क्षेत्रमा बढी प्रचलनमा रहेको यो नाच लोप हुनामा समृद्ध व्यक्ति बसाइ सरेर अन्यत्र जानु, सो नृत्यले मात्र परिवारको खर्च टार्न दलित समुदायका व्यक्तिहरूलाई गाह्रो भएपछि उनीहरू कामको खोजीमा अन्यत्र लाग्नु हो भने ।
    संस्कृति बचाउनका लागि यहाँ थुप्रै संघसंस्थाले कार्य गर्दै आएपनि हुड्केलीजस्तो पौराणिक नृत्य बचाउनका लागि कुनै निकाय अगाडि नबढ्नु दु:खद भएको जोशी बताउँछन् तर बहादुर नेपालीको भनाइ भने फरक छ, हुड्केली नृत्य लोप हुनाको प्रमुख कारण आधुनिक समाजमा बैन्डबाजा बजाउनेलाई पारिश्रमिक स्वरूप १० हजारभन्दा बढी दिइन्छ भने हुड्केली लगाउने व्यक्तिलाई ५०० देखि १ हजारमात्र दिएर बिदा गरिन्छ, यस्तो अवस्थामा हुड्केली नृत्यमै दलित समुदायका व्यक्ति कसरी बाँच्न सक्छन् ? रैका राजाको शासनकालमा जातजातिका आधारमा कामको वर्गीकरण गर्ने चलनअनुसार हुड्केली नृत्य दलित समुदायले देखाउने चलन चलाएको डोटेली संस्कृतिका जानकार शेरबहादुर सावदले बताए । हुड्केली नृत्य मात्र नभएर परम्परागत पहिरन र बाजागाजाको संरक्षणतर्फ समेत यहाँको समाज चनाखो हुन नसक्दा कैयौं परम्परागत बाजागाजा लोप भइसकेको प्रति उनले चिन्ता प्रकट गरे । लोप हुँदै गएको हुडकेली नृत्य बचाउनका लागि यहााका बुद्धिजीवी एवम् संस्कृतिविद्ले युवापुस्तालाई जनचेतना फैलाउनु जरुरी भइसकेको छभने यसको संरक्षणका लागि स्थानीय निकायबाट पनि सहयोग गरिनुपर्नेमा जोड दिइएको छ ।

No comments:

Post a Comment