युवाहरुलाई स्वरोजगार बनाउन सुर्खेतमा ७ करोड

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १५ माघ ।
    सुर्खेतमा रहेका बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन ७ करोड बढी रकम परिचालन गर्ने भएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सुर्खेतमा २१ वटा सहकारी संस्थाहरुमार्फत ७ करोड १५ लाख रुपैयाँ परिचालन गर्ने भएको हो ।
    उक्त रकमका लागि पहिलो किस्तासमेत निकासा भइसकेको छ । कोषले उक्त रकम सहकारी संस्थाहरुले आफ्नो कार्यक्षेत्रमा रहेका बेरोजगार १८ देखि ५० बर्ष उमेरका युवाहरुलाई १० हजारदेखि २ लाख रुपैयाँसम्म ऋण प्रदान गर्नेछन् । उक्त रकम सदुपयोग भए नभएको वारे अनुगमन गर्न जिल्ला संयोजन तथा अनुगमन समिति बनाइने छ । समितिका सदस्य सचिव डिल्लुप्रसाद घिमिरेले एउटा संस्थालाई २५ लाखदेखि ५० लाख रुपैयाँसम्म कोषले ऋण प्रदान गर्ने जनाए ।
    उक्त ऋण सहकारी संस्थाका संचालक समिति, ऋण समिति, लेखा समिति तथा एकाघर परिवारले प्रयोग गर्न पाउने छैनन् । बेरोजगार युवाहरुले उक्त ऋण ३ बर्ष ३ महिनाभित्र फिर्ता गरिसक्नुपर्ने जानकारी उनले दिए । साथै सो ऋण ९० प्रतिशत उत्पादनमूलक र १० प्रतिशत सेवा मूलक क्षेत्रमा लगाउनुपर्नेछ ।
    सुर्खेतमा अमरज्योति बहुद्देश्यीय सहकारी संस्था गुमी, नारी उत्थान वचत तथा ऋण सहकारी संघलगायत पूर्वको राकमदेखि पश्चिमको लगाम र उत्तरको मटेलादेखि दक्षिणको लेखपराजुल गाविस सम्मका गरी  २१ वटा सहकारीहरुले उक्त रकम पाएको सदस्य सचिव घिमिरेले जानकारी दिए । आफ्नो कार्यक्षेत्रमा रहेका युवाहरुलाई ऋण परिचालन गरेर स्वरोजगार बनाउनु नै यस कार्यक्रमको उद्देश्य रहेको उनको दावी छ ।
    परिचालन गरिएको ऋण दुरुपयोग नहोस् भन्नका लागि समयसयममा अनुगमन कार्यलाई प्रभावकारी बनाइने छ । यस्तै ऋणीलाई सामूहिक जमानीमा ऋण दिने र मासिक कम्तीमा ४ सय बचत गर्न लगाइने उनको भनाइ छ ।
    यसैवीच सोमवार कोषबाट ऋण सम्झौता गरिएका २१ वटा सहकारी संस्थाहरुवीच अन्तरिक्रया सम्पन्न भएको छ । संस्थाका अध्यक्ष एवं प्रवन्धकहरुको उपस्थिति रहेको अन्तरक्रियामा सहकारी संस्थाहरुले आफूले प्राप्त गरेको रकम धेरैजसो कृषि र पशुपालनमा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । यता सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले सुर्खेतमा कोषको लगानी नेपालकै सवैभन्दा बढी भएको जानकारी दिए ।
 

No comments:

Post a Comment