पत्रकार ठकुरीको हत्यारा खोज्न दबाब

सुर्खेतपत्र संवाददाता 
कञ्चनपुर, ३ माघ ।
    नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरले वेपत्ता पारी हत्या गरिएका पत्रकार प्रकाश ठकुरीका हत्याराहरूलाई कारबाही नगरिए प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । महासंघका अध्यक्ष कर्ण बोहराले २०६४ सालमा वेपत्तापारी हत्या गरिएका पत्रकार ठकुरीका हत्याराहरूलाई पक्रेर कारबाही नगरे प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कालोसूचीमा राख्ने चेतावनी दिएका हुन् ।
    क्रान्तिकारी पत्रकार संघ कञ्चनपुरद्वारा सम्पूर्ण पत्रकार हत्याका दोषीहरूलाई कारवाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका क्रान्तिकारी पत्रकार संघको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष बोहराले प्रकाश ठकुरी बेपत्ता पारिएर मारिएपनि दोषीलाई कारबाही नहुनु दु:खद भएको बताए । सुदूरपश्चिमका पत्रकारहरू जेपी जोशी, प्रकाश ठकुरीका हत्याराहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । क्रान्तिकारी पत्रकार संघ कञ्चनपुरका अध्यक्ष राजेन्द्रप्रसाद अवस्थीले ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेललाई बुझाएका थिए ।
 

No comments:

Post a Comment