शाकाहारी हुनुको फाइदाहरु

    जैविकरुपमा मान्छे उभयभक्षी जीव हो । अर्थात यो मांशाहारी र शाकाहारी दुबै हो । यद्यपि कोही मानिसले मासुजन्य पदार्थ खाँदैनन् र शाकाहारी हुन्छन् । तर समग्रमा सबै मान्छेको जैविक चरित्रको व्याख्या गर्दा मानवजातीलाई उभयभक्षी भन्ने गरिन्छ । मानिस शाकाहारी बन्नु वा मासुजन्य पदार्थ नखानुका विभिन्न कारण हुनसक्छन् । घरपरिवारको संस्कार, धर्म, परम्परा, अरुची वा मनोवैज्ञानिक प्रभाव । मासु खाँदा स्वास्थ्यमा असर पर्छ र शाकाहारी भोजनले लाभ हुन्छ भन्ने जानेर शाकाहारी बन्ने मानिसहरु निकै कम छन् । वास्तवमा जो शाकाहारी भोजनको लाभ जान्दछ र सोही मुताविक मांशाहारी भोजन त्याग गर्छ त्यो स्वास्थ्यका दृष्टिले मात्र नभै मनोवैज्ञानिक हिसाबमा पनि फाइदाजन हुन्छ ।

निरोगी पेट: शाकाहारी बन्नुको पहिलो फाइदा भनेको यसले तपाईंको पेट स्वस्थ बनाउँछ । शाकाहारी मान्छेले मासुको साटो प्रशस्तै हरियो सागसब्जी खाने भएकाले हरियो सागपातमा पाइने फाइबर तत्वले आन्द्रा तथा समग्र पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । सागपातले पेटको क्यान्सरको खतरा पनि कम गर्ने बताइन्छ ।
बोसोबाट मुक्ति, स्वस्थ मुटु: शाकाहारी आहारमा कम चिल्लो तथा सोडियम पाइन्छ । मांशाहारी भोजनमा हानिकारक बोसो पाइने भएपनि शाकाहारी आहारमा पाइने चिल्लो पदार्थ मानव शरीरका लागि हानिकारक हुँदैन । यसले रक्तचापको नियन्त्रणका साथै मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
विषको जोखिम कम: शाकाहारी भोजनमा कुनैपनि प्रकारको विषजन्य तत्व हुँदैन । तर मांशाहारी भोजन कहिलेकाहीं विषाक्त समेत बन्न सक्छ । पशुको शरीरमा पनि स्टेरोइड लगायतका विभिन्न तनाव हर्मन पैदा हुने र ती हर्मनहरु उक्त पशुको मासुमा समेत रहने भएकाले त्यस्तो हर्मनयुक्त मासु खाँदा त्यो हर्मन मानिसको रगतमा मिल्न गै त्यसले रगतलाई विषाक्त बनाउने खतरा हुन्छ । साथै मासुका लागि व्यवसायिक रुपमा पालिएका कुखुरा, हाँस वा अन्य चराचुरुंगी र पशुहरुमा दिइने वृद्धि हर्मनयुक्त सुइका कारण त्यस्ता सुइ लगाइएका पशुपंक्षीका मासु खाँदा पनि मानव स्वास्थ्यमा नराम्रो असर पुग्छ ।
क्यान्सरको जोखिम कम: शाकाहारी आहारमा एन्टिअक्सिडेन्ट तत्व, लवण, भिटामिन तथा अन्य प्रशस्तै पोषक तत्व पाइन्छ । यि पोषक तत्व हाम्रो शरीरको रोग प्रतिरोधी क्षमताको विकाशका लागि अनिवार्य हुन्छन् । रोग प्रतिरोधी क्षमता उच्च हुनु भनेको क्यान्सर जस्ता असाध्य रोगको जोखिम समेत कम हुनु हो ।
वजन नियन्त्रण: शाकाहारी भोजनका लाभहरु मध्येको एक हो शरीरको वजन वा मोटोपन नियन्त्रण हुनु । शाकाहारी भोजन पेटमा पच्नको लागि अलिक धेरै समय लाग्ने भएकाले भोक ढिलो लाग्छ । जसका कारण खाने दरमा कमी आई स्वत: मोटोपन नियन्त्रण हुन्छ ।
 

No comments:

Post a Comment