दिगो शान्तिका लागि विद्यार्थीको साहित्य यात्रा

    मुलुकमा दिगो शान्तिको कामनासहित कविता बाचन गर्दै पैदलयात्रामा निस्केका झापाली एक युवक जाजरकोट आइपुगेका छन् ।  तीन वर्षअघि आफूले रचना गरेका ज्ञानमुलक कविता, चुट्किला र मुक्तक सुनाउँदै मुलुकका सवै जिल्लाको पैदल यात्रामा निस्केका झापा कोरोवारी १ तुलाचनवीरपुरका खिलेन्द्रप्रसाद सुवेदी ७४ औं जिल्लाको भ्रमणका क्रममा जाजरकोट पुगेका हुन् ।
    सवै जिल्ला सदरमुकाम पुगेर बाटोमा पर्ने विद्यालयका विद्यार्थीका माझ कविताको वर्षा गराउने उनलाई बुधवार जाजरकोट खलंगाको त्रिभुवन उच्च माविका विद्यार्थीले पुरा साथ दिए । भदौ महिनाको टन्टलापुर घाममा पनि विद्यालयका सवै शिक्षक र विद्यार्थीहरुले खुल्ला चौरमा उनलाई एक घण्टासम्म साथ दिएका थिए ।
    एक दर्जन जति कविता मुक्तक र चुट्किला सुनाएका उनको प्रस्तुतिले सवैलाई मन्त्रमुग्ध बनाएको थियो । राजनीति, प्रेम, युवा वर्गमा बढ्दै गएको अराजकता, सामाजिक संस्कार तथा  पढाइ लेखाइका बारेमा  उनका कविताहरु केन्द्रित थिए ।
    फूल टिपेर मात्र के गर्नु, यदि बासना आउँदैन भने
     पढेर मात्र के गर्नु, यदि बुद्धि आउँदैन भने
    काम गरेर मात्र के गर्नु, यदि खान पुग्दैन भने अनि
     वुद्धि भएर मात्र के गर्नु, यदि दिमागले राम्रो सोच्न सक्दैन भने ।

    भन्ने कविता सुनाउँदा विद्यालयको चौरमा उपस्थित सवै विद्यार्थी र शिक्षकहरुले  सुवेदीको समर्थनमा ताली र हाँसोको बर्षा नै गराएका थिए ।
    नैतिकता र शिक्षाको भावले भरिपूर्ण उनका कविता र मुक्तकहरु जो कोहीलाई पनि मख्ख वनाउने खालका थिए । कहिले युवा जोशको अभिनय त कहिले वुढो उमेरको जुम्सो वोली अनि कहिले जँड्याहा व्यक्तिको फरक–फरक अभिनयका माध्यमवाट वर्तमान समय, विकृति र आवश्यक नैतिक शिक्षाका वारेमा उनका रचनाहरु निकै सान्दर्भिक मात्र होइन मर्मस्पर्शी थिए ।
    मुलुकभरी डुलेर शान्तिका लागि जनताको चाहना के छ, जनताको पीर मर्का के छ भनेर जान्न आफू पैदल यात्रामा निस्केको  सुवेदीले बताए  । जाजरकोटपछि डोल्पा जाने योजनामा रहेका उनले २०६६ भदौ १६ देखि भोजपुरवाट सुरु गरिएको यात्रा ७५ जिल्लामा पुगेर सकिएपछि एउटा यात्रा संस्मरण र  सवै जिल्लाका जनताको दु:ख, पीडा  र मर्का समेटिएको कविता संग्रह राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्रीलाई वुझाउने योजना वनाएको वताए ।
    ‘शीर्षकै शीर्षकले भरिएका मेरा लेखहरु’  नामक कविता संग्रहलिएर राष्ट्रपति र प्रधानमन्त्रीलाई वुझाउने छु,’  सुवेदीले  भने । जिल्ला भ्रमणका क्रममा मुलुकका सवै जनता र विद्यार्थीहरुले  आन्दोलन  र हड्ताल वन्द गर्न तथा दु:खी गरीवहरुका लागि राजनीति गर्न देश चलाउने र राजनीति गर्नेहरुलाई आग्रह गर्ने गरेको आफूले पाएको उनले बताए । जिल्लामा पुगेपछि उनलाई  विद्यालयका विद्यार्थी, शिक्षक र अन्यले आर्थिक सहयोग उपलव्ध गराउने
गरेका छन् ।
    उनले आफू पुगेका जिल्लाका शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, शिक्षण तथा संचार संस्थाका शुभकामना पत्र समेत संकलन गर्ने गरेका छन् । उनी भन्छन्, ‘यही नै मेरो सम्पत्ति र सवै जिल्ला भ्रमण गरेको प्रमाण हो ।’ ८ कक्षा सम्म मात्र अध्ययन गर्न पाएका ३५ बर्षीय सुवेदीले भ्रमणले आफ्नो शान्ति र साहित्यिक यात्रा सफल भएको दावी गरेका छन् ।

शव्द/तस्विर: राजेन्द्र कार्की

No comments:

Post a Comment