थारु संस्कृतिमाथि प्रहरी प्रशासनको दादागिरी

मानबहादुर चौधरी 'पन्ना'
   संस्कृति मानव जातिको पहिचान हो । संस्कृति समाजको दर्पण हो । संस्कार, परम्परा, रीतिरिवाज, धर्म, चालचलन, बोली, भाषा व्यवहार नै वास्तवमा संस्कृतिका तत्वहरु हुन् । यसैका आधारमा नै विभिन्न जातजातिहरु आफूलाई विशिष्ट पहिचानको रुपमा स्थापित गरी आफ्नो छुट्टै परिचय बनाएका हुन्छन् । हाम्रो देश बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक विविधता मय रहेको कुरा सर्वविदितै छ । अन्तरिम संविधान २०६३ ले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषण गरेको छ ।  त्यसकारण हाम्रो समाज समावेशी छ । विविध धार्मिक, सांस्कृतिक सहिष्णुताको रुपमा बस्दै आएको समाज छ । त्यसैले अनेकतामा एकता स्थापित भएको छ ।
    हाम्रो देशको भौगोलिक विविधतासंगै जातजातिको संस्कृतिमा विविधता छ । त्यसकारण मनकामना मन्दिरका मगर पुजारी, देउतीबज्यैको मन्दिरमा राजी जातिको पुजारी, काँक्रेविहारको पञ्च बलीमा थारु गुरुवाद्वारा गरिने कर्मकाण्ड यी सबै धार्मिक सहिष्णुताकै उपजहरु हुन् जुन एकले अर्काको समान र संस्कृतिको विश्वासले यी सबै सम्भव भएका हुन् । हाम्रो देश हिन्दुहरुको बाहुल्यता भएको देश हो । नेपालीहरुको महान चाड दसैं र तिहार हाम्रो घरआँगनमा आइपुगेको छ । थारुहरुले दसैं मनाएपनि हिन्दु परम्परा भन्दा धेरै विविधता छ धार्मिक क्रियाकलापमा, चालचलनमा, मूल्य मान्यतामा अनि आफ्नै मौलिकपन छ, यही नै थारु जातिको मौलक पहिचान हो । वर्तमान परिप्रेक्षमा देशको राष्ट्रिय सवालको रुपमा आफ्नो मौलिक पहिचान र संस्कृतिको मुद्दा उठिरहेको अवस्थामा अरुको पहिचान र संस्कृति माथि धावा बोल्नु पक्कै पनि राम्रो कुरा होइन । थारुहरुले दसैं, तिहार, माघी (माघे संक्रान्ति), चैते दसैं जस्ता हिन्दुहरुले पनि मान्ने पर्वहरु मान्दै आएका छन्् । यी पर्वहरु  गैरथारुहरु भन्दा बेग्लै ढंगले मनाउने गर्दछन् ।
    नेपालीहरुको महान चाडपर्व दसैं घर आँगनमा आइसकेको सन्दर्भमा सबै नेपालीहरु आ–आफ्नो चलन परम्परा अनुसार दसुटाइ रहेका छन् । थारुहरु पनि दसैं आफ्नै ढंगले मनाउने क्रममा थारु देउताका लागि (दारु) रक्सी नभई हुँदैन यो कुरा आम नेपालीलाई थाहा भएको तथ्य वास्तविक हो । थारु जाति नेपालको मुलुकी ऐन वि.सं. १९२० का अनुसार मतावाली जातमा निर्धारण गरिएको वास्तविक यथार्थ हो । मतवाली जात भन्नाले जाँड रक्सी खाने तथा बनाउनेलाई चिनिन्छ तर व्यवसायिक प्रयोजनका लागि नभई घरायसी प्रयोगका लागि समेत छुट रही आएको परम्परा छ । त्यसैले त यसलाई सगुनको रुपमा प्रयोग तथा ग्रहण गरिने परम्परा रही आएको छ  । यी सबैलाई चेतना भया । हाल भर्खरै प्रहरीको मुख्य ओहदामा आइजीपी पदमा जनजातिका छोरा श्री कुबेरसिंह राना चयन भई प्रहरी प्रशासनको छविलाई सुधार्न ३ जना उपनाइकेहरुलाई देशको विभिन्न दौडाहामा पठाएका छन् । यसै सन्दर्भमा सुर्खेतको सदरमुकामा पनि दौडाहामा वरिष्ठ प्रहरी उपरीक्षक श्री सर्वेन्द खनाल आएको मौकामा जिल्लास्थित प्रहरी कर्मचारीलाई ओभानो देखाउन, केही गरेको जस्तो देखाउनका लागि तथा स्वच्छता देखाउनका लागि गरीव, सोझा, इमान्दार, निरीह थारु जातिमाथि आक्रमण सुरु गरेर प्रहरीको छवि सुधार्दै छ । २०६९ असोज २२ गते विहान ६ बजे लाटिकोइली–८, तिलपुर, थारु गाउँमा थारुहरुको घरघरमा पसी विभिन्न दु:ख कष्ट गरेर जोरजाम गरेको दसैं सामग्री देउतालाई चढाउने जाँड समेत खोसे त्यो पनि प्रहरीले दादागिरीको शैलीमा ।  उत्तरगंगा–७, खोलीगाउँस्थित जालुराम चौधरीको घरबाट त झन् तेरो थारु देउता (माटोको घोडा) लाई लातीले फुटाली दिन्छु भनेर तोडफोड गरी आम थारु संस्कृतिमाथि धावा बोलेको छ ।
    परम्परा धान्नका लागि, बचाउनका लागि बनाइएको सामग्रीको नाश गर्नाले कति न स्याबास पाउने थिए होलान् खनाल र परियार सावले । बावुराम सरकारले राज्यलाई गुमराहमा राखेर गरीव उत्पीडित सोझा थारु जातिमाथि खनिएको छ । यो राज्यको लाचारी अन्याय अत्याचार वर्वरताले सम्पूर्ण थारु जातिको संस्कृतिमाथि खेलवाड गरेको छ । विविध जातजातिको धर्म संस्कृतिको सम्मान गर्न नसक्ने जनजातिको छोरो भएर पनि जनजातिकै संस्कृतमाथि धावा बाल्ने प्रहरी प्रशासनको प्रमुख आइजीपी कुबेर सिंह राना तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुखलाई नेपाली संस्कृतिको अध्ययन गर्न अनुरोध यसै लेखमार्फत गर्न चाहन्छु । मतवाली जातिलाई नेपालको मुलुकी ऐनले घरायसी प्रयोजनका लागि मात्र छुट दिइएको छ, यो मतवाली अधिकार हो । यसको सम्मान, संरक्षण तथा संवद्र्धन गर्नु राज्यको दायित्व हो । अनिमात्र अनेकतामा एकता कायम रहनेछ । साँचै प्रहरी प्रशासनले आफ्नो छवि सुधार गर्न चाहन्छ भन्ने बजारमा खुला रुपमा बेचविखन गर्ने डिष्टलरी कम्पनीबाट उत्पादित रक्सीमाथि प्रतिबन्धित गर्न सक्नुपर्छ । सोझा इमान्दार थारु माथि लुटपाट मच्चाउने प्रहरी प्रशासन दादागिरी शैलीको अन्त्य हुनुपर्छ । अनि मात्र धर्म निरपेक्ष राज्य भएको आभास व्यवहारमा देखिने छ । धर्म निरपेक्ष राज्यको मूल मर्मलाई पालना गर्नु गराउन प्रशासनको दायित्व होभने सामाजिक संहिष्णुता कायम राख्नु प्रत्येक नागरिकको कर्तव्य हो ।
    वास्तवमा थारुहरु आफ्नो चाडवाडका लागि बाहेक व्यवसायिकरुपमा सुर्खेतका थारुहरुले न घरेलु मदिरा उत्पादन तथा विक्री वितरण विगतमा गरेका छन् न वर्तमानमा नै यस्तो पेशामा संलग्न छैनन्, यो मेरो दावा हो ।
    यदि कसैले भगवानको नाममा रक्सीको कारोबार गर्छ भने त्यसलाई कारबाही गर्न सक्नुपर्छ । विना आधार सोझासाझा थारुहरुको घरमा पसी रक्सीको कारोबार गरेको छ भन्ने एसपी गोविन्दराम परियारसंग के प्रमाण छ ? यदि छ भने क, ख, ग कसले गरेको छ, त्यसलाई प्रहरीसमक्ष बुझाउन थारु समुदाय तयार छ । सदीयौंदेखि  मान्दै आएको दसैंको मुखमा थारुको घरमा रक्सी नभएर बाहुनको घरमा हुन्छ? यो कुरा प्रहरी प्रशासकले बुझ्न जरुरी छ ।
    हामी थारुहरु प्रत्येक पूजापाठ गर्दा होस् या जन्मदेखि मृत्यु संस्कारका सन्र्दभमा होस् घरेलु मदिरा, सुँगुरको मासु अनिवार्य हुन्छ र एकादशीमा समेत मासु काटेर खाने चलन छ । धर्म निरपेक्ष राष्ट्रका नागरिकका हैसियतले यी कार्य गर्नका लागि छुट छ । यसरी अरु जातिको धर्म, परम्परा, रीतिरिवाजमा आँच आउने खालका क्रियाकलाप गर्ने अधिकार न त एसपी गोविन्द परियारलाई छ, न डिआइजी पार्वती थापालाई छ, न त आइजीपी कुवेर सिंह रानालाई छ । यसको जवाफ प्रधानमन्त्री बाबुराम भट्टराईले दिनुपर्छ अन्यथा कसैको संस्कार र संस्कृतिमाथि चार पाँच क्लास पढेको प्रहरी जवानलाई थारु गाउँमा पठाएर दादागिरी गर्न पाइदैंन । थारु जातिको संस्कृति माथि अवरोध गर्ने प्रहरी प्रशासनलाई हामी खबरदारी गर्न चाहन्छौं ।
 

No comments:

Post a Comment