पानीको चरम अभाव भोगेको लेखगाउँ गाविस खुल्ला दिसामुक्त


Bookmark and Share 
स्थानीयलाई खुशी र चिन्ता एकैसाथ, अनुदान विनै शौचालय निर्माण 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत (लेखगाउँ), २४ जेठ ।
    लेखगाउँ गाविस वडा नं. ९ फिनीकाँडा बजारकी अमरकुमारी शाहीलाई कम्तीमा आधा घन्टाको उकालो हिंडेर दैनिक चार गाग्री पानी बोक्नुपर्नेमा बुधवारदेखि थप दुई गाग्री पानी बोक्नुपर्ने बाध्यता आइलागेको छ । आधा घन्टा टाढाको एउटा पँधेरोमा खानेपानी लिन लाइन लाग्नुपर्ने अवस्था छुट्टै छ । घरमा शौचालय बनाएपछि शाहीलाई थप दुई गाग्री पानी बोक्नुपर्ने अवस्था आइलागेको हो ।
    यसैगरी लेखगाउँ गाविस वडा नं. ७ फौजापानीकी देवीसरा सलामीलाई पनि थप समय लाग्ने भएको छ । उनलाई पानी ल्याउन एक घन्टा लाग्दछ । दैनिक दुई गाग्री खानेपानी लाग्ने ठाउँमा उनलाई थप एक गाग्री पानीको खाँचो आइलागेको छ । दुई ग्रागी खान र एक गाग्री शौचालयमा राख्न दैनिक तीन घन्टाको समय पानी बोक्नमात्रै लाग्ने उनले बताइन् ।
    बुधवार लेखगाउँ गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएपछि अव अमरकुमारी शाही र देवीसरा सलामीलाई मात्र हैन पूरै गाविसबासीलाई थप पानीको आवश्यकता पर्ने भएको छ । खानेपानीको चरम अभाव भोगिरहेका गाविसबासीलाई शौचालयमा प्रयोग गर्ने पानीका लागि पनि थप आधा घन्टादेखि एक घन्टाको समय लाग्ने भएको छ । खानेपानीको मुहान नजिकै नहुँदा त्यस गाविसका बासिन्दाहरु पँधेरो र मुलको पानी खान बाध्य छन् । खानेपानी ल्याउन समेत उनीहरु राती ११ बजेसम्म र विहान ३ बजेदेखि नै पँधेरोमा लाइन लाग्नुपर्ने बाध्यता छ । शिक्षक रत्न थापाले पानीको अभाव हुनु नै खुल्ला दिसामुक्त घोषणा गरिएपछिको ठूलो चुनौती भएको बताउँछन् ।
    पानीको चरम अभाव भोगिरहेको उक्त गाविसलाई बुधवार खुल्ला दिसामुक्त घोषणा गरिएपछि गाविसबासीलाई पानी जुटाउन सकस पर्नेभएको छ । गाविसमा भएका सवै परिवारले शौचालय बनाएपछि बुधवार एक कार्यक्रमको आयोजना गरी लेखगाउँलाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । लेखगाउँलाई १२ औं खुल्ला दिसामुक्त गाविसको रुपमा सामेल गराइएको हो ।
    नजिक खानेपानीको मुहान नभएर चरम समस्या भोगिरहेको लेखगाउँलाई खुल्ला दिसामुक्त घोषणा गरिएपछि स्थानीयहरु एकातिर खुशी देखिएपनि अर्कोतिर पानी कसरी पूर्ति गर्ने भन्ने चिन्ता मान्न थालेका छन् । अमरकुमारी भन्छिन्, ‘अव त कामको चाप थपिएको छ ।’ शौचालय आफ्नै लागि भएपनि पानीको अभाव हुँदा कसरी पुर्‍याउने भन्ने चिन्ताले उनलाई छोपेको छ । विभिन्न संघसंस्थाहरुलाई पानीको समस्या समाधान गर्न उनले आग्रह गरेकी छन् ।
    शौचालयमा  प्रयोग गर्ने पानीको जसोतसो व्यवस्था गर्ने भन्दै गाविसले बुधवार हर्षोल्लासका साथ खुल्ला दिसामुक्त घोषणा गरेको छ । कूल ९ सय ७३ घरधुरी रहेको गाविसमा ९ सय ३७ वटा पक्की, ७ वटा संयुक्त, २९ वटा कच्ची र ३ वटा सार्वजनिक कच्ची शौचालय निर्माण गरिएको गाविसस्तरीय खानेपानी तथा सरसफाई समन्वय समितिका सचिव एवं लेखगाउँ स्वास्थ्य चौकीका इन्चार्ज सिअहेव रामप्रसाद भण्डारीले बताए । उनका अनुसार सुरुमा ४ सय ७० शौचालय भएको गाविसमा करिव चार महिनाको अवधिमा बाँकी शौचालय निर्माण गरिएको हो । स्थानीयहरुले विना अनुदान स्वस्फूर्त पक्की शौचालय बनाएको दावी उनले गरे । व्यक्तिगत करिव ७ हजारको खर्चमा गाविसबासीले शौचालय बनाएका छन् । गाविस सचिव बखतबहादुर शाहीले बुधवारदेखि गाविसलाई खुल्ला दिसामुक्त गरिएकोले जथाभावी दिसापिसाव नगर्ने प्रतिवद्धता जनाएका थिए ।
    सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले खुल्ला दिसामुक्त गाविसलाई थप डेढ लाख अनुदान प्रदान गरिने जनाए । उनले अवको तीन बर्षभित्र जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिने दावी गर्दै खानेपानीको अभाव भोगेको लेखगाउँमा पानीको समस्या समाधान गर्ने जिम्मा नेवा संस्थालाई दिइएको जानकारी दिए ।
     खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा नेपाली कांग्रेसका सभापति तप्तबहादुर विष्ट, एमालेका रेशमबहादुर राना, राष्ट्रिय जनमोर्चाका लालबहादुर नेपाली, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बुद्धिप्रसाद सापकोटा लगायतले बोलेका थिए ।
मा

No comments:

Post a Comment