अब राजनीतिसंगै खेती व्यवसाय पनि

समाचार एजेन्सी
काठमाडौं, १८ ।
    सत्ता र सडकमा बाँडिएर एक अर्का बिरुद्ध भिड्न थालेका दुई मुख्य कम्युनिष्ट पार्टी एकीकृत नेकपा माओवादी र नेकपा एमालेको एउटा विचार ठ्याक्कै मिलेको छ । नेता राजनीति र युवा कार्यकर्ता भिडन्तमा मात्र लागेर देश विकास हुन नसक्ने ठहर गर्दै दुवै पार्टी आयआर्जन र उत्पादनशील काममा लाग्नुपर्ने निधोमा पुगेका हुन् । एकीकृत माओवादीले पार्टी महाधिवेशनमार्फत नै उत्पादनशील काममा अघि बढ्ने तयारी गरेको छभने एमालेको भ्रातृ संगठन युवा संघ नेपालले पनि अधिवेशनमार्फत यस्तै बाटो लिने निर्णय गरिसकेको छ ।
एकीकृत माओवादीको उत्पादन योजना
    पार्टी महाधिवेशनमा प्रस्तुत गर्न एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेको प्रतिवेदनमा पार्टी कार्यनीतिको अर्को आयाम उत्पादन तथा निर्माणका लागि संघर्ष भन्ने उल्लेख छ । जनयुद्धको बेला पनि यी काम गरिएको र अब अभियानकै रुपमा अघि बढाउनुपर्नेमा प्रचण्डले जोड दिएका छन् । पार्टीको आन्तरिक स्रोतलाई बलियो बनाउन र जनताप्रति जिम्मेवार बन्न पनि उत्पादनशील काममा लाग्नुपर्ने उनको भनाइ छ । उत्पादनको लागि संघर्षको योजनामा सिंगो पार्टीलाई सहभागी गराएर मात्र नेता र कार्यकर्ता, पार्टी र जनता, पार्टी र श्रमबीचको दूरीलाई घटाउन सकिने र पार्टीको सर्वहारावादी मूल्य र आचरणलाई पुर्नजीवित गर्ने सम्भव हुने प्रचण्डको विश्वास छ । पार्टीलाई उत्पादनशील काममा लगाउने उनको योजना यस्तो छ:
–उत्पादन तथा निर्माणको काम पार्टी कार्यनीतिको महत्वपूर्ण हिस्सा र तत्कालको राजनैतिक कार्यभार समेत भएको कुरा पार्टी पंक्तिलाई सम्प्रेषण गर्न उत्पादन व्युरोको तर्फबाट सबै जिल्लाहरुमा प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने ।
–उत्पादन तथा निर्माणको समग्र योजना कार्यान्वयनको लागि जनजागरण तथा जनसहभागितामूलक कार्यक्रमहरु संचालन गर्ने ।
–पर्चा, पोष्टर, भित्ते लेखनसहित व्यापक प्रचारात्मक कार्य गर्ने, यसका लागि संचार माध्यमहरुलाई समेत परिचालन गर्ने ।
–केन्द्र, राज्य, जिल्ला र गाउँहरुमा उत्पादन तथा निर्माणको योजना सम्बन्धी कार्यशाल गोष्ठीहरुको आयोजना गर्ने ।
–केन्द्रमा आर्थिक तथा उत्पादन व्युरो गठन गर्ने । ‘एकीकृत योजना र विकेन्द्रित व्यवस्थापनको’ मान्यता अन्तर्गत व्युरोले उत्पादन योजनाको समग्र नेतृत्व गर्ने ।
–राज्य, जिल्ला तथा गाउँहरुमा उत्पादन तथा सहकारी विभाग गठन गर्ने ।
–प्रत्येक जिल्लामा उत्पादन व्रिगेड तथा इलाकाहरुमा उत्पादन दल निर्माण गर्ने । उत्पादन व्रिगेड र दलका सदस्यहरुलाई परिचयपत्र र क्रमश: ड्रेस उपलब्ध गराउने ।
–इलाकाहरुमा उपभोक्ता तथा वित्तिय सहकारी र गाविसहरुमा उत्पादन सहकारी गठन गर्ने ।
–जिल्ला, राज्य र व्युरोस्तरमा समेत सहकारी गठनको लागि पहल गर्ने ।
–पार्टीका सबै नेता कार्यकर्ताहरु उत्पादन सहकारीको सदस्य बन्ने ।
–आवश्यकता अनुसार गाउँमा श्रम सहकारीहरु समेत गठन गर्ने ।
–एक गाउँ, एक सहकारी, एक सहकारी, एक उत्पादनको योजना लागू गर्ने ।
–पार्टी र सरकारको पहलमा उत्पादनका पकेट इलाकाहरु पहिचान गरी उत्पादनका विशेष योजनाहरु संचालन गर्ने ।
एमालेको बाटोपनि उस्तै
    युवाहरु अराजक मात्र छन् भन्ने आरोपलाई चिर्न एमालेको भ्रातृ संगठन युवा संघ नेपालले आफूलाई सृजनशील र व्यवसायिक बनाउने निर्णय गरिसकेको छ । ‘हामीले मंसिरमा भएको विधान सम्मेलनमार्फत आर्थिक र सामाजिक रुपान्तरण तथा समृद्धिमा जोड दिने योजना पास गराइसकेका छौं’ संघका अध्यक्ष महेश बस्नेतले भने, ‘राजनीतिसंगै उत्पादनशील काममा लाग्नुपर्छ भन्ने युवा संघको ठहर छ ।’ पार्टी नेतृत्वले समेत अब उत्पादनशील काममा लाग्न निर्देशन दिएकाले फागुनमा हुने अधिवेशनले आवश्यक योजना सहित यसबारेको कार्यदिशा तय गर्ने बस्नेतले बताए । विधान सम्मेलनले युवा संघको सदस्य बन्न कुनै न कुनै व्यवसायमा लागेको हुनुपर्ने नीति पास गरिसकेको छ ।
    यस्तै युवा संघको पहलमा हरेक निर्वाचन क्षेत्रमा एउटा सहकारी संचालन गर्ने योजना पनि रहेको बस्नेतले जानकारी दिए । ‘कृषि, जलविद्युत्त र पर्यटनको सम्भावना प्रचुर छ’ बस्नेतले भने, ‘रेमिट्यान्सलाई व्यवस्थित ढंगले चलाउन युवाहरुले नयाँ सोच दिन जरुरी रहेकाले हामी त्यस दिशा तर्फ अगाडि बढ्न लागेका हौं ।’ सामूहिक खेती, सामूहिक पसल, स्कुल, कलेज, सहकारी लगायतका व्यवसायमा युवाहरुलाई लगाउने संघको योजना छ । ‘युवाहरु सिर्जनशील र व्यवसायिक हुन्छन् भन्ने कुरालाई व्यवहारीक रुपमा देखाउने हाम्रो लक्ष्य छ’ बस्नेतले भने ।
 

No comments:

Post a Comment