दुई बर्षमा १२ लाख मात्रै परिचालन

Bookmark and Share 
१० जिल्लामा खेती गर्न सिकाउने आयोजना 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २५ भदौ ।
    सशस्त्र द्वन्द्व र वैदेशिक रोजगारले गर्दा खेती गर्ने प्रवृत्ति कम हुर्दै गइरहेको बेला मध्यपश्चिमका ९ र सुदूरपश्चिमको एक गरी १० जिल्लामा खेती गर्न सिकाउने आयोजना विगत दुई बर्षदेखि सुरु गरिएको छ । उच्च मूल्य कृषि बस्तु विकास आयोजनामार्फत मध्यपश्चिममा कर्णाली राजमार्ग, छिन्चु–जाजरकोट सडक र सुर्खेत–दैलेख सडक क्षेत्रलाई छुने १० जिल्लामा यो कार्यक्रम संचालन गरिएको हो । सुर्खेत, जाजरकोट, दैलेख, सल्यान, कालिकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र अछाम जिल्लामा लागू गरिएको उक्त आयोजनाले समुदायको जोखिम र गरिवी घटाउन योगदान दिइने लक्ष्य राखिएको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
    उक्त कार्यक्रमले स्याउ, तरकारी वीऊ, अदुवा, बेमौसमी तरकारी, टिमुर, बेसार र खसीबोका गरी सात वटा कृषि बस्तुलाई प्रोत्साहन गर्न सिकाउने आयोजना व्यवथापन कार्यालयका प्रमुख राजेन्द्र भारीले बताए । यी तीन वटा सडकले छुने जिल्लाका गाविसका बासिन्दाहरु समूह वा सहकारीमा आवद्ध भएर आयआर्जन गराई जीवनस्तर सुधार गर्न आयोजना सुरु गरिएको उनको भनाइ छ । कूल १ अर्व ४० करोड रुपैयाँ बजेट रहेको कार्यक्रम ६ बर्ष अवधिको हो । यो दुई बर्षमा आयोजनाले गोष्ठी सेमिनार, तालिम, सर्वेमा मात्रै ९ करोड रकम खर्च भएको जनाएको छ । विभिन्न जिल्लाहरुमा गोष्ठी, जानकारी, सर्वेक्षणलगायतमा ९ करोड रकम खर्च भएको र समुदायमा अहिलेसम्म केवल १२ लाख रुपैयाँ परिचालन गरिएको प्रमुख भारीले बताए । यद्यपि कार्यक्रम अवधिभर ५९ करोड रुपैयाँ लक्षित बर्गमा पुर्‍याउने लक्ष्य लिइएको उनको भनाइ छ । मूल्य शृंखला कोषमा ३५ करोड, पुल पुलेसा र रोपवेमा ८ करोड र उत्पादन सहयोगमा १३ करोड लगानी गर्ने योजना रहेको बताइन्छ ।
    ६ बर्षको अवधिमा व्यापारी, समूह गरी ५२ हजार ३ सय घरधुरीलाई लाभान्वित गराउने र उनीहरुको प्रति परिवार बार्षिक आम्दानी ३० हजारले बृद्धि गराउने योजना रहेको उनले सुनाए ।
    दुई बर्षको अवधिमा सुर्खेत, जुम्ला र दैलेखका गरी १५ सय १४ घरधुरीहरु लाभान्वित भएको दावी आयोजनाले गरेको छ ।
    कार्यक्रममा आयोजनाका बरिष्ठ कृषि विकास अधिकृत हरिप्रसाद गुरुङले मूल्य शृंखला कोषको वारेमा जानकारी दिदैं समूह वा सहकारीमा आवद्ध भएपछि अधिकृतम १ लाख डलरसम्मको अनुदान प्राप्त गर्न सकिने जनाए । यस आयोजनाले ७ वटा मूल्य बस्तुको खेती गर्न प्रेरित गर्ने बताइएको छ । आयोजनाको लगानी तरकारीमा सडकदेखि ३ घन्टाको पैदल दुरीसम्म, अदुवा, स्याउमा ६ घन्टाको पैदल दुरीसम्म र खसी बोकाका लागि १ दिनको पैदल दुरीसम्मका समूहमाथि मात्रै हुने बताइएको छ ।
    कार्यक्रममा क्षेत्रीय पशु निर्देशक अमर शाहले यस आयोजनाले खेती गर्न सिकाउने बताए । उनले व्यापारलाई नयाँ तरिकाबाट गर्न सिकाएर जीवनस्तर उकास्ने भएकोले सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

No comments:

Post a Comment