भाइरल ज्वरोले थप एकको मृत्यु

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
दैलेख, २० भदौ ।
    भाइरल ज्वरोका कारण दैलेखमा  थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडलम्जी गाविस–४ का ७० वर्षीय कर्णवीर कामी हुन् । उनीसंगै दैलेखमा भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
    मृतकले केही महिनादेखि दमको औषधि खाइरहेको स्वास्थ्य चौकी वडलम्जीले जनाएको छ । भाइरल ज्वरोका विरामी दिनहुँ ४०/५० जना आउने गरेको स्वास्थ्य चौकीका अहेव करुणाखर खत्रीले बताए । ‘अधिकांश विरामीमा भाइरलका लक्षण देखिएका छन्’ उनले भने ।
    कामीको भाइरल ज्वरोका कारण नै मृत्यु भएको वडलम्जी स्वास्थ्य चौकीका इन्चार्ज करुणाखर खत्रीले जानकारी दिएका छन् । उनका अनुसार कर्णवीरको उपचार नपाएका कारण घरमै मृत्यु भएको हो । भाइरल ज्वरो गाविसभरी नै प्रकोपको रुपमा फैलिएको छ । विरामीहरु अत्यधिक वढेपछि स्वास्थ्य चौकीमा औषधिको समेत अभाव भएको उनले जनाए ।
    गत एक हप्तादेखि दिनहँु ६० भन्दा वढी ज्वरोका विरामीको उपचार गर्दागर्दै आफूसमेत ज्वरोमा परेको इन्चार्ज खत्रीले बताए । वडलम्जी सदरमुकाम दैलेख बजारदेखि ७ कोश पश्चिममा पर्छ । भाइरलवाट प्राय: केटाकेटी र बुढाबुढी प्रभावित छन् । भाइरल ज्वरोका कारण गत हप्ता लालीकाँडा गाविसमा ५ जना र गोगनपानी गाविसमा १ जनाको मृत्यु भैसकेको छ । नेपाली सेना र जिल्ला स्वास्थ्यले सयुंक्त स्वास्थ्यले शिविर चलाएपछि लालिकाँडा क्षेत्रमा भने भाइरल ज्वरोमा केही नियन्त्रण आएको छ । शिविरमा ४ सय ५० जनाको उपचार गरिएको शिविर टोलीले जनाएको छ ।

No comments:

Post a Comment