केन्द्रमा संगसंगै, जिल्लामा छुट्टाछुट्टै

कांग्रेस–एमाले सम्बन्ध
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १३ माघ ।
    शुक्रवार नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, राप्रपा र जनशक्ति पार्टीले गत माघ १० गते दैलेखमा भएको ज्यादतीको विरोध गर्दै बाबुराम भट्टराई सरकारको राजीनामा मागे । सोही विषयमा शनिवार एमाले एक्लैले विरोध गरी भट्टराईकै राजीनामा माग्दै आक्रोश पोख्यो । सवै दलहरुले भट्टराई नेतृत्वको सरकारको विरोध गरे । बाबुरामको राजीनामा मागे । केन्द्रमा संयुक्त आन्दोलन मार्फत संगसंगै गएपनि सुर्खेतमा भने कांग्रेस–एमाले छुट्टाछुट्टै भएका छन् ।

    कांग्रेससंगको केही अन्तरविरोध रहेको भन्दै एमालेले कांग्रेससंग सहकार्य गर्न नचाहेको हो । संविधानसभाको निर्वाचनमा क्षेत्र नं. १ बाट उम्मेदवार बनेका ऋषि शर्माको हत्याको आरोप एमालेले कांग्रेसमाथि लगाएको छ । यही आरोप नै सहकार्य हुन नसक्नुको मुख्य कारण बताइएको छ । एमाले सुर्खेतले विज्ञप्ति नै निकालेर माघ १२ गते सुर्खेतमा दैलेख दमनका विरुद्ध निकालिने विरोध सभामा सहभागी नहुने र त्यसको सट्टा माघ १३ गते छुट्टै निकाल्ने भनेर जनाएको थियो । सोही अनुरुप कांग्रेसलगायत अन्य चार दलले शुक्रवार र एमाले एक्लैले शनिवार विरोध कार्यक्रम गरे ।
    केन्द्रमा कांग्रेस, एमाले संयुक्तरुपमा आन्दोलनमा लागेपनि सुर्खेतमा भने हाललाई त्यो सम्भव नभएको एमाले सुर्खेतका सचिवालय सदस्य मोहन बडुवालले बताए । उनले ऋषि शर्मा हत्यादेखि विभिन्न अन्तरविरोध कांग्रेससंग रहेकोले ऊसंग सहकार्य नहुने उल्लेख गरे । जिल्ला तहमा कांग्रेस माओवादीसंग एलायन्स गरेर एमालेलाई एक्ल्याउने भएकोले आन्दोलनमात्र होइन अन्य कार्यमा पनि अव कांग्रेससंग सहकार्य नहुने जिकिर उनले गरे । कांग्रेससंग सहकार्य गर्न हुन्न भन्दै कार्यकर्ता तहदेखि नै आवाज उठेकोले अव कांग्रेससंग सहकार्य नहुने जानकारी सचिवालय सदस्य बडुवालले दिए । तर यता नेपाली कांग्रेस भने सवै दलहरुसंग सहकार्य गरेर जान तयार रहेको जनाएको छ । कांग्रेस सुर्खेतका सभापति तप्तबहादुर विष्टले आन्दोलनलगायत अन्य विषयमा सवै दल एक भएर गए राम्रो सन्देश जाने भएकोले एमालेसंग कुनै तीक्तता नभएको जनाए । साना तिना मनमुटाव भए आपसी छलफल गरेर जान सकिने बताउँदै उनले एमाले मात्र नभइ साना दलहरुसंग कांग्रेसको कुनै बैमनस्यता नरहेको जिकिर गरे ।
    यसैवीच नेकपा एमाले सुर्खेतले दैलेख घटनाको विरोधमा शनिवार विरोध सभा गरेको छ । विरोधसभामा एमाले सुर्खेतका अध्यक्ष नवराज रावतले सरकारले दैलेखमा गरेको ज्यादतीको विरोधका साथै निन्दा गरे । उनले सुर्खेतमा पनि सरकारी प्रमुखहरुले सुरक्षाको वातावरणमा गम्भीर हुन आग्रह गरे ।
    यसैगरी जनसास्ंकृतिक मञ्चका केन्द्रीय उपाध्यक्ष जीवेन्द्रदेव गिरीले संविधानसभामा माओवादी ठूलो दल भएपनि उसका गतिविधिहरु उद्दण्ड रहेको बताए । उनले अहिलेको सरकार नेपालको नभइ भारतीय पक्षको रहेको आरोप लगाए ।
 

No comments:

Post a Comment