विस्थापित पत्रकार फर्काउन महासंघको टोली सुर्खेतमा

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १५ माघ ।
    माओवादीको धम्कीपछि विस्थापित भएका दैलेखका पत्रकारहरुलाई कार्यक्षेत्रमा फर्काउन नेपाल पत्रकार महासंघको टोली सुर्खेत आएको छ । महासंघका अध्यक्ष शिव गाउँलेको नेतृत्वमा आएको टोलीमा सदस्यहरु बालकृष्ण बस्नेत, प्रभात चलाउने र दिपक पाण्डे रहेका छन् ।
    यता जिल्लामा फर्केर निर्वाधरुपमा काम गर्न पाउन र बन्द संचारमाध्यम खुलाउनका लागि पत्रकार महासंघको अगुवाइमा आइतवार क्षेत्रीय प्रशासन कार्यालयमा तीन बुँदे सहमति भएको छ । जसमा पत्रकारहरुलाई जिल्ला फर्काउन क्षेत्रीय प्रशासन कार्यालयले पहल गरेर पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउने, दैलेखका पत्रकारहरुमाथि हुने अवाञ्छित क्रियाकलाप रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिने र विस्थापित पत्रकारहरुलाई जिल्लामा क्षेत्रीय प्रशासन कार्यालयको अग्रसरमा जिल्ला फर्काउने निर्णयमा सहमति भएको थियो ।
    दिउँसो ३ बजेदेखि रिले अनसन सुरु भएकोमा तीन बुँदे सहमतिपछि राती ८ बजे टुंगिएको थियो । साथै दैलेखका विस्थापित पत्रकारहरुलाई स–सम्मान घर फर्काउन र प्रेस स्वतन्त्रताको लागि गरिएको आन्दोलन प्रति ऐक्यद्धता जनाउँदै सुर्खेतका ९ वटा दैनिक पत्रिकाहरु सोमवार बन्द गरिएका थिएभने चार वटा एफएमहरुले आइतवार आधा घन्टा प्रसारण वन्द गरेका थिए ।
    माओवादीले डेकेन्द्र थापाकै हालत बनाइदिने धम्की दिएको भन्दै दैलेखका २२ पत्रकार ५ दिनदेखि सुर्खेतमा आएका बसेका छन् ।
    यता दैलेखबाट विस्थापित भइ सुर्खेतमा रहेका पत्रकारहरुलाई कालिकोट शाखाले नगद ५ हजार सहयोग प्रदान गरेको छ । कालिकोट शाखाका उपाध्यक्ष देउलासिंह ठकुरीले दैलेख शाखाका अध्यक्ष पुष्कर थापालाई नगद प्रदान गरेका थिए ।
 

No comments:

Post a Comment