महिलामाथि हुने हिंसाविरुद्ध युद्ध गर्न आवश्यक

लक्ष्मी शर्मा
    हिंसा भन्ने वित्तिकै एक जघन्य अपराध हो । हिंसा कुनै एक किसिमको मात्र हुँदैन यसले कुनै उमेरपनि छुट्याउँदैन । हिंसा विभिन्न प्रकारका हुन्छन् । जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरुको धेरै प्रतिशतले विभिन्नखाले हिंसाबाट प्रभावित भएका छन् । हिंसामा अपवादको रुपमा पुरुषहरु पनि प्रभावित भएका हुन्छन् । पुरुषको तुलनामा महिला तथा वालवालिकाहरुको संख्या धेरैले प्रभावित भएका छन् । महिलामाथि हुने हिंसा नेपालमा मात्र होइन यो समस्याले विश्वभरिका महिलाहरुलाई प्रभावित बनाएको छ । महिला माथि हुने हिंसा विश्वको समस्याको रुपमा देखिएको छ । बेलाबेलामा महिलामाथि हुने हिंसा विरुद्धका विश्वव्यापी अभियान पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइने गरिएको पनि छ ।
    त्यस्तै नेपालमा पनि महिलामाथि हुने हिंसा विरुद्धका कार्यक्रमहरु विभिन्न बेलामा जनचेतनाका कार्यक्रम गरेर मनाउने अभियान पनि विगत केही वर्ष अगाडिदेखि मनाउँदै आएको छ । हिंसा प्रभावित महिला तथा वालवालिकाहरुका क्षेत्रमा हिंसा न्यूनीकरण गर्नका लागि महिला अधिकारकर्मी, वालअधिकारकर्मी, मानव अधिकारकर्मी र नेपाल सरकार, विभिन्न राजनैतिक दलहरुले हिंसाविरुद्धका कार्यक्रम गरेकै छन् । भर्खरै महिला माथि हुने हिंसा विरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानमा ‘घर शान्ति नै विश्व शान्तिको आधार हो दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ मनाइरहेको बेला नेपालमा पनि महिलाहिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइरहेको बेला बर्दियामा शिवा हासमी जिउँदै जलाइनु पर्‍यो ।
    रौतहटमा विन्दु ठाकुर ट्युशन पढ्न गएको बेलामा रहस्मय तरिकाबाट जलाइनु पर्‍यो । त्यस्तैगरी छिमेकी देश भारतको दिल्लीमा दामिनी नामकी युवती प्रेमीसंग सिनेमा हेरेर फर्कदा बसभित्र समूहिक बलात्कृत भइन् । त्यस घटनाको झल्को दिनेगरी नेपालमा पनि महिला हिंसाका शृंखलाहरु देशका विभिन्न ठाउँमा एकपछि अर्को गर्दै बढेका छन् । जसअनुसार दमकमा युवती प्रेमीसंग एकोहोरो भएर लाग्दा प्रेमीसंगबाट खोसेर होटलमा लगेर रातभरी सामूहिक बलात्कृत भइन् । त्यस्तै काठमाडौंमा ५ वर्षकी बालिका र १३ वर्षकी किशोरी बलात्कृत भए । अलि केही दिन अगाडि भोजपुरकी युवती बैदेशिक रोजगारबाट घर फर्कंदा अध्यागमनका कर्मचारी र देश जनताको सुरक्षा दिन खटिएका सुरक्षाकर्मीले राजधानीको निहँु बनाएर ती युवतीलाई डराउन दिएर विदेशबाट दु:खजिलो गरेर कमाएर ल्याएको पैसा र उनको अस्मितासहित अध्यागमनवाला र नागरिकको सुरक्षा दिन बसेका सुरक्षाकर्मीबाट बलात्कृत भइन् ।
    यिनी महिला हिंसा विरुद्धका घटनाहरु त संचारकर्मीहरुको नजरमा आएका हुनाले दुनियाँलाई थाहा भयो । अझ कति होलान् संचारकर्मीहरुले थाहा नपाएका विभिन्न गाउँवस्ती दूरदराजका र ठूलाठूला महलमा महिलाहिंसा विरुद्धको कुकार्यहरु त्यसका बारेमा कसले थाहा पाउछ र ? महिलाहरु वस्तुको रुपमा प्रयोग भइरहेको अवस्था
छ । महिलाहरुलाई किनबेच गर्ने वस्तुको रुपमा, बच्चा पाउने मेसिनको रुपमा प्रयोग भइरहेको, काम गर्ने दासीको रुपमा पनि महिलाहरु प्रयोग भएका छन् । महिलालाई मानवता विरोधी गलत व्यवहार भइरहेको छ । जीउँदै जलाइनु, बालिका बलात्कृत हुनु, किशोरी बलात्कृत हुनु, युवतीहरु सामूहिक बलात्कृत हुनुले गर्दा आज जननीको अतिस्त्वमाथि तुषारापात भइरहेको छ । महिलाहरु यस धर्तीका श्रृष्टि निर्माता हुन् । संसार देखाउने आमा हुन्, तिनीहरुलाई वस्तु र मेसिन बनाइनु हुँदैन । पुरुषको तुलनामा महिलाहरु धेरै कुरामा सक्षम हुन्छन् । जीवनमा जस्तोसुकै आपतविपत आइपरेपनि धैर्य भएर बाँच्न सक्ने क्षमता भएका हुन्छन् ।
    यति धेरै संख्यामा वालिका, किशोरीहरु कतै बलात्कृत त कतै जिउँदै जलाइनु परेका घटनाहरु भएका छन् । त्यस्ता घटना घटाइनेहरुलाई कारवाहीको माग गर्दै र फेरि आगामी दिनमा त्यस्ता जघन्य अपराधहरु हुन नदिनका निमित्त महिला अधिकारकर्मीहरु, मानवअधिकारकर्मीहरु लगायतका विभिन्न सरोकारवालाहरुले देशको प्रमुख केन्द्रमा बालुवाटार अकुपाइ आन्दोलन अगाडि बढाएका छन् । आन्दोलन गर्न थालेको झण्डै एक महिना पुग्न लाग्यो तर देशको कार्यकारी पद सम्हालेका व्यक्ति प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनेका छैनन् । कानमा रुइ हालेर आँखामा पट्टी बाँधेर बालुवाटार र सिंहदरवार गरेका छन् । उनलाई केवल चिन्ता प्रधानमन्त्रीको कुर्सीको मात्र छभने त्यसैक्रममा दैलेखको घटना भने उनले देखेका छन् । द्वन्द्वका बेला मारिएका पत्रकार डेकेन्द्र थापाका अभियुक्तले पत्रकारलाई सिस्नोपानी लगाएर मरणासन्न हुने गरी पिटेर प्राण छदैं जिउँदै खाल्डोमा हालेको कुरा अभियुक्तले वयान दिएर स्वीकार गरेको बेला अभियुक्तलाई छुटाउनका निमित्त विभिन्न समाचार माध्यमबाट रिहाइको माग गर्नतिर प्रधानमन्त्रीको ध्यान आकर्षण भएको छ । तर महिलाहरु विभिन्न तरिकाका पाशविक हिंसामा परेर जीउँदै जलाइएर अकालमा ज्यान गुमाएका छन् । त्यति धेरै मात्रामा बालिका किशोरी र युवती बलात्कृत भएका छन् । उतातिर उनको ध्यान पुग्न सकेको छैन । जहिलेपनि पुरुष वर्ग शासक र महिलाहरु शोषित वर्गका रुपमा पर्दछन् भन्ने कुरा प्रधानमन्त्री डा. भट्टराईको व्यवहारले देखाएको छ । समाजमा व्याप्त पितृसत्तात्मक परम्परागत मान्यता महिला हिंसाको मुख्य कारण हो । समाजमा लैंगिक, श्रम विभाजनका मान्यताले पनि घरेलु हिंसालाई बढावा दिएको छ । त्यसैगरी समाजमा विद्यमान अन्धविश्वास महिला हिंसाको प्रमुख कारकहरु मध्य एक हो । छोरा र छोरीमा गर्भदेखि विभेद गर्ने प्रचलनले गर्दा छोरीहरुले जन्मिन पाउने अधिकारबाट बञ्चित हुने, जन्मिएपछि पनि नाम राख्ने दिनदेखि विभेद हुने, शिक्षा दिक्षामा विभेद छोरीलाई जन्मेदेखि नै परपरको व्यवहार घर परिवारमा बाबुआमादेखि नै छोरीलाई टिका लगाएर पैसा दिने छोरालाई त सम्पत्तिको मालिक होस् बाबु भन्ने परम्परावादी चलन प्रचलनले उभिएको सामाजिक संस्कारले गर्दा छोरीको विवाह उमेर नपुग्दै सानै अवस्थामा नै गरिदिए स्वर्ग पुगिन्छ भन्ने अन्धविश्वासले महिला हिंसालाई बढावा दिएको छ । महिला हिंसालाई बल पुगेको छ । त्यसमा पनि महिला माथि हुने विभिन्न किसिमका हिंसाहरु इज्जत जाने डरले कुनै व्यक्तिका धाकधम्कीले गर्दा पारिवारिक प्रतिष्ठालगायतका अन्य कारणले गर्दा प्राय: वाहिर आउन अझैपनि सकेका छैनन् ।         महिलामाथि हुने घरेलु हिंसा, मानसिक डर त्रासपूर्ण धाक, गालीगलौज, झुटा आरोप आदिलाई मानसिक हिंसाभित्र राख्न सकिन्छ । यिनी महिलामाथि हुने जति प्रकारका हिंसाहरु छन् यिनी हिंसाहरु महिलाका परिवारिक र व्यक्तिगत समस्या मात्र होइन यो त सिंगो समाज र राष्ट्रको समेत सरोकारको विषय हो । यस्ता हिंसाहरु समाधान गर्नका निमित्त व्यक्ति, परिवार, राज्य र सिंगो समाज आ–आफ्नो भूमिका सक्रियताका साथ निर्वाह गर्नुपर्दछ । महिला अधिकारलाई मानव अधिकारको रुपमा स्थापित गर्न केही कहीं अभियानहरु प्राप्त भएपनि महिलाहरुको ठूलो हिस्सा अझैपनि आफ्ना हकअधिकार पाउने कुराहरु छन् भन्ने कुराबाट समेत थाहा नै छैन अनि उनीहरु बञ्चित छन् । महिलाहरुको आत्म सम्मानबाट नै खतरामा पर्ने प्राकृतिक लैगिक हिंसा कायम रहेको परिस्थितिमा अन्यायका विरुद्ध महिलाहरु आफै अगाडि सरेर जागरुक हुन जरुरी छ । त्यसका लागि महिलाहरु संगठित रुपमा महिलामाथि हुने हिंसा विरुद्ध अभियान सशक्तरुपमा चलाउनु पर्दछ । चलि पनि रहेकाछन् र अर्कातर्फ राज्यपनि मौन बसेको छ । अब संसारका महिलाहरु एक जुट भएर महिलामाथि हुने हिंसा विरुद्ध युद्ध गर्नु आवश्यक छ ।
(लेखक अखिल नेपाल महिला संघ सुर्खेतका उपाध्यक्ष हुन् ।)
 

No comments:

Post a Comment