पदाधिकारीको बेवास्ताले रकम हस्तान्तरणमा ढिलाई

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २४ जेठ ।
    मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारी ले समन्वय नगर्दा विश्वविद्यालय स्थापनामा सहयोग पुर्‍याउन सुर्खेती जनताबाट संकलित रकम हस्तान्तरणमा ढिलाई भएको वुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । दाताहरुबाट संकलित रकमको हालसम्मको अवस्थाका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मूलसमितिका अध्यक्ष भूषणकुमार मानन्धरले उपकूलपति को व्यवहारले मध्यपश्चिम क्षेत्रका जनताले आशा गरे अनुसारको विश्वविद्यालय बन्नेमा आशंका जन्मिएको बताए । उनले भने, ‘पहिला विश्वविद्यालयको सम्भावनाको समय थियो भने अहिले चुनौतीको समय छ ।’
    पत्रकार सम्मेलनमा मूलसमितिका सचिव डा. महेन्द्र मल्लले विश्वविद्यालय पदाधिकारीले मूलसमितिसंग समन्वय नगरेका कारण दाताबाट संकलित रकम हस्तान्तरणमा समस्या भएको बताए । उनले भने, ‘चन्दादातासंग गरिएको सहमति र शर्त पालना गर्ने गरी प्रतिवद्धता जनाएर रकम हस्तान्तरण गर्न समिति अतुर छ तर पदाधिकारीले चासो दिएका छैनन् ।’
    विश्वविद्यालय स्थापनाको आवश्यकता महसुस गरी छाक कटाएर सुर्खेती जनताको आर्थिक, भौतिक र नैतिक दवावमा स्थापना भएको विश्वविद्यालय अहिले काठमाडौंमै केन्द्रीत भएको मूलसमितिका सचिव डा. मल्लको आरोप थियो ।
    विश्वविद्यालय स्थापनाका लागि स्थानीय जनताबाट संकलित रकमको हिसाब किताबका बारेमा जानकारी गराउँदै मूल समितिका कोषाध्यक्ष ध्रुवकुमार श्रेष्ठले विश्वविद्यालय सभाको गठन र नियमावली तयार भए संकलित रकम हस्तान्तरण गर्न सहज हुने बताए । उनले भने, ‘दाताको उद्देश्य अनुरुप शर्त पालना गरेर रकम बुझाउन तत्पर छौंं ।’ विश्वविद्यालय मूल समितिद्वारा पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको आयव्ययमा गत असार मसान्तसम्म संकलित रकम ४ करोड ५२ लाख ८८ हजार मध्ये भौतिक निर्माण लगायतमा ३० लाख ९३ हजार र साइन्स क्याम्पसलाई सापटी १० लाख गरी ४ करोड ४ लाख ८० हजार वीरेन्द्रनगरका विभिन्न बैंकमा रहेको उल्लेख छ ।
    विश्वविद्यालय स्थापनालाई सहयोग पुर्‍याउन थालिएको अभियान ०६१ मंसिरदेखि गत असारसम्म चन्दादाताहरुबाट ३ करोड ७५ लाख ५६ हजार, अनुदान सहयोगबाट ४ लाख १५ हजार र गत असार मसान्तसम्ममा बैंक व्याजबाट ७३ लाख १६ हजार आम्दानी भएको मूल समितिले जनाएको छ ।

No comments:

Post a Comment