अधिकारकर्मीमाथि सांघातिक आक्रमण

घटनाप्रति निन्दा
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १८ फागुन ।
अधिकारकर्मी बास्तोलाले
पिठ्युँमा लागेको घाउहरु देखाउँदै ।
    वीरेन्द्रनगरदेखि आफ्नो घर विद्यापुरतर्फ जाँदै गर्दा मानवअधिकारकर्मी यादव बास्तोलामाथि सांघातिक आक्रमण भएको छ । विहीवार विद्यापुर गाविस–५ को श्रीचौर जंगलमा साँझ साढे ७ बजेतिर उनीमाथि चार जनाको अज्ञात समूहबाट सांघातिक आक्रमण भएको हो । शुक्रवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी उनले ४ जनाले फलामे रडबाट निरन्तर आक्रमण गरिरहेको जनाए । उनको पिठ्युँ, मेरुदण्ड, हातमा बढी चोट लागेको छ । मानवअधिकार एलायन्सका कार्यकारी निर्देशक समेत रहेका बास्तोलाले आफूलाई आक्रमण गर्ने आक्रमणकारीहरुलाई चिन्न नसक्ने बताए । यद्यपि उनले आक्रमणकारीहरु ‘माओवादी’ हुनसक्ने दावी गरेका छन् ।
    दुई दिन अघि स्थानीय एक दैनिकमा द्वन्द्वको समयमा माओवादीद्वारा हत्या गरिएका विद्यापुरका सूर्य पौडेलको परिवारले कहिले न्याय पाउने भन्ने लेख प्रकाशित भएकोले आफूमाथि आक्रमण गर्ने माओवादी नै हुनसक्ने अनुमान उनले गरेका छन् । ‘तर बैद्य पक्ष हो वा प्रचण्ड पक्ष यसवारे पत्ता नलागेपनि आफूलाई आक्रमण गर्ने माओवादी नै हुनुपर्छ,’ उनले भने ।
    दुई जनाले समातेर अन्य दुई जनाले निरन्तर रड बर्साएको र पछि विद्यापुरबाट आएको दुईवटा मोटरसाइकलको उज्यालोमा आफू कालासोता गाउँतर्फ भागेर ज्यान बचाएको उनले बताए । आफूलाई आक्रमण गर्दा ‘माओवादीलाई सिध्याउनुपर्छ भन्ने तँ होइनस्’ भन्दै आक्रमण गरेको जानकारी उनले दिए । द्वन्द्वको समयमा त निर्वाधरुपमा सवै स्थानमा गएको, कसैबाट धम्की नखाएको बताउँदै उनले मुलुक शान्ति प्रक्रियामा रहेका बेला आफूमाथि सांघातिक आक्रमण भएकोमा आश्चर्य लागेको बताए ।
    यता सो आक्रमणप्रति सुर्खेतका करिब डेढ दर्जन संघसंस्थाहरुले पनि संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाप्रति विरोध जनाएका छन् । पत्रकार महासंघ सुर्खेत, मानव अधिकार एलायन्स, इन्सेक, मानवअधिकार संगठन, मानवअधिकार तथा शान्ति समाज, पत्रकार महासंघ क्षेत्रीय समन्वय समिति, एड्भोकेसी फोरम, पुनरावेदन वार, जिल्ला वार, प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघलगायतले विज्ञप्ति प्रकाशित गरी बास्तोलामाथि भएको सांघातिक आक्रमणको विरोध जनाएका हुन् ।                  विज्ञप्तिमा अपरिचित व्यक्तिहरुको समूहले बास्तोलाको ज्यानै लिने गरी सांघातिक आक्रमण गरिएको जनाउँदै उक्त आक्रमणको घोर भत्र्सना गरिएको छ । यस्तै प्रेस चौतारी सुर्खेतका अध्यक्ष लक्ष्मण भण्डारीले पनि विज्ञप्ति प्रकाशित गरी आफ्ना सदस्य बास्तोलामाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीहरुलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष माग गरेका छन् ।
 

No comments:

Post a Comment