नयाँ नै भोलि गएर पुराना हुने हुन् । नयाँ नै स्थापित हुने हुन् । दश वर्षअगाडि रेखा थापा, अरुणिमा लम्साल, झरना थापा, निरुता सिंह, मेलिना मानन्धर, रेजिना उप्रेती, सञ्चिता लुइँटेलहरु नयाँ मानिन्थे । अहिले रेखा थापा र झरना थापा स्थापित नायिका मात्र नभई फिल्ममा पनि अलि बढी सक्रिय छन् । निरुता, अरुणिमा, सञ्चिता, मेलिना, रेजिना भने फिल्म क्षेत्रबाट निष्क्रिय हुँदै गएका छन् र उनीहरु साँच्चिकै पुराना नायिका बन्दैछन् । यसरी नै आज नयाँ मानिने नायिकाहरु भोलि गएर कोही स्थापित मानिनेछन् भने कोही विस्थापित मानिनेछन् । यो सबै आफ्नो मिहेनत, लगनशीलता र प्रतिभामा भरपर्ने कुरा हो । रेखा थापाको जमानाको कुरा गर्दा नयाँ नायिकाहरु खोज्न कठिन हुने गथ्र्यो ।
बल्लतल्ल वर्षमा एक दुई जना नयाँ नायिकाहरु आउने गर्दथे । ती मध्ये पनि कतिपय त एउटा फिल्म खेल्न नपाउँदै हराउँथे । वर्षा खड्का, उत्पला खड्का, मीरा केसी, सुमन खड्का, रेखा शाही, आराधना क्षेत्री आदि जस्ता कम प्रतिभाशाली मानिएकाहरु विस्थापित हुनु स्वाभाविक हो तर सनी रौनियार, कृति भट्टराई र मेघा पोखरेलहरु पनि स्थापित भएनन् । हिजोको भन्दा आजको स्थिति फरक छ । त्यत्तिबेला फिल्म पनि कमै बन्थे । फिल्ममा नव नायिकाहरुको अगमन पनि कमै हुन्थ्यो । अहिले जसरी फिल्मको भेल लागेको छ त्यसैगरी नायिकाहरुको पनि भेल लागेको छ । कति रहर पूरा गर्न आएका छन् त कोही यही क्षेत्रलाई नै कर्मथलो मान्दै आएका छन् । जो जसरी आएपनि अहिले रजतपटमा नायिकाहरुको रेस चलेको छ । अहिले वर्षमा कति जना नवनायिकाहरु कलिउडमा आइरहेका छन् भन्ने लेखाजोखा कसैसंग छैन । यहाँ फिल्मै पिच्छे एक न एक नयाँ अनुहार भित्रिरहेका हुन्छन् । नायिका बन्छु भनेर आएका कति त आएको गएको पत्तै हुँदैन भने संघर्ष गर्दै गरेका सबैको नाम उल्लेख गरेर साध्य पनि हुँदैन । ती मध्ये चर्चा कमाएका वा प्रतिभाशाली भनिएकाहरुको मात्र चर्चा गर्दा पनि यी पंक्तिहरु प्रयाप्त होला जस्तो देखिंदैन । अहिलेको मितिसम्म नवनायिकाहरु कै जमातमा पर्ने नायिकाहरुमा निशा अधिकारी, ऋचा शर्मा, केकी अधिकारी, प्रियंका कार्की, नम्रता श्रेष्ठ, सुमिना घिमिरे, नीता ढुंगाना, ऋचा सिंह ठकुरी, सुष्मा कार्की, बिनिता बरालका नामहरु अग्रपंक्तिमा लिने गरिन्छ । यी नामहरु बाहेक ‘कागबेनी’ बाट डेब्यु गरेकी दिया मास्केको सम्भावनालाई धेरैले देखेका छन् । तर, उनको फिल्म रोजाई अलि पृथक छ । पृथकधारका फिल्महरु रोज्ने नायिकाहरु भन्दा चलनचल्तीकै नायिकाहरुको रेस फिल्म उद्योगमा हेर्न लाएकको छ । आफू अगाडि बढ्ने धुनमा दौडिरहेकी नायिका मध्ये अहिले पहिलो स्थानमा निशा अधिकारी छिन् । लगाताररुपमा उनका फिल्म रिलिज हुँदैछन् भने सुटिङ पनि त्यही गतिमा अगाडि बढिरहेको
छ । मिसन पैसा डेब्यू यी नायिकाको पहिलो फिल्म नै झुर भयो । त्यसपछिको फस्ट लभले भने केही आश देखायो । गत महिना मात्र रिलिज भएको मायाज बारले पनि उनको केही चमत्कार देखिएन तरपनि उनको व्यस्ततामा कमी आएको छैन ।
फिल्म नै रिलिज नहुँदै व्यस्त र निकै चर्चा पाउँदै गएकी नायिका हुन् प्रियंका कार्की । पहिलो फिल्म मेरो बेस्ट फ्रेण्ड र दोस्रो थ्रि लभर्सको रिलिज प्रतिक्षामा रहेकी प्रियंका अहिले व्यस्त नवनायिकाको सूचीमा पर्छिन् । उनलाई फिल्म उद्योगले निकै सम्भावना बोकेकी नायिकाको रुपमा पनि हेरेको छ । भिजिलान्तेको सुटिङमा व्यस्त यी नायिकाको अहिले आधा दर्जनको संख्यामा फिल्म लाइनमा छन् । प्रियंका पछि अर्को सम्भावना बोकेकी नायिका हुन् केकी अधिकारी । उनको पनि पहिलो फिल्म स्वरले खासै राम्रो छाप छोड्न सकेन तरपनि उनको सम्भावनालाई सम्पूर्ण फिल्मकर्मीले अंकलन गरिरहेका छन् । निकै आश गरेको भनिएको आई एम सरीले खासै चमत्कार देखाउन नसकेपनि मसान फिल्म उनको करियरमा कोशेढुंगा बनेर आयो । अहिले उनी नवल नेपालको महसुस फिल्ममा व्यस्त छिन् भने प्रमिसको सुटिङ भर्खरै मात्र सकिन् । अब उनी सुरज सुब्बाको अर्को प्रोजेक्ट बितेका पलमा उनी व्यस्त हुनेछिन् । कामले भन्दा चर्चाले व्यस्त हुने नायिकाहरुमा नम्रता श्रेष्ठ र ऋचा शर्मा पर्छन् । यी नायिकाहरु चुजी बढी बन्न थालेकाले सम्भावना बोकेका हुन् या हैनन् भन्ने निक्र्याैल गर्नपनि गाह्रो परेको छ । तरपनि उनीहरुले आफ्नो अभिनय कलालाई प्रस्तुत गरिसकेकाले निरन्तरता दिए सम्भावना प्रशस्तै देखिन्छ । यो रेसमा यी नायिका कछुवाको चालमा हिंड्ने गरेका छन् तर ढिलो हिंड्ने कछुवाको जीतलाई अपवादको रुपमा उनीहरुले बुझ्न जरुरी छ ।
मुलधारे फिल्ममा रोजाईको पर्ने नायिकाको भिडमा सुमिनाको नाम अनि अग्रपंक्तिमा नै आउँछ । छबिलाल कन्जुस छैन, दुलही, किन मायामा, हेलो प्रकृति, सडक जस्ता फिल्ममा उनले आफ्नो अभिनय कला देखाइसकेकी छिन्भने रङ उनको आश गरिएको फिल्ममा पर्छ जुन मंसिर ८ गते रिलिज हुनेछ । मसानमा कान्छी दुलही बनेकी नायिका नीता ढुंगानाको सम्भावनालाई पनि उद्योगले हेरिरहेको छ । भोलिका दिनमा उनले दर्शकमाझ आफूलाई कसरी प्रस्तुत गर्छिन् त्यो हेर्न बाँकी नै छ तर म बिर्सुं कसरी, हाम्रो माया जुनी जुनीलाईबाट उनले सम्भावना देखाइसकेकी छिन् । उनका पनि थुप्रै फिल्म रिलिजको क्रममा छन् भने सुटिङ पनि भइरहेका छन् । नाइ नभन्नु ल डेब्यू नायिका ऋचा सिंह ठकुरी पनि मुलधारे फिल्मकी व्यस्त नायिका हुन् । म तिम्रो भइसकें, मन पराएँ माया लाएँ, मनमनै मन पराएँ जस्ता फिल्मबाट प्रतिक्रिया पाइसकेकी ऋचाका माया गर ल, धड्कन भित्र, नबोलेनि हाँसी राखन जस्ता फिल्म रिलिजको तयारीमा छन् भने अप्स एन्ड डाउनको अहिले सुटिङ भइरहेको छ ।
छोटो समयमा राम्रो चर्चा पाएकी नायिका हुन् सुष्मा कार्की । चर्चाको हिसाबले उनी नवनायिकाहरुको दौडमा अगाडि नै दौडिरहेकी छिन् । अभिनयको कारणले भन्दा पनि गफ र बाहिरी क्रियाकलापले उनलाई अगाडि ल्याएको छ । ब्याच न १६ मा किस सिन दिएर चर्चा पाएकी सुष्माले बिन्दास फिल्मबाट त नसोचेकै चर्चा पाइन् । तर, उनको त्यो चर्चा अभिनय भन्दा पनि बढी सेक्स कन्टेन्टको बिषयमा थियो । उनलाई उध्रेको चोलीले भने राम्रै स्थान दियो । यस्तै पहिलो फिल्म चपली हाइटबाट नसोचेको हाइट पाएकी बिनिता बराल पनि यो रेसमा दौडिरहेकी नायिका हुन् । चपली हाईटले उनलाई केही समय अग्रपंीक्तमा ल्याए पनि दोस्रो फिल्म फुलस्टपले भने केही धक्का पुर्याएको छ । तरपनि उनको अभिनय क्षमताको प्रसंशा भएकै छ । हेरौं उनको यो रेस कहाँसम्म र कुन स्थानमा पुग्ने हो । माथि उल्लेखित नायिकाहरु बाहेक पनि यो उद्योगमा करियर खोज्दै दौडने नायिकाहरुमा बेनिशा हमाल, रीमा बिश्वकर्मा, अनु शाह, दीपशिखा शाही, स्वेता भट्टराई, रागिनी खड्गी, हर्षिका श्रेष्ठलगायतका नायिकाहरु पर्छन् । यी बाहेक पनि फिल्ममा भविष्य खोजेर आउने थुप्रै नयाँ अनुहारहरु छन् जसको चर्चा उनीहरुको कामको आधारमा पछिल्ला दिनमा हुँदै जानेछ ।

No comments:
Post a Comment